डा. विश्व पौडेल
काठमाडौं । केही अघि काठमाडौं, निजगढ फास्टट्र्याक बनाइरहेका प्राविधिकहरुसँग मैले गरेको छलफल अनुसार २०८१ साल पुससम्ममा टनेलहरु बनिभ्याउँछन। एघार प्याकेजमा गरी ठेक्का लगाएर भएपनि बेलामा सक्ने उनीहरुले मलाई विश्वास दिलाए। केही ढिलो होला, तर यो काम सरकारले आर्थिक समस्या पर्दैन भनेर विश्वास दिलाएकोले केही वर्षमै सम्पन्न हुने दिशामा छ।
सडक विभाग नारायणगढदेखि पथलैया छ लेन देखि चार लेन चौडा सडक बनाउन तयारी गर्दैछ। त्यस्तै तयारी इनरुवा देखी काकडभिट्टा खण्डको चौडाइमा बाटो निर्माण हुँदै छ। एकसय किलोमिटर प्रतिघण्टाको दरले मोटर गुडाउन मिल्नेगरी सडक बनाउन मेरो उनीहरुलाई सल्लाह छ।
कमला,कन्चनपुर (सप्तरी) खण्डमा काम शुरु भएको छ। बुटवल,नारायणघाट खण्डमा मैले केही अघि गरेको अनुगमनको क्रममा अर्को साढे दुई वर्षमा सक्ने विश्वास ठेकेदारले दिलाएको थियो। काठमाडौंदेखि पोखरा खण्ड पनि चार लेनको रुपमा विकसित हुँदैछ।
दाउन्ने मुनी टनेल मार्ग चाँडै बन्ने पनि लगभग निष्चित छ। यसले फराकिलो सडकमा बुटवलबाट चितवन हुँदै निजगढ(काठमाण्डु द्रुतमार्ग आइपुग्न चाँडै नै चार देखि पाँच घण्टा जती मात्र लाग्ने छ। यस्तै काठमाडौं,पोखराको दुरी पनि तीन घण्टामा पुग्ने गरी छोट्टिनेछ। हामी यि दुरी अझै छोट्ट्याउन सक्ने छौं।
गल्ती पनि भएका छन। यदि अघिल्लो सरकारका एक मंत्रिले वुद्धि पुर्याएको भए जापानीहरुले अहिले सूर्य विनायकदेखि धुलिखेल खण्ड द्रुतमार्गको रुपमा विकसित गर्ने काम गरिरहेका हुन्थे। त्यो काम सकेपछी गोंगबुबाट शुरु हुने गरी मेट्रोको काम गर्न उनीहरु इच्छुक थिए। त्यसो हुँदाहुँदै पनि ति आयोजनालाई फेरी ट्र्याकमा ल्याउन अहिले मेहनत गरिएको छ। आज पनि एक समूह विपी राजमार्गको खुर्कोटबाट सुरुङ मार्ग बनाउने गंभिर छलफलमा छ।
अर्को दुई तीन वर्ष भित्र नेपालमा सबै घरहरुमा बिजुली पुग्ने छन। अहिले पुग्न बाँकी २ देखी तीन लाख घर भएको अनुमान गरिएको छ।
सिमेन्टको उत्पादन १५० लाख मेट्रिक टन प्रतिवर्ष पुगेको परिप्रेक्षमा सबै विपन्न नेपालीको घरहरु उनीहरुले चाहेमा पक्का बनाउन सरकारले सिमेन्टमा उहिले गोबरग्याँसमा दिएजस्तै आधुनिक घरनिर्माणका सामग्रीमा सहुलियत दिनसक्ने स्थिति छ। सरकारले तीब्र रुपमा काम गरेमा केही वर्षमै पुराना र जीर्ण घरहरु भुकम्प प्रतिरोधी घरले प्रतिस्थापन गर्न सक्ने स्थितिमा छौँ।
म मुलुकलाई माया गर्ने विदेशमा रहेका, शिल्प भएका र व्यवसाय गर्ने जोश भएका, नेपालीहरुलाई पनि सके नेपाल फर्कन र यहाँँ व्यवसाय शुरु गर्न निवेदन गर्छु। यसले मुलुकभित्र रोजगारी सिर्जना हुनेछ। सकारात्मक सोचाइ बढाउनेछ। हाम्रो पुस्ता उग्रवादको मोहपाशमा परेपनी नयाँँ पुस्ताले विकास विरोधी उग्रवादलाई अस्विकार गर्नेछ।
हाम्रो देशमा धेरै कमजोरीहरु छन, तर हाम्रो सुन्दर देशको भविष्य राम्रो छ। यसलाई सही बाटोमा लैजान अझै मुलुक र जनताहरुलाई माया गर्ने सकारात्मक सोच भएका, देश विदेश बुझेका व्यक्तिहरुको खाँचो भने यहाँँ निकै छ। (पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन् ।)