29.1 C
Kathmandu

अध्यात्म नै अन्तिम सत्य

जब मान्छे  आफ्नो शक्ति क्षीण भएर सहारा विहीन हुन्छ तब मात्र ईश्वरीय अस्तित्वलाई स्वीकार गर्छ । शरीरमा तागत रहुन्जेल आफूलाई संसारकै सर्वशक्तिमान् व्यक्ति ठान्ने मानवीय प्रवृत्ति स्वाभाविक नै हो । जबसम्म अवनतिको ओरालो लाग्दैन तबसम्म मान्छेले अहंको आगो बोकी नै रहेको हुन्छ । स्वयं सर्वशक्तिमानको विजय झण्डा बोकेर दिग्विजयको यात्री बनिरहन्छ । जब शरीरको शक्ति क्षीण भएर सोही अहंको आगोले पोल्न थाल्छ तब मात्र  अध्यात्मको ओत खोज्छ मान्छे । शान्तिको शीतल छाहारी खोज्छ शीतल छाहारी खोज्छ ।

भौतिकको भलबाढीले छिन्नभिन्न भएको बस्तीजस्तै मान्छे जब तहसनहस हुन्छ तब मात्र स्विकार्छ अध्यात्म । युवाले ईश्वरीय अस्तित्व स्वीकार गर्दैन । ऊ भौतिकवादको भँगालोमा नै भौँतारिइरहेको हुन्छ । जब उसलाई भौतिक दर्शनले दलदलमा पार्छ, किङ्कर्तव्यविमूढताको अवस्थामा पार्छ अनि मात्र अध्यात्मको आँगनी धाउँछ, मान्छे । अध्यात्म भनेको निधारमा त्रिपुण्ड लगाउनु होइन । अरूको निन्दा गरेर आफू चोखो बन्नु मात्र पनि होइन । केवल चित्तको विकारलाई हटाएर पवित्र हुनु हो । आशावादी बन्नु हो । उत्साही र जागरुक बन्नु हो । मन्दिरका घण्टी बजाएर मात्र आध्यात्मिक हुन सकिँदैन । मनभरि कलुष बोकेर जति मन्दिर धाए पनि अध्यात्मको मार्ग मिल्दैन । हृदयलाई शुद्ध बनाई सबैमा सदभाव राख्न सक्नु नै वास्तवमा अध्यात्मवादी बन्नु हो । कुनै सम्प्रदायमा लागेर एक पक्षको पक्षपोषण गर्ने व्यक्ति आध्यात्मिक हुन सक्दैन ।

संसारले कट्टर भौतिकवादी भनेर चिनेका मार्क्स पनि अध्यात्मवादी नै थिए । उनका दर्शन र सिद्धान्तमा पनि उक्त कुरा नै झल्किन्छ । व्याख्याताले भिन्न अर्थ लाएर मात्र हो । उनको सिद्धान्तको अन्तिम लक्ष्य अध्यात्म नै हो । पदार्थको उत्पत्ति कसरी भयो भन्ने कुरा मार्क्सले बताएका छैनन् । अध्यात्मको सम्भवबाट नै साम्यवादको उदय भएको हो । चार्वाकको सिद्धान्त नै मार्क्सले पनि अनुकरण गरेका हुन् । मार्क्सको साम्यवादमा पनि समभाव रहन्छ । धनी–गरिबको भेद हुँदैन । सबै समान हुन्छन् । साम्यवादी व्यवस्थामा पुग्न मान्छे आध्यात्मिक हुनैपर्छ, अन्यथा उक्त कुरा सम्भव छैन ।

भौतिकवाद दुःखको कारण मात्र हो । भौतिकताले जति सम्पन्न भए पनि आध्यात्मिक सन्तुष्टि मान्छेलाई मिल्न असम्भव छ । भौतिकवादलाई पैसासँग तुलना गर्न सकिन्छ । पैसाले राम्रो ओछ्‌यान मिल्न सक्छ, तर मीठो निद्रा मिल्दैन । चाहे वातानुकूलित सुखसुविधामा नै किन नहोस् मान्छेको मनमा शान्ति भएन भने त्यहाँ ऊ खुसी र सुखी रहन सक्दैन । यदि मनमा शान्ति छ भने उसलाई  सुविधाहीन झुपडी पनि खुसीको केन्द्रविन्दु बन्न सक्छ । यही नै हो भौतिक र अध्यात्मवादबीचको फरक ।

मानिसका लागि जीवन चलाउन पैसा चाहिन्छ । तर, पैसा मात्रै सबैथोक होइन । पहिलो प्राथमिकतामा पैसा कहिल्यै पर्न सक्दैन । त्यसैगरी भौतिकता पनि । भौतिक साधन हो भने अध्यात्म साध्य हो । भौतिकवादले समृद्धि दिन्छ अध्यात्मले शान्ति । शान्तिको अगाडि समृद्धिको कुनै अर्थ रहँदैन । जीवनको अर्थ खोज्नेले अध्यात्मको आराधना गर्नु आवश्यक छ । संसरामा जति द्वैतको आभाष भए पनि अन्ततः अद्वैत नै सत्यमा परिणत हुन्छ । द्वैत चौतारी हो भने अद्वैत घर हो । अझ भनाँ अध्यात्मको पनि मूल ध्येय ईश्वरमा लीन हुनु हो । त्यसैले त भनिएको छ– पूर्णमदः पूर्णमिदं पूर्णाद् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। अर्थात् अध्यात्म त्यो हो, जसले पूर्णताको आभाष दिलाउँछ । यो संसारी चक्रबाट जीवनलाई मुक्तिको मार्गमा लम्काउँछ । जीवन एउटा खेल हो जहाँ हामी सोही खेलको नाटक गरिरहेको छौँ । खेल सकिएपछि पुनः आ–आफ्नो बाटोमा निरन्तर अगाडि बढ्नु नै पर्छ । घरमा पुग्नु नै पर्छ । नाटक त खेलिसकेपछि सकिन्छ, तर यो जीवनरूपी संसारमा गरिएका हरेक प्रहसनको पनि विशेष मूल्यांकन भइरहेको हुन्छ स्वतः । जसरी अभिनेताको दर्शकले मूल्यांकन गरिरहेको हुन्छ । कर्मकै आधारमा जीवनको बाटो तय हुन्छ । अनि सोही मार्गमा हामी लम्किरहेका हुन्छौँ ।
ईश्वर स्वयं कर्ता होइनन् । जसरी खेलमा रेफ्री स्वयं खेलाडी होइन । जस्तो खेलाडीले खेल्छ उसले सोही अनुसारको अंक वा रातो, पहेलो कार्ड दिन्छ । हो, ईश्वर पनि सोही रेफ्रीजस्तै हो । हामीले जस्तो खेल खेल्छौं, जस्तो अभिनय गर्छौं सोहीअनुसारको अंक पाउछौँ अनि यो संसारी चक्रमा निरन्तर घुमिरहन्छौँ । जसको जे जति कर्मले आर्जित फल छ सो भोग्नुको विकल्प छैन । हामी सबै कर्मको फल भोग्न नै यो संसरी धर्तीमा आएका हौँ भोग्छौँ र जान्छौँ पनि । सुखद् क्षणमा खुसी लाग्छ, क्षणभरमै बितेजस्तो लाग्छ अनि दुःखद् क्षण निकै निराशाजनक, निकै  पीडादायी र लामो हुन्छ । फरक यत्ति मात्र हो ।

संसारमा कोही पनि नराम्रो नियते आएको हुँदैन । समय र परिस्थितिले उसलाई नियतिको फल भोगाउन बाध्य हुन्छ । मान्छेले जति गरे पनि साध्य नभएका अनि इच्छा नहुँदा नहुँदै पनि फल भोग्नुपरेका इतिहास हाम्रै सामुन्ने पनि प्रशस्तै पाइन्छन् । यही हो संसार । उही कर्मको फल भोग्ने हो । सही अभिनेता बन्ने हो । एउटा असल खेलाडी हुने हो । सो भन्दा माथि हाम्रो वशमा छैन । सकेजति आफैँले गर्ने नसकेको ईश्वरमा अर्पण गर्नाले मनोवैज्ञानिक तुष्टिका साथै आत्मिक आनन्द पनि मिल्छ । मनमा शान्ति भयो भने मात्र सर्वत्र शान्तिको संसार देख्न सकिन्छ । अशान्त मनले संसर पनि अशान्त नै देख्छ । अनि सोही अशान्तिको चक्रव्यूहमा मान्छे रुमल्लिरहेको हुन्छ । त्यसैले जीवनमा समृद्धिभन्दा पनि शान्तिको आवश्यकता छ । शान्ति नभई समृद्धिको अर्थ रहँदैन । शान्ति भौतिक भएर मिल्दैन त्यसैले अध्यतात्मको मार्ग अँगाल्नुको विकल्प छैन ।
बालकृष्ण सम पनि पहिले आफूलाई भौतिकवादीका रूपमा प्रस्तुत गर्थे । आधुनिकताका अध्येता उनले पनि अन्ततः अध्यात्मको बाटो पछ्याउँदै इच्छा कवितामार्फत आफ्नो अन्तिम इच्छा व्यक्त गरेका छन् । यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि ‘आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक’ भनी जीवनको उत्तरार्धमा अध्यात्मको मार्ग रोजेका थिए । आध्यात्मिक बन्न नसकेकोमा खेद व्यक्त गरेका थिए । त्यसैले पनि बेलैमा आत्मिक चिन्तन गर्नु आवश्यक छ । कोरा अध्यात्म होइन वास्तविक आत्मिक ज्ञान, भक्ति र वैराग्यको मार्ग अवलम्बन गर्नु आवश्यक छ ।

कतिपय अवस्थामा थुप्रै प्रश्नले पनि गाँज्छन् । तीर्थयात्रा हिँडेको बस पल्टिन्छ, मान्छे मर्छन् खै त ईश्वर ? त्यहाँ आउनुपर्ने होइन ? भन्ने प्रश्न सबैले पनि गरिरहेका हुन्छन् । ईश्वर लडेकालाई उठाउने तत्त्व होइन । त्यो त उसको कर्मले आर्जन गरेको फल नै हो जो उसले भोग्नुको विकल्प छैन । ठूला–ठूला दुर्घटनामा परेका व्यक्ति पनि सकुशल भएका घटना पनि त हामीले देखे–सुनेका छौँ । जहाज दुर्घटनामा पनि मान्छे जीवितै रहेका हुन्छन् । यो सबै आ–आफ्नो कर्मको फल हो । स्वयं ईश्वर आएर बस उठाउने होइन ।  जसरी टिभी हेरिरहेको दर्शकले घाइते भएको खेलाडीलाई केही गर्न सक्दैन । सक्छ त केवल सहानुभूति प्रकट गर्न मात्र । सक्छ त केवल उसको खेलको मूल्यांकन गर्न मात्र । हो, यस्तै हो ईश्वरीय अस्तित्व पनि । ईश्वर केवल मूल्यांकनकर्ता मात्र हुन् । जीवले गरेको कर्मअनुसार उसले आफ्नो मार्ग स्वयं नै निर्धारित गरिरहेको हुन्छ ।

आँखाले देखेजति मात्र संसार हो भन्नु गलत हुन्छ । कानले सुनेजति मात्र ध्वनि हो भन्नु पनि व्यर्थ हो । किनकि देखिएका–नदेखिएका (दृश्यादृश्य), सुनेका–नसुनेका (स्पृश्यास्पृश्य), भोगोका–नभोगेका (भोग्याभोग्य) अनन्त विषयवस्तु यही संसारमा अन्तर्निहित रहेका छन् । सबै जान्ने बुझ्ने क्षमता हाम्रा इन्द्रीयको छैन । भौतिकवादले आँखा भिन्न संसारको पकिल्पना गर्न सक्दैन । जो देखियो जो भोगियो त्यो मात्र संसार हो भन्छ । तर, अध्यात्मले योभन्दा राम्रा अनन्त संसारको परिकल्पना गर्दछ । त्यसैले भौतिकवादी भएर अशान्तिको आगोमा जल्नुभन्दा आध्यात्मिक भएर आशावादी शान्तिको जीवन यापन गर्नु नै उत्तम देखिन्छ । किनकि अध्यात्म नै अन्तिम सत्य हो ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार