29.1 C
Kathmandu

सर्वसाधारणलाई शेयर आकर्षण गदैै बजार हल्लाउन सक्ने निफ्राको मूल्य कस्तो छ ? हेर्नुस्, कम्पनीको विश्लेषण

काठमाडौं । बजारमा सबैभन्दा धेरै शेयरको आईपीओ जारी गरेर चर्चामा आएको पूर्वाधार विकास बैंकको शेयर मूल्य कस्तो छ । करिब सात सयको हाराहारीमा पुगेको यसको शेयर मूल्य साढे दुई सय भन्दा पनि कममा झरेर अहिले भने उभो लाग्न थालेको छ ।

बजारमा धेरैको हातहातमा भएको यसको शेयर मूल्यमा उतार चढाव आइरहनुपर्ने अनुमान गरिएपनि स्थिर हुने, अधिक तल झर्ने, अपेच्छा भन्दा कम मूल्यमा नै किन बसिरहेको छ त ? यसको शेयर सबैजसो नेपालीको घरमा पुगेको छ । धेरै लगानीकर्ताको हातामा पुगेको यसका शेयर नै न्यूनतम ४० कित्ता आइपीओ परेको थियो।

साना-ठूला लगानीकर्तापिच्छे ४०/५० कित्ता आइपीओ नपार्ने विरलै थिए। सबैले पाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य बजारको अपेक्षामा खरो उत्रनै सकेन। अलिकति भाउ आएका बेला कारोबार गरेका लगानीकर्ता यतिबेला सुस्ताएका छन्। हात हातमा सेयर राखेर कारोबारको सही समय कुरिरहेकाहरु सोध्छन्- बैंकका योजना राम्रा छन्, कर्जा लगानी स्वीकृति र निक्षेप पनि सन्तोषजनक छ तर किन बढ्दैन सेयरको भाउ?

निफ्राको सेयर मूल्य उच्चतम विन्दुबाट ६० प्रतिशत घटेको तथ्यांकले देखाएको छ। महिनौंदेखि निरन्तर ओरालो लागेको निफ्रा, नेप्सेले निर्धारण गरेको ओपनिङ रेञ्जभन्दा कम रकममा कारोबार भइरहेको छ।

कुनै बेला ७०० को आसपास किनबेच भएको यो कम्पनीको सेयर घटेर ३०० रुपैयाँ नजिक पुगेको छ। केही दिन पहिले प्रति कित्ता २६८ रुपैयाँमा कारोबार भएको सेयर हिजोआज ३०० रुपैयाँ माथि उक्लिएको छ।

सुरुवातदेखि नै लगानीकर्ताको ठूलो संख्या संलग्न भएको निफ्रा दोस्रो बजारमा प्रवेश गरेपछि छोटो समयमा नै निकै तीव्र रूपले बढेको थियो। दोस्रो बजार कारोबारका लागि नेप्सेले सूचीकृत गरेको आठौं दिनमा सेयर मूल्य सात सय आसपास पुगेको थियो। तर छोटो समयमा मनग्य नाफा आर्जन भएपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थाले। करिब १० महिनाको अन्तरालमा निफ्राको बजार मूल्यमा निकै ठूलो गिरावट आएको छ।

सन् २०१९ फेब्रुअरी ११ का दिन राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रको पहिलो पूर्वाधार विकास बैंकले सोही वर्ष मार्च ६ देखि आफ्नो वित्तीय कारोबार सञ्चालन गरेको थियो। स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट इक्विटी, ऋण, संरचित कोष र ऋणपत्रको मध्यमबाट स्रोत जुटाइ त्यस्ता स्रोतहरूलाई आर्थिक रूपमा सक्षम पूर्वाधार परियोजनाहरूमा प्रयोग गरी पूर्वाधार वित्तीय अन्तरलाई पुरा गर्ने लक्ष्य लिएको निफ्रा मुलुकको पहिलो पूर्वाधार विकास बैंक हो।

२०७७ मंसिर ९ मा धितोपत्र बोर्डबाट नेपाली धितोपत्र बजारको इतिहासकै सबैभन्दा ठूलो प्राथमिक सेयर निष्कासनका लागि स्वीकृति पाएको थियो। २०७७ माघ १० मा आइपीओ बिक्री खुला गरेको थियो। आवेदन दिएका अधिकांश आवेदकलाई ५० र भाग्यमानी केहीलाई ६० कित्ताका दरले सो कम्पनीको ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ बाँडफाँट भएको थियो। कम्पनीले आफ्नो जारी पुँजी २० अर्बको ४० % ले हुन आउने रकम बराबरको आइपीओ निष्कासनका लागि स्वीकृति पाएको थियो।

उक्त ४० प्रतिशतमध्ये ०.२० % बैंकका कर्मचारीका लागि र ५ % सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाकि रहेको ३४.८ % प्राथमिक बजारमा सर्वसाधारणका लागि बिक्री गरेको थियो।

अहिले के गर्दैछ निफ्रा 
गत मंसिर २९ मा भएको कम्पनीको तेस्रो वार्षिक साधारण सभाले आफ्ना सेयरधनीका लागि गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पुँजीको ८ % बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४२ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। २० अर्ब रहेको निफ्राको चुक्ता पुँजी, बोनस सेयर वितरणपछि २१ अर्ब ६० करोड रुपैयाँमा पुग्ने छ। कम्पनीले आफ्ना लगानीकर्ताहरू माझ वितरण गरेको यो प्रथम लाभांश हो।

समीक्षा अवधिमा बैंकले आफ्नो जारी पुँजी २० अर्बको ४० % ले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको छ। कर्जा स्वीकृति र प्रवाहतर्फ बैंकको अगुवाइ/सह-अगुवाइमा जलविद्युत, होटेल तथा रिसोर्ट, अस्पताल एवं सौर्य ऊर्जा समेत गरी १६ वटा परियोजनाहरूमा १७ अर्ब ७१ करोड कर्जा स्वीकृत भई २ अर्ब १८ करोड प्रवाह भएको छ भने निक्षेप २५ करोड छ।

बैंकले नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकका लागि जारी गरेको निर्देशन, २०७५ को व्यवस्था बमोजिम विभिन्न ‘क’ वर्गका बैंकहरूमा १८ अर्ब ५७ करोड मुद्दती निक्षेपस्वरूप लगानी गरेको छ। बैंकको खुद सम्पत्तिको आकार २४ अर्ब ४२ करोड छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म निफ्राले २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७% को वृद्धि हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड रुपैयाँ अधिक नाफा गरेको थियो।

असोज मसान्तसम्म २० अर्ब चुक्ता पुँजी रहेको निफ्राको जगेडा कोषमा २ अर्ब ६४ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले ग्राहकहरूबाट २९ करोड निक्षेप संकलन गरेर ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप १९.२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी निकै आक्रामक तवरले बढेको देखिन्छ। बैंकले यस अवधिमा १८ करोड रुपैयाँ सापटी लिएको छ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको असोजसम्म आइपुग्दा ४५.७८ %ले वृद्धि भएको छ।

बैंकले यस अवधिमा ४१ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति २३ अर्ब ३२ करोड अधिक छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको तथ्यांक अनुसार बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८४ पैसा छ। समीक्षा अवधिमा निफ्राको प्रति सेयर नेटवर्थ(बुक भ्यालु) ११३ रुपैयाँ २२ पैसा छ र धितोपत्र बजारको अन्तिम कारोबारी मूल्य रु.३०८ को आधारमा सो कम्पनी मूल्य आम्दानी अनुपात ६३.६३ गुणा छ। निफ्राको प्रति सेयर कुल सम्पत्तिको मूल्य भने ४९२ रुपैयाँ छ।

यस्तो छ प्राविधिक पक्ष 
१४ फेब्रुअरी २०२१ का दिनदेखि दोस्रो बजारमा कारोबार सुरुवात गरेको नेपाल इन्फ्रास्ट्रकचर बैंकको मूल्य प्रतिदिन १०%का दरले वृद्धि हुँदै नौ दिनमै ६७२ रुपैयाँ २२ पैसाको उच्च बिन्दुसम्म पुगेको थियो। छोटो अन्तरालमा नै लगानीकर्ताले आर्जन गरेको मनग्य नाफा बुक गरेपछि सोही दिन सो विन्दुबाट निफ्राको सेयर ओरालो लाग्न सुरु गरेको हो।

६०० रुपैयाँको विन्दु नेप्सेका लागि ठूलो अवरोध हो। त्यस पछि बजारले निरन्तर ५५० रुपैयाँको विन्दुलाई परीक्षण गरेको देखिन्छ। तर सफलताका साथ उक्त विन्दुलाई ब्रेक आउट दिन नसक्दा सो विन्दु पनि बाधाका रूपमा परिणत भएको हो।

५५० रुपैयाँदेखि ६०० को क्षेत्रलाई हामीले सप्लाई जोनका रूपमा बुझ्न सक्छौं। मूल्य यी विन्दुमा पुगे लगत्तै भविष्यमा पुनः पनि लगानीकर्ताले नाफा बुक गर्न सुरु गर्न थाल्नेछन्। सो मूल्य क्षेत्रमा नाफा बुक गर्ने सर्वाधिक सम्भावना रहेको देखिन्छ।

यता, निरन्तर घट्दै गर्दा निफ्राले ३०० को मूल्यलाई पहिला परीक्षण गरेको थियो। तर ३५० को छोटो यात्राभन्दा बढी बढ्न भने सकेन। ३५० को छोटो र नयाँ अवरोध सृजना गर्दै बजार पुनः ३०० रुपैयाँको विन्दु नजिक आएको थियो। यस विन्दुले टेवाको निकै ठूलो भूमिका निभाउनु पर्नेमा उल्टो सो विन्दुलाई ब्रेक डाउन गर्दै २७० को बलियो सपोर्ट नजिक बजार पुगेको थियो।

२७० रुपैयाँदेखि ३०० को क्षेत्रलाई हामीले डिमान्ड जोनका रूपमा बुझ्न सक्छौ। यस मूल्य क्षेत्र भन्दा बजार आजसम्म तल झर्न सकेको छैन। मूल्य यी विन्दुमा पुगे लगत्तै भविष्यमा पुन पनि लगानीकर्ताको आकर्षण यस धितोपत्र प्रति बढेर जानेछ । सो मूल्य क्षेत्रमा सर्वाधिक मागको सम्भावना रहेको देखिन्छ।

मैनबत्ती आकृति विश्लेषण
मैनबत्ती आकृतिले मूलतः कम्पनी खरिदकर्ता तथा बिक्रीकर्ताको चाप के कस्तो रहेको छ भने कुरा देखाउँछ। गत मंगलबार निफ्रामा खरिदकर्ताको तीव्र चापसहितको बुलिस मैनबत्ती बनेको थियो। तर सो दिन कारोबार बन्द हुनु भन्दा अगावै निफ्राको मूल्य भने घटेको थियो। परिणामस्वरूप बुधबार निफ्रामा पनि नाफा बुकिङको प्रभाव परेको देखिन्छ। सो दिन निफ्राको प्राविधिक चार्टमा उपल्लो विक(मैनबत्तीको टुप्पी) लामो भएको वियरिस अथवा रातो मैनबत्ती बनेको थियो।

बिहीबार कारोबार सुरु भए लगत्तै घटेको बजारको प्रभाव यस सेयरमा पनि देखिएको थियो। निफ्राको मूल्यमा सो दिन निकै उतार चढाव आएता पनि बजार भने बढेर नै बन्द भएका कारण बिहीबार हरियो मैनबत्ती बनेको हो। खरिदकर्ता तथा विक्रीकर्ताको चाप उत्तिकै भएता पनि सो कारोबारी दिन बजार बन्द हुनु अगावै ठूलो सङ्ख्यामा लगानीकर्ताहरू बजारमा प्रवेश गर्दा र सोही अनुरूप माग बढ्दा निफ्रा थोरै भए पनि बढेको छ।

यस दिन दुवैतर्फ कमजोर भएको सानो शरीरसहितको स्पाइनिङ टप मैनबत्ती बनेको छ। ३०० रुपैयाँको मूल्य विन्दु भन्दा माथि नै रहेको उक्त मैनबत्तीले आगामी दिनहरूमा निफ्रामा लगानीकर्ताहरूको आकर्षण र माग बढेर जाने देखाउँछ। प्राय माग सृजना हुने क्षेत्रमा यस्तो प्रकारको मैनबत्ती आकृति बन्दा बजार रिभर्स(हिँडिरहेको गति विपरीत) भएर जाने गर्दछ।

निफ्राको मूल्यले कारोबार रकमको साथ भने त्यति नपाएको देखिन्छ।पछिल्ला केही कारोबारी दिनमा निफ्राको कारोबार रकम औसत भन्दा तल रहेको छ। कारोबार रकमको साथ बिनाको वृद्धि दिगो भने हुँदैन।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
यस साताको बिहीबार कम्पनीको कारोबार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६० को स्केलबाट ७ अङ्क घटेर ५३ को स्केलमा पुगेको छ । यसले लगानीकर्ताको खरिद चाप औसतमा राम्रै रहेको बुझिन्छ । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५० % माथि रहनुले औसतमा बजारले सकारात्मक गति लिने देखाउँछ। लिडिङ औजार मानिने १४ दिने आरएसआई सूचक कुनै पनि बजारकोरणनीति परिवर्तनको लागि प्रयोग हुने प्रमुख औजार मध्ये मानिन्छ ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्सले(आरएसआई)ले बजारको प्रस्तुति कतिको शक्तिशाली छ भनेर मापन गर्दछ। सामान्यता यो सूचक ३० % भन्दा तल रहेको अवस्थालाई ओभरसोल्ड अथवा अत्यधिक बिक्री गरिएको भनी बुझिन्छ भने यदि यो सूचक ७० % भन्दा माथि रहन्छ भने त्यस अवस्थालाई ओभर बट अथवा अत्यधिक खरिद गरिएको भनी बुझिन्छ।

आरएसआईलाई ५०% को सीमा बाट पनि मापन गर्ने गरिन्छ। यो सूचक ५० % माथि रहन्छ भने बजारको सकारात्मक गतिले निरन्तरता पाउने पूर्वानुमान लगाउन सकिन्छ। यदि आरएसआईलाई ५०% भन्दा तल झर्छ भने बजारले आगामी दिनमा त्यति शक्तिशाली प्रस्तुति प्रदर्शन नगर्ने बुझ्न सकिन्छ।

पहिलो त्रैमासमा लक्ष्यभन्दा बढी प्रगति 
समग्रमा आधारभूत तथा प्राविधिक कुरा नियाल्दा निफ्राको सेयर मूल्य तत्काल केही गतिशील ढंगमा बढ्ने देखिन्छ। तर नजिकिँदै गरेको अवरोधले भने अवश्य पनि बजारलाई सीमित राख्ने प्रयास गर्नेछ।

३०० को बाधालाई केही समय अधि तोडेको निफ्राको मूल्य सोही अवरोध माथि स्थिर हुँदा, आउँदा दिनहरूमा सो स्टकले सकारात्मक प्रस्तुति दिने अनुमान गर्न सकिन्छ। तर, बजारमा सृजना हुने अनिश्चित समस्या र नजिकैको ३५० को अवरोधले बजारको प्रस्तुतिमा बाधा बन्ने देखिन्छ। यद्यपि, बजारले सो अवरोध लाई पनि पार गर्न सक्षम हुन्छ र ३५० रुपैयाँ माथि स्थिर रहन्छ भने निफ्रा लगानीकर्ताहरूको आगामी दिन शुभ रहनेछ।

समीक्षा अवधिमा बैंकको कर्जा लगानीमा उल्लेख्य वृद्धि भएको छ। मुलुकको समग्र पूर्वाधार विकासमा लगानीको पहुँच बढाउने मूल उद्देश्यका साथ बैंकले सार्वजनिक पूर्वाधारमा वित्तीय पहुँच पुर्‍याउन तालुक निकायहरू र तीनै तहका सरकारहरूसित समझदारी गरी सहरी पूर्वाधार, औद्योगिक पूर्वाधार र ऊर्जाका परियोजनाहरूमा छलफल र अध्ययनको कार्य अगाडि बढाइरहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
बैंक आफ्नो कार्य क्षमता विस्तार एवं सरोकारवालाहरूको हित संरक्षण गर्दै जाने लक्ष्य अनुरूप अगाडि बढेको देखिन्छ।

कोभिड-१९ महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिका बाबजुद बैंकले पहिलो त्रैमासमा लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको प्रतिवेदनमा छ। यदि कोही लगानीकर्ताले भ्यालु इन्भेष्टमेन्ट गर्न चाहन्छन् भने अहिले निफ्राको दोस्रो बजार मूल्य उचित छ। निफ्रा नेप्सेले निर्धारण गरेको ओपनिङ रेञ्जभन्दा कममा नै किनबेच भइरहेको छ। (साभारः बिजमाण्डु डटकम)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार