काठमाडौ । चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै १ हजार ४ सय ४ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै १ हजार ४०४ वटा विद्युतीय कार, भ्यान र जीपहरु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।
चालू आर्थिक वर्ष २०८१/८२ को बजेट आउनै लाग्दा विद्युतीय सवारी साधनको भन्सार दरमा हेरफेर हुने र भन्सार दर बढ्ने अनुमानका साथ आयातमा वृद्धि भएको बुझाइ छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत चैत मसान्तसम्म ७ हजार ९३ वटा चारपाङ्ग्रे विद्युतीय गाडीहरू आयात भएकोमा चैत महिनामा मात्रै ६५८ विद्युतीय गाडी नेपाल भित्रिएका थिए भने गत फागुनमा यो भन्दा अझ कम २९१ वटा चार पाङ्ग्रे विद्युतीय गाडी मात्र आयात भएको देखिएको छ। फागुन र चैत महिनाको आयातलाई तुलना गरेर हेर्दा वैशाखमा विद्युतीय गाडीको आयात दोब्बरभन्दा बढीले बढेको देखिन्छ ।
वैशाख महिनासम्म २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरका विद्युतीय गाडी आयात भएका हुन् । जसमा ५० किलोवाट सम्मका ३ हजार ४७२ वटा कार, भ्यान र जिप आयात भएका छन् ।
त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका ४ हजार ९६ वटा, १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका १०५ वटा र २०१ किलोवाट देखि ३०० किलोवाटसम्मका ६ वटा विद्युतीय कार, भ्यान र जिप आयात भएका छन् ।
विद्युतीय गाडीको आयात बापत सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

