23.1 C
Kathmandu

 पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु, तीन धर्मका गुरुहरू एकै ठाउँमा

 काठमाडौं । हिन्दु, बौद्ध, किराँत एकता सन्देश सहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरूको उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरू खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरू सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी किराँत धर्मका गुरुहरू हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थिए ।

सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहित पितृ उद्धारका निमित्त महायज्ञ आयोजना गरिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । बुद्ध धर्म सेन्टर साङे छ्योलिङ गुम्बा र किरात साम्यो माङ्सेवासावा नेवाला पान्जुम्भो उपत्यका समितिको सहकार्यमा महायज्ञको आयोजना गरिएको छ । बौद्ध धर्मका गुरुबाट बाजागाजासहित बुद्धको पुजा गरेर मन्त्रजप गरिएको थियो । विश्वमा शान्तिको अग्रदूत गौतम बुद्ध भएकाले विश्वशान्ति महायज्ञमा आफूहरू पनि संलग्नता हुन पाउँदा खुशी रहेको बौद्धिष्ट गुरु सङ्गे लामा बताउँछन् ।

अहिले धर्म धर्म बिच दूरी बढ्दै गइरहेको बेला यो विश्वशान्ति महायज्ञले धार्मिक एकतालाई अझ मजबुत बनाई एकअर्को धर्मको सम्मान, सद्भाव र एकता कायम राख्न सहयोग गर्ने महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोखरेल बताउँछन् । यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमा मात्रै नभई राष्ट्रिय र विश्वव्यापी रूपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । एउटा सपना देखियो तर त्यो सपना पुरा गर्न धेरै तनाव, वाधा व्यवधान तथा कठिनाइ आइपर्ने रहेछ । तर पनि हिम्मत नहारी कार्यक्रमलाई सफल बनाएरै छोड्ने उनी बताउँछन् । कार्यक्रम व्यर्थै आँट गरिएछ जस्तो लागेको थियो तर भगवानको कृपाले सहयोगी हातहरू बढ्दै गएको र कार्यक्रममा धेरै व्यक्तिहरूलाई जोड्न पाउँदा कार्यक्रम सफल हुनेमा आशावादी रहेको उनको भनाई छ ।

कार्यक्रममा वृन्दावनदेखि नारायणदास (बुलेट बाबा) आएका थिए भने राष्ट्र शक्ति नेपालको अध्यक्ष केशर बहादुर बिष्ट, शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत लगायत व्यक्तिहरूको आतिथ्यता रहेको थियो । हामी सबै फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने आजको समयमा यो कार्यक्रमले सबैलाई जोड्ने प्रयास गरेकोले धामीझाँक्री सङ्गठनले पनि साथ दिएको राष्ट्रिय संस्कृति संरक्षण तथा सामाजिक, धार्मिक विकास मातृभूमि धामीझाँक्री संगठन नेपालका अध्यक्ष रामहरि विश्वकर्मा बताउँछन् ।

हिन्दु विधिअनुसार सातै दिन श्रीमदभागवत् कथा पाठ पारायण, दैनिक हवन, प्रातःकालका पुजा, प्रवचन, रासलीला, भजनकीर्तन, ताण्डव नृत्य, धामीझाँक्री पनि प्रदर्शन गरिने हिन्दु धर्मका गुरु त्रिलोचन सुवेदी बताउँछन् । विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा भएको उनको भनाई छ । दैनिक ६८०४ मन्त्रद्वारा सम्पूर्ण देवीहरूलाई हवन कुण्डमा अवत्रित गराउने तान्त्रिक गुरु सुनिल कुमार वैश्यले बताए ।

किराँत विधिअनुसार कार्यक्रमको सुरुवातको दिन किरात मुन्धुम अनुसार कुसाङ् सेमा अर्थात यो शून्यता, पन्चतत्व, प्रकृति, मुन्धुम वेदलाई पुज्दै सेवा पुजा अवधिभर कुनै अनिष्ट नहोस् भनेर माङसँग आराधना गरिएको थियो । गुह्येश्वरी नदिमा साक्मुरा वादेम्म्मा (गालिश्राप बहन्ती) त्यसपछि सुम्निसा युमा हिममाङथेबाको पुजा पाठ, कुदाप कुई देवी देउरालीको पुजा गर्दै मुख्य इष्टदेवी युमा, हिममाङथेबाको सेवा (येकुदिङ साङ्भे) मा पुजा गरिने किराँत गुरु हरि थक्लिहाङ बताउँछन् । त्यसपछि क्रमश येत नाम्धुङ लाधुङसेमी सेवा गरिने र २५ गतेसम्म बिहान र बेलुका दैनिक २ प्रहर निरन्तर येत नाम्धुङ लाधुङ सेमी, १०८ दीप जलन, लाख बत्ती जलन सहित चरु हवन गरिनेछ र २६ गते बिहान कुयाम सेमा गरि विधिवत महायज्ञ विसर्जन हुनेछ ।

किरात धर्मको तर्फबाट किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको समिति र पूर्वबाट आमन्त्रित ८ जना बढी किरात माङसेवासाबाहरुबाट विशेष मुन्धुम वाचन हुनेछ । विश्वशान्ति तथा मानव एकताको शंखघोष गर्ने किरात धर्मले चराचर सृष्टि जगत, प्रकृतिको रक्षार्थ मुन्धुम अनुसार निरन्तर भक्ति अनुष्ठान गर्ने गरेको छ ।

नेपालबाट युवाहरू दैनिक विदेश पलायन भइरहेको समयमा केही युवाहरूले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफूले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमा अति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाइराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए । यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथ दिनुपर्ने उनको भनाई छ ।

धर्म धर्ममा विभेद गराएर शिवको भूमिमा फिरिङ्गीका धर्महरू लादेर हामीमाथि विखण्डन गरेर वैदिक सनातन धर्ममाथि प्रहार भइरहेको अवस्थामा यो महायज्ञले विश्वकै निम्ति उदाहरणीय सन्देश दिएको शिवसेना नेपालका चिरण खड्का बताउँछन् । शिवरात्रि अवसर पारेर फागुन २६ गतेसम्म एक साता कार्यक्रम रहनेछ । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार