26.1 C
Kathmandu

थाइल्याण्डमा ‘इन्टरनेसनल बेलुन फियस्ता’ सम्पन्न, 

काठमाडौं । नेपालबाट बेलुन नेपालको सहभागिता हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ ।

गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल सहभागी भएका हुन् । कार्यक्रममा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन उडाइएको थियो ।

जसमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए । आइतबार समापन भएको कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो । जसको पर्यवेक्षकको रुपमा बेलुन नेपालले सहभागिता जनाएको कम्पनीका निर्देशक ढकालले जानकारी दिए । कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्री भोज सहित ‘नेपाली नाइट’ आयोजना गरिएको थियो ।

सो अवसरमा पाइलट र क्रूहरूलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए । ‘मुलुकको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ,’ निर्देशक ढकालले भने,’ नेपालमा बेलुन पनि छ भन्ने जानकारी दिन पाउनु खुशीको कुरा हो ।’ उनले कार्यक्रममा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको समेत बताए । उनले भने, ‘धेरैमा बुद्ध इन्डियामा जन्मिएको भ्रम थियो तर यो फेस्टमा डेढ लाख जनासम्म त्यहाँ कन्सर्टमा सहभागी थिए त्यहाँ लुम्बिनी नेपालको र बुद्धको जन्म नेपालमा भएको जानकारी दिन पायौँ

‘उनले नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न मुलुकका पर्यटकहरू सहभागी गराउने प्रशस्तै सम्भावना रहेको बताए । उनले भने, ‘ यहाँ गरिएका बेलुन ग्लो कार्यक्रमले हाम्रो ध्यान खिचेको छ, छिट्टै नेपालमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने सोचमा छौं ।’ निर्देशक ढकालले सम्भवत: नेपालबाट इन्टरनेसनल बेलुन फेस्टिभलमा नेपाली कम्पनी सहभागी भएको यो पहिलो पटक भएको बताए । थाइल्याण्डको फ्लाइङ मिडियाले आयोजना गरेको यस कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश थियो । कार्यक्रमको पाँच दिन अवधिमा कुल १० लाख जनाले अवलोकन गरेको ढकालले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार