27.1 C
Kathmandu

स्वस्थानी देवीको पुजा गरिने व्रत श्री स्वस्थानी व्रत 

नेपाली महिलाहरूले गर्ने कठिन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । शाली नदीमा माघ महिनामा लाग्ने मेलाको एक दृष्य शाली नदीमा माघ महिनामा लाग्ने मेलामा सहभागी दर्शनार्थीहरू शाली नदीमा माघ महिनामा लागेको मेला शाली नदीमा माघ महिनामा लाग्ने मेलामा सहभागी दर्शनार्थीहरू विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रतकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाह योग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अवधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्धा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो । यो व्रतको भारत लगायत अन्य हिन्दु बहुल राष्ट्रमा त्यत्ति धैरै लोकप्रिय नभए पनि नेपालमा भने धेरै लोकप्रिय छ । तराईको छट पूजा र पहाडको श्री स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अङ्ग हो । श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेष्मान्तक वन हाम्रै देश नेपालको काठमाण्डौमा छन् । यो व्रतकथामा उल्लेखित विषय बस्तु र घटना पनि नैपाल कै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ । सत्य युगमा यो व्रत सर्व प्रथम हिमालय पुत्री पार्वतीले श्री महादेव लाई पति पाँऊ भनी गर्नु भएको थियो ।

प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाका दिन देखी यस व्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीको दिन देखी नै दुबै हात खुट्टाका नङहरू काटी, पवित्र भएर हविष्य ( दूध दही, जौ, गहुँ चामल, तिल घ्यू, सक्खर इत्यादि सात्विक पदार्थहरू )  भोजन ग्रहण गरी श्री स्वस्थानी माताको स्थापना पूजा गर्ने ठाउँ को सरसफाइ लिपपोत इत्यादि गर्नु पर्दछ । व्रत गर्नेले त्यसै दिन देखी व्रत नसकिँदासम्म पलङ र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत नसकिँदा सम्म व्रतालु पुरुष भए रौं काट्न पनि हुदैन । त्यसै दिन देखी एक महिना सम्म कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झुटो नबोल्नु क्रोध नगर्नु, कसै प्रति दुर्भाव नराख्नु, चोरी नगर्नु , ब्रह्मचर्य को पालन गर्नु, शुद्ध धोएका वस्त्रहरू मात्रै लगाउनु, शौच गए पछि जलको प्रयोगले सफाइ गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु व्रतका अनिवार्य नियमहरू हुन् ।

पूर्णिमाका दिन बिहानै उठी नदिमा स्नान ( नदि नभए घरैमा ) गरी शुद्ध वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसके पछि पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगव्य ( गोबर, गोमूत्र, दूध, दही र घ्यू ) का साथै तिल, सर्सी र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिषेक बनाई अपवित्रः पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ । त्यसपछि त्यसै अभिशेकबाट ‘ मैले आज सम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नास भई मलाई यस लोकमा सुखसम्पत्ति र अर्को लोकमा शिव लोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म स्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु ’ भनी संकल्प गरी व्रतको सुरुवात गर्नु पर्दछ । त्यसपछि आफूले विगतमा खाएका हुन सक्ने अभक्ष्य पदार्थको प्रायश्चित स्वरुप गोदान, (गाई) असम्भव भए गोबरमा यथाशक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्य पछि मात्रै दीप गणेश र कलशको पूजा आरम्भ गर्नु पर्दछ ।

दीप गणेश र कलशको पूजा सम्पन्न भैसके पछि एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्री स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नु पर्दछ । सुन नभए यथाशक्य भेटी राखी श्री स्वस्थानी माताको स्थापना गर्नु पर्दछ । श्री स्वस्थानी माता आफ्ना चार हातमा क्रमैसँग त्रिशूल, तरबार, चक्र र कमल धारण गरेकी हुन्छन् । यिनको पग्लिएको सुनको जस्तै पहेलो वर्ण छ । विविध आभूषण हरूले शोभायमान श्री स्वस्थानी माता सिंहासनमा आरुढ भएकी हुन्छन् । यिनी आदिशक्ति स्वरुपा भएकीले आफ्ना भक्तजनहरूलाई मनले चिताएको फल तुरुन्तै दिने गर्दछिन् । अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ । प्रतेक दिन बिहान दीप गणेश र कलश को पूजा गर्नुका साथै माथि उल्लेख गरिएका अष्टमात्रिका र श्री स्वस्थानी माताको पूजा आचमन, पाद्य, पञ्चामृत, चन्दन, धूप, बाटेको धूप, दीप, नैवेद्य, वस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्य द्रब्य , सेलरोटी, हलुवा इत्यादिले गर्नु पर्दछ । मध्यान्ह कालमा भगवान श्री महादेवको श्री स्वस्थानी मातासँगै पूजा अर्चना गर्नू पर्दछ । पूजा पछि आफुले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी माता लाई अघ्र्य दिनु पर्दछ । साँझको पूजा पछि श्री स्वस्थानी माताको कथा वाचन गर्नु पर्दछ । कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गर्ने र आफै सुन्ने गर्नु पर्दछ । कथावाचन आफूले गर्न नसके कुनै ब्राह्मण द्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैले वाचन गर्दा पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष्य पदार्थ खाएको हुनु हुदैन । कथा सुन्न आफ्ना सबै छिमेकी, इष्टमित्र, र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ । कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दीप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछि आरती गर्नु पर्दछ । आरती पछि कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ । यो प्रतिदिन को पूजाकर्म भयो ।

यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउँछ तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नु र श्री स्वस्थानी मातासँगै मेरो पनि पूजा गर्नु भनी श्री महादेवबाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फुल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू, १०८ भेटी, जौं, तिल इत्यादि सबै पदार्थ १०८ चढाउनु पर्दछ । अन्य अप्राप्य फलफूल र नैवेद्य यथाशक्ति चढाउन सकिन्छ । पूजा पछि १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । व्रत प्रतिष्ठा पछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनी अर्घ दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८ र ८ वटा प्रसाद झिक्नु अथवा ( आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित) आफ्ना श्रीमान लाई दिनु, श्रीमान नभए आफ्ना छोरालाई दिनु , छोरा पनि नभए मित छोरालाई दिनु , मीतछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनी नदिमा बगाई दिनु र सय रोटी आफूले फलाहार गरी प्रतिष्ठाको रात्रिमा जाग्राम बस्नु भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यतिगरी सके पछि श्री स्वस्थानी माताको प्रसादले व्रत कर्ताको समस्त दुःख नासिई मनोकामना पूर्ण हुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

आजको युगमा हाम्रो समाज घोर भौतिकता तर्फ अग्रसर भइरहेको छ । हाम्रा संस्कृति, रीति रिवाज र परम्परा सबै नासिँदै गएका छन् । जताततै पाश्चात्य संस्कृतिको ब्यापक प्रभाव परेको छ । भीषण सांस्कृतिक हमला जस्तो भइरहेको छ । यस्तो अवस्थामा हामी सबै धर्मप्रेमी महानुभावहरूले आफ्नो संस्कृति जोगाइ राख्ने प्रयास गर्नु पर्दछ । आफ्ना सन्तति हरूलाई हाम्रा रीतिस्थिति पर्व, परम्परा, अनुशासन, र कर्तव्यको बोध गराउनु पर्दछ । यो श्री स्वस्थानी माताको व्रत कुनै अन्धविश्वासी कर्मकाण्ड होइन । यो प्रत्यक्ष वैज्ञानिक पनि हो । यसले प्रत्येक स्त्री–पुरुषलाई भित्रै देखि इमानदार, कर्तव्यनिष्ठ, निरपराधी र अनुशासित बनाउनमा प्रत्यक्ष फाइदा पुर्याएकै हुन्छ । १ महिना सम्म १ छाक मात्रै भोजन ग्रहण गर्नाले पेट भित्रका विभिन्न पुराना रोगहरू स्वतः ठिक हुन्छन् । यो बेला भोजन पचाउन प्रयोग हुने ऊर्जालाई फुर्सद मिल्नाले पेटभित्रका विभिन्न अवशिष्ट पदार्थलाई निष्कासित गर्ने र रोगग्रस्त अङ्गहरू लाई मर्मत गर्ने अवसर मिलेको हुन्छ भनी वैज्ञानिकहरूले स्वीकार गरेका छन् । उपवासको अवधिमा पेटभित्र वर्षौ देखि सञ्चित भएको मल निस्कासन हुने हुँदा पानी भने प्रशस्तै पिउनु पर्दछ भन्ने वैज्ञानिकहरूको धारणा छ । बढी पानी नपिए शरीरलाई हानी हुन सक्ने कुरा वैज्ञानिकहरू बताउँछन् । ईश्वर र धर्म प्रति खासै आस्था नराख्ने हाम्रो अहिलेको नयाँ पुस्ता घोर नास्तिक र अश्लील बन्दै गएको छ । संसारमा जति पाश्चात्य संस्कृतिको अनुकरण र नास्तिकता हिन्दु धर्ममा मौलाएको छ, त्यति अन्य धर्ममा नभएको एक सर्वेक्षणले देखाएको छ । यस्तो अवस्थामा हामी सबै संस्कृति प्रेमी, धर्म प्रेमी र देश प्रेमी जनताहरूले आफ्नो धर्म र संस्कृति जोगाई राख्न आ–आफ्नो तर्फबाट समुचित कदम चालिएन भने निकट भविष्यमा हाम्रो संस्कृति र धर्म इतिहासमा मात्रै सीमित नरहला भनेर भन्न सकिन्न ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हात मध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोगब्याधी लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।

सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नागनागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालि नदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । ‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।

(यही फागुन १२ गते श्री स्वस्थानी व्रत समाप्ति भएकोले यो समसामयिक लेख प्रस्तुत गरेको छु ।)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार