29.1 C
Kathmandu

वैशाखमा नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने 

काठमाडौं । आगामी वैशाख २६ गतेदेखि राजधानीमा नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं शृङ्खला यस पटक आगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

कोरोनापछि विश्वभर आएको आर्थिक मन्दीको प्रभावबाट प्रभावित नेपाली उद्योगहरूको वर्तमान अवस्था  झल्काउनु र उनीहरूको व्यापार प्रवर्द्घन गर्न सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ ‘‘खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’’ भन्ने मूल नाराका साथ मेला आयोजना हुँदैछ ।

मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिबिम्बित गर्ने महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिनुभएको छ ।

प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी , बीटुसी , बीटुजी  जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासङ्घले जनाएको छ । प्रदर्शनीमा २५० वटा स्टल रहने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको अध्यक्ष सिंहले बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा हुने प्रदर्शनीको सह-आयोजकको रुपमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार अन्तरगत उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलगायत विभिन्न सरकारी निकाय तथा विभिन्न उद्योग, बैंक तथा व्यवसायिक सङ्घसंस्थासँगको सहकार्यमा मेला आयोजना हुने महासङ्घले जनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार