29.1 C
Kathmandu

विमानस्थलहरूमा फ्रि वाइफाई उपलब्ध गराउन टेलिकम र प्राधिकरण बिच सम्झौता   

काठमाडौं । नेपाल भित्र सञ्चालित विमानस्थलहरूमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच आज सहमति भएको छ ।  

यो सम्झौता अनुसार नेपाल टेलिकमले नेपाल भित्र सञ्चालित ३४ विमानस्थलहरूमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । 

सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । 

सहमति पत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रि वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरूमा समेत चरणबद्ध रुपमा फ्रि वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ । 

विमानस्थल भित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने टेलिकमले जनाएको छ । 

नेपाल टेलिकम प्रवक्ता हरि ढकालका अनुसार फ्रि वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । त्यसैगरी यात्रुहरूलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । 

यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट यात्रुहरुले लाभ लिनुहुने अपेक्षा गरिएको प्रवक्ता ढकालले बताए । 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार