8.1 C
Kathmandu

नाट्टाको वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डेको उम्मेदवारी: पर्यटन सुदृढीकरण र नीतिगत सुधार मुख्य एजेण्डा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रबार हुने ५९ औं वार्षिक साधारणसभा तथा २५ औं कार्यसमितिको निर्वाचनका लागि विष्णु पाण्डेले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जिस्वा तुलाधरको प्यानलबाट चुनावी मैदानमा उत्रिएका पाण्डेले पर्यटन क्षेत्रको व्यावसायिक वातावरण सुधार र संस्थागत सुदृढीकरणलाई आफ्नो मुख्य लक्ष्य बनाएका छन्।

को हुन् विष्णु पाण्डे?
नवलपरासीमा जन्मिएका विष्णु पाण्डे विगत एक दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रमा निरन्तर सक्रिय छन्। हिमालयन क्लब टुर्स एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक रहेका पाण्डेले सन् २०१२ देखि यस क्षेत्रमा व्यावसायिक यात्रा सुरु गरेका हुन्। नाट्टाको कार्यसमिति सदस्य र सचिवका रूपमा दुई सफल कार्यकाल पूरा गरिसकेका उनी व्यवसायीमाझ ऊर्जाशील र समर्पित नेतृत्वका रूपमा परिचित छन्।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्न निजी क्षेत्रबाट ‘नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो’को अवधारणा ल्याउने र त्यसको पहिलो संस्करण सफल बनाउन मुख्य भूमिका खेल्ने श्रेय पनि पाण्डेलाई नै जान्छ। व्यावसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वमा विश्वास गर्ने उनी पर्यटन क्षेत्रका नीतिगत समस्या समाधानमा दख्खल राख्ने व्यक्तिका रूपमा चिनिन्छन्।

पाण्डेका मुख्य ७ प्रतिबद्धताहरू:

१. घनिभूत प्रवर्द्धनात्मक कार्यक्रम: आफ्नो दुई वर्षको कार्यकालमा देश-विदेशका विभिन्न सहरहरूमा गरी कम्तीमा १२ वटा (प्रतिवर्ष ६ वटा) ठूला पर्यटन प्रवर्द्धन कार्यक्रमहरू आयोजना गर्ने।

२. बौद्ध पर्यटनको विकास: ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ लाई थप व्यवस्थित र परिष्कृत रूपमा सञ्चालन गरी नेपाललाई विश्वभरका बौद्ध धर्मावलम्बीको आकर्षक गन्तव्य बनाउने।

३. व्यावसायिक सुरक्षा र संरक्षण: कृषि क्षेत्रलाई जस्तै पर्यटन व्यवसायलाई पनि राज्यका नीति तथा ऐन-कानुनमार्फत ‘संरक्षित व्यवसाय’ को रूपमा स्थापित गर्न विशेष पहल गर्ने।

४. अन्तर्राष्ट्रिय ‘बिजनेस एक्सचेन्ज’: विदेशी ट्राभल तथा पर्यटन संघ-संस्थाहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाली एजेन्सीहरूका लागि प्रत्यक्ष व्यावसायिक अवसर (Business Exchange) सिर्जना गर्ने।

५. नीतिगत समस्याको समाधान: हवाई टिकटमा लगाइएको भ्याट र एयरलाइन्सले जारी गर्ने एएमडी जस्ता समस्याका कारण पर्यटन क्षेत्र महँगो र जटिल बनेकाले सरकारसँग समन्वय गरी यी समस्याको स्थायी समाधान खोज्ने।

६. मुद्रा सटहीमा सहजता: प्रमुख ८ देखि १० वटा देशहरूमा नेपाली रुपैयाँ/सटहीको सहज सुविधा मिलाउन पहल गर्ने, जसले गर्दा राष्ट्रिय अर्थतन्त्र र कुल गार्हस्थ्य उत्पादनमा सकारात्मक प्रभाव पर्नेछ।

७. विधान संशोधन र सुधार: नाट्टालाई समयसापेक्ष बनाउन संस्थाको विधानमा आवश्यक परिमार्जन र आन्तरिक सुदृढीकरणका मुद्दाहरूलाई प्राथमिकताका साथ अघि बढाउने।

संस्थाको प्रतिष्ठा र व्यवसायीको हितलाई केन्द्रमा राखेर आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको पाण्डेले बताएका छन्। नाट्टाको निर्वाचन यही शुक्रबार काठमाडौंमा सम्पन्न हुँदैछ।

यस्तो छ टीम जिस्वा

थप समाचार

ताजा समाचार