
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाली अटोमोबाइल बजारको बदलिँदो स्वरूपलाई प्रतिविम्बित गर्ने यो एक्स्पोमा ५३ वटा ब्रान्डका ५१ वटा स्टलहरू रहेका छन् ।
यसपटकको एक्स्पोको मुख्य आकर्षण ४० भन्दा बढी नयाँ सवारी साधनहरूको सार्वजनिक हुनु रहेको छ, जसमा विद्युतीय सवारी (ईभी) को बाहुल्यता देखिएको
एक्स्पोमा २० लाखदेखि १ करोड रुपैयाँभन्दा माथिका दुईपांग्रे, चारपांग्रे, र व्यावसायिक सवारी साधनहरू प्रदर्शनमा राखिएका छन् । विशेषगरी मध्यम वर्गीय र प्रिमियम दुवै सेग्मेन्टमा नयाँ ईभी मोडलहरू भित्रिएका छन् ।
सस्तो ईभी सेग्मेन्टमा प्रोटोनको ई.मास ५, आर्कफक्स टी-१ र विलिङ मिनी ईभी जस्ता मोडलहरूले दर्शकको ध्यान खिचेका छन् । प्रोटोनले आफ्नो ई.मास ५ को प्राइम भेरियन्ट पहिलो १०० ग्राहकका लागि २९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने विशेष अफर ल्याएको छ ।
नेपाली ग्राहकको एसयूभीप्रतिको बढ्दो क्रेजलाई सम्बोधन गर्दै एक्स्पोमा लिपमोटर, बीएआईसी, चाङआन, चेरी र ओमोडा जस्ता ब्रान्डका नयाँ एसयूभी सार्वजनिक भएका छन् । लक्ष्मी मोटर हबले ल्याएको हाइब्रिड एसयूभी बीजे-३० ई को मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
प्रिमियम ईभीमा हुन्डाईको आयोनिक ९ र विलिङको ७ सिटे एक्सियन ईभी जस्ता मोडलहरूले ईभी केवल ‘साना कार’ मा मात्र सीमित नरहेको सन्देश दिएका छन् ।
परम्परागत इन्जिन र दुईपांग्रेको उपस्थिति
विद्युतीय सवारीको चर्चा भइरहँदा पेट्रोल-डिजेल र हाइब्रिड गाडीहरूको बजार अझै जीवित रहेको एक्स्पोले देखाएको छ । टोयोटाले एक्स्पोको अवसरमा २१ लाख रुपैयाँसम्मको भारी छुटसहित नयाँ मोडलहरू सार्वजनिक गरेको छ ।
दुईपांग्रेतर्फ बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्डदेखि एथर र अल्ट्राभायोलेट जस्ता विद्युतीय ब्रान्डहरूको सक्रिय सहभागिता छ । यसले दुईपांग्रे बजारमा पनि पेट्रोल र इलेक्ट्रिकबीचको प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
बजारमा ब्रान्ड र विकल्पको संख्या बढे पनि उपभोक्ताका लागि अब मूल्य मात्र निर्णायक हुनेछैन । ईभीको हकमा ब्याट्रीको आयु, वारेन्टी, चार्जिङ पूर्वाधार र बिक्रीपछिको सेवा प्रमुख चुनौतीका रूपमा रहेका छन् । विज्ञहरूका अनुसार प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन र रिसाइकलिङका विषयमा ठोस योजना हुनु अबको अटोमोबाइल उद्योगको प्राथमिकता हुनुपर्छ । यो एक्स्पोले नेपाल बिस्तारै दिगो र आधुनिक मोबिलिटीतर्फ अघि बढिरहेको संकेत गरेको छ ।

