काठमाडौं। नेपालको पर्यटन क्षेत्रमा क्रियाशील ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २ वर्षे (सन् २०२६–२०२८)को कार्यकालका लागि जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वको प्यानलसहितको उमेदवारी घोषणा भएको छ ।
यही साउन २९ गते हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि उनको प्यानल शनिबार बिहान सार्वजनिक भएको हो । विगत ६ दशकदेखि पर्यटन व्यवसायीहरूको हकहित र पर्यटन प्रवर्द्धनमा सक्रिय नाट्टाको आगामी नेतृत्वका लागि श्रेष्ठको प्यानलले ‘सदस्यको विश्वास, एकताबद्ध नाट्टा, समृद्ध पर्यटन व्यवसाय’ भन्ने मूल नाराका साथ १२-बुँदे निर्वाचन प्रतिबद्धता–पत्र समेत सार्वजनिक गरेको छ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले नाट्टालाई अझ सबल, समावेशी, पारदर्शी र प्रविधिमैत्री बनाउँदै व्यवसायीका समस्या समाधानमा परिणाममुखी पहल गर्ने दृढता उमेदवाहरुले व्यक्त गरेका छन् ।
कसको दाबी कुन पदमा ?
जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको यस समूहमा अनुभव र उत्साहको सन्तुलन मिलाइएको दाबी गरिएको छ । हाल वरिष्ठ उपाध्यक्ष रहेकी तुलाधनरले बनाएको समूहका उम्मेदवारहरूमा अध्यक्षसहितको ७ जना पदाधिकारी र ६ जना कार्यसमिति सद्सय गरेर १३ जनाको उमेदवारी घोषणा भएको छ । स्वाँ टुर्स एन्ड ट्राभलकी प्रवन्ध निर्देशक तुलाधरको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष विष्णु पाण्डे (हिमालयन क्लब टुर्स एन्ड ट्राभल्स), उपाध्यक्ष प्रज्ञा पाठक शर्मा (एडभेन्चर आउटडोर एक्सकर्जन)ऽ महासिचव सुशील पन्त (गोरखा इन्टरनेसनल ट्राभल्स), सचिव रमेश घिमिरे (वेल नेपाल टुर्स एन्ड ट्रेक्स), कोषाध्यक्ष कृष्णप्रसाद ढकाल (काठमाडौं होलिडे टुर एन्ड ट्राभल) र सहकोषाध्यक्ष: डा. विमला दाहाल (सेलेक्टेड टुर्स एन्ड ट्राभल) रहेको समूह घोषणा भएको छ ।
कार्यसमिति सदस्यहरूमा प्रदीप आचार्य (ड्यूक नेपाल एडभेन्चर), सुदर्शन गजुरेल (पर्ल होलिडेज), दिनेश घिमिरे (शिवालय होलिडेज), त्रिलोचन न्यौपाने (इन्टेल रोशी टुर्स एन्ड ट्राभल), अनु राउत अधिकारी (नेपाल स्नो ज्वेल ट्राभल एन्ड टुरिजम) र रोजिना रञ्जितकार (रेनबो ट्राभल्स एन्ड टुर्स) रहेकी छन् ।
यो समूहले १२ बुँदे १२-बुँदे प्रतिबद्धताका पनि सार्वजनिक गरेको छ ।
१. अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन: नेपालका पर्यटकीय गन्तव्यको विश्वव्यापी बजारीकरण गर्ने र कृत्रिम बौद्धिकता (एआई) तथा व्यावसायिक-देखि-व्यावसायिक (बीटुबी) मञ्चको प्रयोग गरी नेपाली एजेन्सीहरूलाई विश्व बजारसँग जोड् दिइने छ ।
२. हवाई टिकटिङ प्रणालीमा सुधार: सबै वायुसेवा कम्पनीहरूमा समान र पारदर्शी सीमा निर्धारण नीति लागू गराउने। ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस) मा समान पहुँच र हवाई टिकटको असमान भाडादर नियन्त्रण गर्न पहल गरिने छ ।
३. साना व्यवसायीलाई प्रोत्साहन: व्यवसाय दर्ता र नवीकरण सहज बनाउन ‘एकल विन्दु प्रणाली’ र ‘नाट्टा सहायता कक्ष’ स्थापना गर्ने। महिला तथा युवा उद्यमीका लागि स्टार्टअप (नवप्रवर्तन) कार्यक्रम सञ्चालन गर्ने।
४. कर सम्बन्धी समस्या समाधान: हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी व्यवस्थाको पुनरावलोकन र सुधारका लागि सशक्त पहल गर्ने।
५. यातायात पूर्वाधार: प्रमुख पर्यटकीय गन्तव्य जोड्ने अन्तर-सहरी बस सञ्जाल विस्तार गर्ने र आधुनिक पर्यटकीय बसपार्क निर्माणका लागि सरकारसँग समन्वय गर्ने।
६. संस्थागत पुनर्संरचना: नाट्टालाई थप प्रभावकारी बनाउन प्रादेशिक र क्षेत्रीय प्रतिनिधित्वलाई सुनिश्चित गर्दै कार्यसमितिको पुनर्संरचना गर्ने।
७. प्रविधिमैत्री नाट्टा : संस्थाका सबै प्रशासनिक कामलाई डिजिटल प्रणालीमा लैजाने र अनलाइन मतदान प्रणालीलाई नमुना परियोजनाका रूपमा अघि बढाउने।
८. गैरकानुनी गतिविधि नियन्त्रण: अनधिकृत विदेशी टुर अपरेटर र अवैध टुर लिडरहरूले सामाजिक सञ्जालमार्फत गर्ने गैरकानुनी व्यवसाय नियन्त्रण गर्न सरकारी निकायसँग समन्वय गर्ने।
९. प्रादेशिक विकास: पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि पहल गर्ने र नाट्टाका प्रादेशिक शाखाहरूलाई थप अधिकारसम्पन्न बनाउने।
१०. बाह्य पर्यटनका जटिलता समाधान: वैदेशिक मुद्रा नीतिलाई व्यावहारिक बनाउन पहल गर्ने। कैलाश यात्रा र भुटान भ्रमण जस्ता धार्मिक एवं अन्तर्राष्ट्रिय भ्रमणलाई सहज बनाउने।
११. क्षमता अभिवृद्धि: ‘नाट्टा एकेडेमी’ मार्फत डिजिटल मार्केटिङ, एआई , संकट व्यवस्थापन र विदेशी भाषा सम्बन्धी नियमित तालिम सञ्चालन गर्ने।
१२. आन्तरिक पर्यटन र पूर्वाधार: आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सडक पहुँच र यातायात पूर्वाधार सुधारमा विशेष जोड दिने।
जिस्वा तुलाधर समूहले नाट्टालाई कुनै व्यक्ति वा समूहको मात्र नभई सम्पूर्ण पर्यटन व्यवसायीको साझा र बलियो मञ्च बनाउने संकल्प गर्दै मतदानका लागि सबै सदस्यहरूमा अपिलसमेत गरेको छ।

