8.1 C
Kathmandu

नेपाल फिनटेक एक्स्पो २०२६ को दोस्रो संस्करण असोजमा हुने, के हुन्छ मुख्य विशेषता ?

ललितपुर । फिनटेक एलायन्स नेपाल (फ्यान) ले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आगामी २०८३ असोज २३ देखि २५ गते सम्म यो मेला सञ्चालन हुनेछ।

यसअघि दुई दिने कार्यक्रमका रूपमा आयोजना गरिएको एक्स्पो यस वर्ष भने तीन दिनसम्म सञ्चालन गरिने मेला आयोजक संस्थाले जानकारी दिएको छ। प्रदर्शनीमा ६५ भन्दा बढी प्रदर्शक स्टलहरू रहनेछन् भने दुईवटा विशेष ‘एक्सपेरियन्स जोन’ (अनुभव केन्द्र) को व्यवस्था गरिएको छ। मेलामा स्वदेशी तथा विदेशी कम्पनीहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ।

यस वर्षको एक्स्पोको मुख्य आकर्षण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र अत्याधुनिक प्रविधिमा आधारित वित्तीय सेवाहरूमा केन्द्रित हुनेछ। मेलामा बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक, प्रविधि फर्म, नियामक निकाय, स्टार्टअप, लगानीकर्ता र प्रविधिप्रेमीहरूको ठूलो उपस्थिति रहने अपेक्षा गरिएको छ।

आयोजक स‌ंस्था ‘फ्यान’ का अनुसार तीन दिनको अवधिमा ६ हजारभन्दा बढी अवलोकनकर्ताले मेलाको भ्रमण गर्ने लक्ष्य राखिएको छ। एक्स्पोको औपचारिक उद्घाटन समारोह असोज २३ गते हेरिटेज गार्डेनकै नजिकै रहेको क्लासिक भेन्युमा हुनेछ। मेलाको पहिलो दिन साँझ एक विशेष नेटवर्किङ डिनर आयोजना गरिनेछ जहाँ वित्तीय र प्रविधि क्षेत्रका प्रमुख सरोकारवालाहरूबीच छलफल र सहकार्यका अवसरहरू जुट्नेछन्।

प्रिमियम पास होल्डर र विशिष्ट पाहुनाहरूका लागि उच्चस्तरीय छलफल गर्न प्रिमियम लाउन्जको समेत व्यवस्था गरिएको छ। एक्स्पोमा विभिन्न कम्पनीहरूले आफ्ना नयाँ उत्पादन र सेवाहरू सार्वजनिक (लन्च) गर्ने समेत तयारी गरेका छन्।

एक्स्पोमा सहभागिताका लागि प्रति स्टल ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने फ्यानका सदस्यहरूलाई ५० प्रतिशत छुट दिइने व्यवस्था छ। अन्तर्राष्ट्रिय प्रदर्शकहरूका लागि प्रति स्टल ७५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ।

मेलाको आधिकारिक टिकेटिङ पार्टनर ‘खल्ती’ रहेको छ। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीहरूका लागि ५० रुपैयाँ तोकिएको छ। नेपालको फिनटेक क्षेत्रमा योगदान पुर्‍याउने केही विशिष्ट व्यक्ति र संस्थाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था समेत मिलाइएको छ।

फिनटेक एलायन्स नेपालमा हाल ५३ वटा संस्थागत सदस्यहरू आवद्ध छन्। संस्थाले सीटीओ रिट्रिट, फिनटेक फ्राइडे र फिनटेक सोसल जस्ता पहलहरू मार्फत नेपालको डिजिटल वित्तीय पारिस्थितिकी प्रणाली (इकोसिस्टम) विकासमा सहयोग गर्दै आएको छ। यस एक्स्पोमार्फत नेपालको स्थानीय आविष्कारलाई विश्वस्तरमा चिनाउने र प्रविधि क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ।

थप समाचार

ताजा समाचार