29.1 C
Kathmandu

बजेट कार्यान्वयनमा असफल बन्दै सरकार, ३५ कार्यक्रमको प्रगति शून्य

काठमाडौं । सरकार बजेट कार्यान्वयनमा असफल बन्दै गएको छ । बजेट आएको चार महिनासम्म बजेटले घोषणा गरेको विभिन्न ३५ वटा कार्याक्रममा अहिलेसम्म प्रगति शून्य देखिएको छ । नेपाल सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९÷८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा)मा शून्य प्रगति देखिएको सीएनआईका उपाध्यक्ष हेमराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार पूर्ण कार्यान्वयन भएका बुँदा मात्र ११ (१८ प्रतिशत) रहेको छ । २९ वटा बुँदामा भने आंशिक मात्र कार्यान्वयन भएको बजेट वाचको अध्ययनमा देखिएको छ । यो ४७ प्रतिशत हो ।

चालु आर्थिक वर्ष २०८०÷८१ का लागि भने सीएनआईएले बजेटका कुल ७३ वटा बुँदामा बजेट वाच गर्दैछ । जसमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित प्राथमिकता प्राप्त बुँदा समेटिएका छन् । जसलाई ६ वटा क्षेत्रमा वर्गिकरण गरिएको छ ।

सीएनआईका अनुसार यस वर्ष ऊजा (जलविद्युत), पर्यटन तथा हस्पिटालिटी, सूचना प्रविधि, पूर्वाधार, शिक्षा तथा स्वास्थ्य, कृषि, औषधीजन्य तथा सुगन्धित वनस्पती र खानी तथा खनिज रहेका छन् ।

अपेक्षित विदेशी लगानी भित्राउन पनि सरकार असफल
सरकारले बजेटले लक्षित गरेको कार्यक्रममा वैदेशिक लगानी भित्रन सकेको छैन । सीएनआईका अध्यक्ष राजेश अग्रवाललले बजेटमा राम्रा योजना आएपनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए । बजेट कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्च समेत कमजोर हुने गरेको उनको भनाई छ ।

मुलुकको आर्थिक रुपान्तरणका लागि लगानी बढाउनु पर्ने भन्दै् उनले दीगो विकास लक्ष्यका लागि चाहिने वार्षिक २० खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक क्षमताले नभ्याउने भन्दै विदेशी लगानी चाहिएको उल्लेख गरे । यस वर्षको बजेटमा लगानी प्रवद्र्धनसँग सम्बन्धित ८ वटा बुँदा रहेको र यसको कार्यान्वयन हुनुपर्ने उनको भनाई छ ।

‘बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनबाट विद्यमान अर्थतन्त्रले भोगिरहेको मन्दीको असर, समग्र बजार मागमा आएको कमी, निजी क्षेत्रको घट्दो मनोबलमा सुधार ल्याउन सकिने हाम्रो विश्वास छ,’ उनले भने ।
उक्त अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द कार्कीले चालु आवको पहिलो चार महिनामा प्रणाली सुधार र कानूनी क्षेत्रमा काम भएको जानकारी दिए ।

नेपालमा लगानी गरिरहेका विदेशी लगानीकर्ताको भिसा सहज बनाउन कानूनी रुपमा काम भइरहेको भन्दै उनले विदेशी लगानी सहजीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झण्झटिलो प्रक्रियाकै कारण विदेशी लगानी आकर्षित हुन नसकेको बताए । आफले गैरआवासीय नेपालीलाई नेपालको स्टक मार्केटको दोस्रो बजारमा लगानी गर्ने बाटो बनाउन प्रयासरत रहेको भन्दै यसमा समेत कानूनी अड्चन रहेको प्रसंग निकाले ।

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले बजेटमा उल्लेख बँुदाहरुको कार्यान्वयनमा सबैको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन् । विदेशी लगानी आकर्षित गर्ने सम्बन्धमा रहेका झण्झट हटाउनु पर्ने भन्दै उनले त्यसमा राष्ट्र बैंकले समेत काम गरिरहेको जानकारी गराइन् ।

‘सुधार हामीबीचाबाटै हुनुपर्छ,’ उनले भनिन्, ‘हामी त्यसमै काम गरिरहेका छनैं ।’ गत आवमा मात्रै ७ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक प्रस्तुत गर्दै उनले भनिन्, यो संतोषजनक छैन ।’

पूर्वसचिव शिशिर कुमार ढुंगानाले लगानी सम्बन्धित पोर्टलहरुलाई अपडेट गरी राख्न सुझाव दिए । ती पोर्टलहरुबाटै विदेशी लगानीकर्ताले धेरै सूचना लिने भन्दै उनले त्यसमा ध्यान दिन सरकारलाई सुझाव दिए । उनले ऐन–कानूनमा समसामयिक सुधारको समेत आवश्यकता औल्याए ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार