29.1 C
Kathmandu

कोरोनाको उपचार देशैभर निःशुल्क, सतर्क हुन भने सरकारको अनुरोध

काठमाडौं। सरकारले कोभिड १९ संक्रमितको देशैभर निःशुल्क उपचारका गर्ने भएको छ । यस्तो उपचार गर्न सातै वटा प्रदेशमा अस्पतालहरुको व्यवस्था गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ३१ मा यससम्बन्धी निर्णय गरेको थियो। उक्त निर्णयअनुसार कोभिड संक्रमणको मध्यम र गम्भीर अवस्था भएका बिरामीहरुका लागि देशका सातै प्रदेशमा निःशुल्क उपचारका लागि अस्पताल तोकिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय कोभिड संक्रमितको संख्या पुनः बढ्न थालेको छ। सोमबार मात्र परीक्षण गराएका मध्येबाट ८९५ नयाँ कोभिड संक्रमित थपिएका छन्। यसरी कोभिड संक्रमितहरु बढ्दै गएको अवस्थालाई दृ‌ष्‍टिगत गर्दै सरकारले पूर्वतयारी अनुसार निःशुल्क स्वास्थ्य सेवा दिन अस्पतालको व्यवस्था गरेको हो।

सरकारले सातै प्रदेशमा तोकेका अस्पतालहरुमा कोभिडका बिरामीले निःशुल्क उपचार पाउने मन्त्रालयले जनाएको छ। कोभिड संक्रमितको उपचारवापत ती अस्पतालहरुलाई बिरामीको अवस्थाको आधारमा अनुदान दिने व्यवस्था समेत गरेको मन्त्रालयले जानकारी दिएको छ।

प्रदेश १ मा कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई निःशुल्क कोभिड उपचार अस्पताल तोकिएको छ। मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पतालमा कोभिडका बिरामीले उपचार गराउन सक्ने छन्।

वाग्मती प्रदेशमा पाँचवटा अस्पतालमा कोभिड संक्रमितको उपचारको प्रबन्ध गरिएको छ। यसमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालका साथै चितवनको भरतपुर अस्पताल रहेको छ।

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागीरि अस्पताल बाग्लुङलाई यसका लागि तोकिएको छ। लुम्बिनी प्रदेशमा पनि लुम्बिनी प्रादेशिक अस्पताल र भेरी अस्पतालमा कोभिडका बिरामीको निःशुल्क उपचार हुने भएको छ।

कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालमा यो महामारीबाट संक्रमितले बिनाशुल्क उपचार गराउन सक्नेछन्। सुदूरपश्चिम प्रदेशमा पनि डडेलधुरा अस्पताल र सेती प्रादेशिक अस्पताल यस्ता बिरामीको उपचारका लागि व्यवस्था गरिएको छ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार