23.1 C
Kathmandu

कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर

काठमाडौँ / राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँबराबर कर छलीको आरोपमा विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

यो कर छलीबारे आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले पहिलो पटक न्युज कारोबार अनलाइनमा खुलासा गरेका थिए । उच्च अदालत पाटनका प्रवक्ता ठगिन्द्र कट्टेलका अनुसार विभागले २०७१ सालमा कम्पनीको सेयर विक्री गर्दा भएको लाभको कर नबुझाएको भन्दै कुल ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ बिगो र त्यसको सत प्रतिशत जरिवाना गरेर कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर भएको बताए ।

राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने उल्लेख छ ।

कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागले जनाएको छ । नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ ९२०७७ फागुन ७ गते० कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।

विभागले दायर गरेको मुद्दामा काठमाडौं महानगरपालिका १६ स्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपाल लिमिटेडलाई मुख्य प्रतिवादी बनाइएको छ । बोटलर्स नेपालको सञ्चालक समितिमा उक्त कम्पनीको सेयर होल्डर संयुक्त अरब इमिरेट्सको दुबईस्थित ‘कोकाकोला साउथवेस्थ होल्डिङ लिमिटेड’ र साविकको ‘कोकाकोला साब्को एसिया’को तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरेका व्यक्तिहरुमा कम्पनीका अध्यक्ष शुक्ल वासन, निर्देशकहरु मेल्भिन तान चुन पिन, मोहम्मद अमिन घोनिम, गौरव खोस्ला, सन्दीप बजोरिया, देबव्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोलाई कुप्पुस्वामी र संकित रे रहेका छन् । त्यस्तै कम्पनीको प्रबन्ध निर्देशक तथा आर्थिक कारोबार र लेखा परीक्षणको जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई पनि विभागले मुख्य प्रतिवादी बनाएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डे र पुनीत चन्द्रपाल भर्स्नी, वित्त व्यवस्थापकहरु राजीव टण्डन, भरतबाबु दहाल र सुमित गोयल विरुद्धसमेत मुद्दा दायर गरिएको छ । त्यस्तै, वित्त नियन्त्रक अशोककुमार मण्डल, बोर्ड डाइरेक्टर त्रिलोचन उप्रती र चार्टर अकाउन्टेन्ट संजिव कुमार मिश्रलाई पनि प्रतिवादी बनाइएको छ । बोटलर्स नेपाल लिमिटेडको स्वामित्वमा रहेको सेयर बेच्दा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायलाई जानकारी नै नदिई कर छली गरेको विभागले जनाएको छ ।

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर विदेशी लगानीकर्ता, २२ प्रतिशत सेयर नेपालस्थित खेतान ग्रुपअन्तर्गत गोरखा ब्रुअरी र २ प्रतिशत सेयर सर्वसाधारणको छ । ७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐन, २०५८ अनुसारको २५ प्रतिशत पुँजीगत लाभकर छलि गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।

बोटलर्स नेपालको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई) पनि हो, जसमा बोटलर्स नेपालको ९१ प्रतिशत सेयर छ । बाँकी ९ प्रतिशत सेयर सर्वसाधारणको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार