8.1 C
Kathmandu

ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२६’ बाट ग्लोबल आईएमई सम्मानित, लगातार तेस्रो वर्ष जितेर बनायो ह्याट्रिक

काठमाडौँ । नेपालको अग्रणी वाणिज्य बैंक ग्लोबल आईएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ (Global Finance) द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ (Best Bank Award 2026) बाट सम्मानित भएको छ। बैंकले यो उपाधि जितेसँगै लगातार तेस्रो वर्ष नेपालको उत्कृष्ट बैंक बन्दै ह्याट्रिक समेत पूरा गरेको छ। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित एक विशेष अन्तर्राष्ट्रिय बैंकिङ समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत द्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।

ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवम् सबल जोखिम व्यवस्थापनलाई मुख्य मापदण्ड बनाएर यो सम्मान प्रदान गरेको जनाएको छ।

बैङ्ककको विशेष समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई समेत विभिन्न विधामा पुरस्कृत गरिएको थियो। जसमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी, बङ्गलादेशको सिटी बैंक, र जापानको एमयूएफजी बैंकजस्ता विश्वविख्यात संस्थाहरू समावेश छन्।

पुरस्कार ग्रहण गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यो अन्तर्राष्ट्रिय सम्मानले बैंकलाई आफ्ना ग्राहकलाई अझ उच्चस्तरीय, आधुनिक र भरपर्दो सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको बताए। ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्ड जित्ने ग्लोबल आईएमई बैंक पहिलो नेपाली बैंक समेत हो।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण निरन्तर अग्रस्थानमा रहँदै आएको ग्लोबल आईएमई बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेसनल बैंक २०१६’, ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ (२०२२, २०२४, २०२५) का साथै ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ जस्ता थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू हासिल गरिसकेको छ।

थप समाचार

ताजा समाचार