ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाडौं शिक्षालयले हालैको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगार्थ २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना गर्ने भएको छ। महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा आगामी असोज ३ गते आगामी संविधान दिवसको अवसर पारेर उक्त मानवीय सहायता अभियान सञ्चालन हुन लागेको हो।
मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र सामुदायिक ऐक्यबद्धताको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस र्यालीले विपद्मा परेका परिवारहरूलाई प्रत्यक्ष सहयोग पुर्याउने लक्ष्य राखेको छ। विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाश राज पाण्डेका अनुसार कार्यक्रममार्फत सङ्कलन गरिने राहत तथा सहयोग रकम बाढीपीडित परिवारसम्म पुर्याइनेछ।
इमाडोलस्थित काठमाडौं शिक्षालय परिसरबाट बिहान ७:०० बजे सुरु भई १०:०० बजेसम्म सञ्चालन हुने यस र्यालीमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय साइकलप्रेमी गरी करिब २०० जनाको सहभागिता रहने आयोजकको अनुमान छ। सहभागीहरूको उमेर र क्षमताअनुसार दूरीलाई तीन भागमा वर्गीकरण गरिएको छ, जसअन्तर्गत १० वर्षमुनिका बालबालिकाका लागि १० किलोमिटर, १५ वर्षसम्मका लागि १५ किलोमिटर र अनुभवी साइकलचालकहरूका लागि पूरा २५ किलोमिटर दूरी तय गरिएको छ। २५ किलोमिटरको रुटले महालक्ष्मी नगरपालिकाका १ देखि १० सम्मका सबै वडाहरूलाई समेट्नेछ।
र्याली शिक्षालय प्राङ्गणबाट प्रस्थान गरी कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी पुल, खरिबोट, बोझेपोखरी, टिकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार बसपार्क र सुभतारा स्कुल हुँदै शंखदेवी मन्दिरसम्म पुग्नेछ। त्यसपछि शंखदेवी मन्दिरको भित्री बाटो हुँदै बिसन्डोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका कार्यालय परिक्रमा गरी पुनः काठमाडौँ शिक्षालय परिसरमै पुगेर समापन हुनेछ।
महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुने यस कार्यक्रमले सामाजिक सहयोग र सामुदायिक एकतालाई थप प्रेरणा दिने विश्वास लिइएको छ। “साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यस अभियानलाई सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न विद्यालयले स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय सङ्घसंस्था तथा सम्पूर्ण नगरवासीसमक्ष सहकार्यका लागि आह्वान गरेको छ।

