वाणिज्य बैंकहरूमा माघ लागेपछि निक्षेप संकलन घट्न थालेको छ । पुस समान्तको तुलनामा माघ तेस्रो सातामा आइपुग्दा वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तो निक्षेप माघ लागेपछि १३ अर्बले घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा आइपुगेको छ । यो अवधिमा सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने ६ अर्ब रुपैयाँले बढेको छ ।
निक्षेप संकलन घटेको भएपनि बैंकहरूले कर्जा प्रवाहलाई भने रोकेका छैनन् । पुस मसान्तसम्ममा ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कर्जा ४१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो औसतमा ९०.६० प्रतिशत रहेको छ ।