रुकुम (पूर्व) सिस्ने गाउँपालिका–३ स्थित पाँगा महिला सामुदायिक भवनमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आयोजना गरेको वित्तीय साक्षरता प्रशिक्षण सम्पन्न भएको छ। पाँगा, पोखरा, लागिमलगायत आसपासका बस्तीमा गठन भएका ८ महिला समूहका सदस्य, अभिभावक, स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी तथा कर्मचारी गरी करिब ६० जनाले कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रम सिस्ने–५ मा रहेको संस्थाको शाखा कार्यालय रुकुमकोटको आयोजनामा सम्पन्न गरिएको हो।

तालिममा सहभागीहरूलाई वित्तीय संस्थाको उद्देश्य, सेवा, कर्जा, बचत, बिमा, विप्रेषण, पारिवारिक बजेट, आम्दानी–खर्च व्यवस्थापन, डिजिटल बैंकिङ तथा संस्थाले उपलब्ध गराउने गैर–वित्तीय सेवाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै कर्जा अनुशासन, समूह तथा केन्द्र प्रणाली, बैंकिङ कसुरसम्बन्धी आधारभूत अवधारणामा समेत प्रशिक्षण दिइयो।
कार्यक्रममा शाखामा कार्यरत कर्मचारी मोहनप्रसाद कँडेल, सुनज्योति घर्तिमगर र रमिता हमाल वलीले सहजीकरण गरे। क्षेत्रीय कार्यालय कोहलपुरका व्यवस्थापक ध्रुवराज जोशी र केन्द्रीय कार्यालयका वरिष्ठ व्यवस्थापक जिताराम गौतमले सहजीकरण गर्दै उद्यमशीलता विकासका लागि व्यावसायिकरूपमा अगाडि बढ्न सहभागीलाई प्रोत्साहित गरे।
शाखा प्रमुख हिमाल सुवेदीले स्वागत मन्तव्य दिँदै सहभागीहरूलाई आफ्ना जिज्ञासा, गुनासा तथा सुझाव खुला रूपमा राख्न आग्रह गरेका थिए। सेवा शुल्क, ब्याजदर तथा किस्ता भुक्तानी प्रणालीबारे सहभागीहरूले सोधेका प्रश्नहरूको प्रशिक्षण क्रममा विस्तृत रूपमा जवाफ प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सिकेको ज्ञान दैनिक जीवनमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रुकुमकोट शाखा प्रमुख सुवेदीका अनुसार सिस्ने, भुमे, वाफिकोट, मुसिकोट तथा थवाङ पालिकामा रहेका १०८ केन्द्रमार्फत १,६९० सदस्यलाई १६ करोड ऋण लगानी तथा ५ करोड बचत संकलन भइरहेको छ।
यसैगरी, संस्था देशभरका ७७ वटै जिल्लामा सञ्चालित १८५ शाखामार्फत ४ लाखभन्दा बढी घरधुरीलाई सेवा दिँदै २७ अर्बभन्दा बढी कर्जा लगानी तथा २१ अर्ब बचत कारोबार गरिरहेको केन्द्रीय वरिष्ठ व्यवस्थापक गौतमले जानकारी दिए।

