नेपालमै जन्मिएर हुर्किएर नेपालमै बसि पत्रकारिता र समाजसेवाको धर्म निभाईरहेको परिप्रेक्ष्यमा देशको हाल वेहाल भएको देख्दा रुन मन लाग्छ । नेपाल आमाको दुध पिएको भएर बिग्रिएको, भत्किएको, भसिएको, नासिएको देशमा बस्न बाध्य छौ । जताततै निराशाको आगो बल्दा पनि विवश भई टुलुटुलु हेरेर बस्नु परेको छ । खाउँ भने खान मन लाग्दैन नखाउँ भने बाँच्न सकिदैन । गुन गाउनेहरूले बदला लिन थाले, आफ्नो पराई भए, पराई आफन्त । मित्रहरू शत्रु भए, शत्रुहरू मित्र । यस्तै यस्तै दैनिकी हेर्दै जीवन बिताउँदै छौँ । पैसा नभएपछि सबै आफन्त पराई हुँदा रहेछन् भन्ने ज्ञान बल्ल प्राप्त भयो । तर पैसा साधन हो साध्य होइन भन्ने हाम्रो मान्यता रहेको छ ।
यो भूमिका बाँधेको होइन, यसको पछाडि देश लुकेको छ, राजनीति र समाजसेवा छिपेको छ । राजनीति र समाजसेवा भित्र हामी लुकेका छौँ, हामी भित्र राजनीति । राजनीति भाँडानीति, राँडनीति, र साँडनीति तिर गइरहेको देख्दा आश्चर्यचकित छौँ । कहिले नसुध्रिने तिन नीतिहरूले देश भड्खालोमा गएको अनुभव हुदैछ । देश नै नरहे हामी कसरी बाँच्ने, कहाँ रहने, के खाने, कहाँ सुत्ने आदि मानवीय मूल्य र मान्यता हराउँदै गएको देख्दा उदेक लाग्छ । धनी गरिब, गरिब धनी, पाजिकाजी, काजीपाजि, हुन पुग्दा र मानिआएको संस्था विद्यमान नहुँदा गुनासो गर्ने ठाउँ बन्द भएको छ । मन भित्र धेरै कुराहरू खेलिरहेको छ, तर भन्ने कसलाई, सुन्ने कसले ? परिवारलाई सुनाउने कुरा भएन देशले सुन्दैन किनकी देश बहिरो भइसकेको छ । देश भित्र समस्यै–समस्याको थुप्रो छ, बन्चरेडाँडामा जस्तै डुङडुङ गन्हाईरहेको छ, बस्न नसक्ने भइसकेको छ । अर्काको देशमा जान भिसा चाहिन्छ । भिसाकै कुरा गर्दा उच्च ओहदामा बस्ने मानिस नै विवादमा परेको देखिएको छ, रोदन, क्रन्दन गरेर भए पनि चोखिन लागि परेको देखिन्छ ।
सिमलतालमा बस खसेर बेपत्ता हुँदा पनि सरकार मौन छ, बेखबर छ, सत्ताको लुछाचुँडीमा व्यस्त छ । राज्य छ तर जनताका लागि नभइ केवल कुर्सीका लागि मात्र छ । पदका लागि मरिहत्ते गरिदैछ । अर्थतन्त्र तहसनहस भइसक्दा पनि सरकार ढाकछोप मै व्यस्त छ । वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दा पनि सरकार चिर निन्द्रामा सुतको छ । विदेश गएकाहरू पनि बाकसमा बन्द फर्किएका छन्, परिवारहरूको विचल्ली भएको छ तर सरकार मौन छ ।
सबै दलहरूलाई कुर्सी चाहिएको छ, कुर्सी भाँची सक्दा पनि त्यही कुर्सीमा अन्धो मानिस झैँ बसिरहेका छन् । दलहरू पदको होडबाजीमै लिप्त् छन् । जनतालाई दिएको बचन केवल भनाइमा मात्र सीमित छ । बोल्ने र गर्नेमा अन्तर छ । तर सुन्ने कसले ? समग्रमा भन्नुपर्दा देश बत्ती काटिएको अवस्थामा छ । नागरिकको अस्मीता लुटिएको छ, सिंदुर पुछिएको छ, तर सरकारको उपस्थिति पटक्कै देखिएको छैन ।
न्यायालय सेटिङ्गमा चलेको छ, पैसा हुनेले न्याय पाएका छन्, नहुनेले न्याय पाउन गोरखा जानु पर्ने बाध्यता छ । कार्यपालिका र व्यवस्थापिकाको हालत पनि दर्दनाक छ । सांसदहरु संसदमा गएर भुकिरहेका छन् केवल आफ्नो दुनो सोझ्याउन, मानौ सडक मानिस जस्तै । बलत्कारको घटना बड्दैछ । सन्दिप लामिछानेहरु जस्ता अनहाकमा फस्दै छन्, न्यायालय अन्धो भइसकेको छ । चोर साधु, साधुचोर हुँदा पनि जनताले चोरकै पक्षका हुँकार गर्दैछन् । सत्य हारेको छ, सत्य हार्दा चन्द्र भण्डारी जस्ता इमान्दार नेता ओझेलमा परि पिल्सीरहेका छन् । आगोले डढेर बाँच्दा पनि चन्द्र भण्डारी जस्तो ईमान्दार नेताको क्रन्दन र चित्कारलाई आफ्नै पार्टिले बन्द गरिदिएको छ । जे नहुनु पर्ने त्यो नेपाल मै भएको छ । नेपाल रमितेको देश भएकोछ । पशुपतिनाथ रोहिरहदा धर्म परिवर्तनकारीले पशुपति कै जग्गामा चिहान बनाउन विक्रि गरिदिएका छन् । देख्ने आँखा, सुन्ने कान र बोल्ने मुख समेत बन्द गरिदिएपछि यो देशका मानिस मुकदर्शक हुन बाध्य छन् । मौनतामा रमाईरहेका छन् । कस्तो विडम्बना ! कस्तो आश्चर्य ?
विर गोरखालीका सन्तती हामी होइनौ, हामी त लाछिका सन्तान हौँ । कालु पाँडे, बलभद्र थापा, भिमसेन थापाका देनहरु भित्तामा मात्र सीमित गर्ने नेपाली हौँ, त्यसैले विरको संज्ञा लाछिमा सीमित भएको छ । यो देशको राजनीति लाजनीतिमा परिणत भई विश्वास र अविश्वासमा अल्झिरहेको छ । कसैले विस्वास लिएर कुर्सीमा टाँसिइरहेका छन् त कोहि विस्वासको मत नपाएर ढलिसकेका छन् । राजनीति केवल कमाईखाने भाँडो भएको छ । जनप्रतिनीधि धनप्रतिनीधि भएका छन् । गिरिवन्धु, भुटानी शरणार्थि, सुन प्रकरण, ललितानिवास हासिरहेका छन् । ठुलाठुला नेताहरु काण्डै काण्डमा परेर जेलको चिसो हावा खाईरहेका छन् ।
छिमेकी मुलुक भारतमा मोदी सरकार जित्दा पनि हामीमा चेत खुलेको छैन, आत्मरतिमा रमाईरहेका छौँ । पैसा नै सवैथोक हो, पैसा भएपछि जन्मदिने आमाबाबुलाई वृद्धाश्रममा राख्ने देखि मार्नसम्म पछि नपर्ने हामी निर्दयी प्राणी भएका छौँ । धर्म, कर्म हाम्रा लागि गौण विषय हो । हामीहरुलाई हिन्दु र हिन्दु राष्ट्रका जनता भन्ने गरिन्छ, तर हामीमा हिन्दुत्व नै छैन । यो संसारमा गर्न नसकिने केहि छैन, मेयर बालेन शाहलाई हेरे पुग्छ । एउटा ईन्जिनियरले राजधानीको मुहार फेरिदिएका छन् । तर बालेन शाह जस्तो मानिसको नै खुट्टा तानी काममा अवरोध पु¥याउने नेपालीको परम्परा नै भएको छ । दलगत भागबन्डाले गर्दा बालेन शाह जस्तो काम गर्ने मेयरलाई ओझेलमा पार्न खोजिदैछ, जुन कुरा सम्भव छैन । बालेन शाह जस्तो एक जना केहि गरौ भन्ने मनमा हुटहुटी भएको मानिस यो देशमा भईदिएको भए देश सिंगापुर बन्ने थियो, दुर्भाग्य नेपाल त सिंगानपुर पो भएछ !
यो देशमा जिउँदो राजनेता नहुँदा देश भड्खालोमा परिसकेको छ तापनि नेपाली जनताले राजनेता होइन घुस्याहा, नालायक, दरिद्र मानिसलाई मात्र राजनेता बनाउन बाध्य भएका छन् । त्यसैले आऊ नेपाल आमालाई रुनबाट बचाउँ, नेपाल आमाको भिजेको आँशु पुछ्न एउटा वीरलाई राजनेताको रुपमा स्थापित गरौँ । यसो गरेमा मात्र नेपाली जनताको भाग्य र भविष्य बन्नेछ, होइन भने भिरबाट खस्ने गोरुलाई राम राम मात्र भन्न सकिन्छ काँध थाप्न सकिदैन ।