23.1 C
Kathmandu

बालमन्दिर जग्गा प्रकरण 

अदालतबाट पक्राउ गर्न अनुमति लिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्साल, काठमाडौँस्थित नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणसँग जोडिएकाहरूलाई हिरासतमा लिने तयारी अघि बढाएको छ। काठमाडौँ जिल्ला अदालतले बिहीबार यो प्रकरणमा जोडिएका २० जनालाई पक्राउ गर्न सीआईबीलाई अनुमति दिएको थियो। पक्राउ पुर्जी जारी गरिएकाहरूमा बाल सङ्गठनका तत्कालीन पदाधिकारी र बाल सङ्गठनको जग्गामा निजीक्षेत्रको विद्यालय सञ्चालन गरिरहेका व्यापारिक घरानाका सदस्यसम्म छन्।

 बाल सङ्गठनका तत्कालीन पदाधिकारीले नक्सालस्थित अनाथ तथा सहारा विहीन बालबालिकाका लागि जोहो गरिएको बालमन्दिर परिसरको २८ रोपनी ५ आना १ पैसा जग्गा लिजमा दिने निर्णय गरेका थिए। त्यो जग्गामा अहिले व्यापारिक घराना विशाल ग्रुपको अधिकांश स्वामित्व रहेका बृहस्पति स्कुल र राय स्कुल सञ्चालन भइरहेका छन्। बाल सङ्गठनसँग जग्गा लिज सम्झौता भने बृहस्पति स्कुलले गरेको थियो। त्यो जग्गा उसले नै राय स्कुललाई सब लिजमा दिएको थियो। गत वैशाख १४ गते जग्गा लिज सम्झौता नै गैरकानूनी रहेको ठहरसहित बाल सङ्गठनले सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। त्यसपछि, गत मंगलबार सङ्गठनले बृहस्पति विद्या सदन र सङ्गठनबीच भएका जग्गा लिज सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति तथा बृहस्पति स्कुलका सञ्चालकहरू विरुद्ध सीआईबीमा जाहेरी दिएको थियो। 

बिहीबार अदालतले जारी गरेको पक्राउ पुर्जीअनुसार सीआईबीले बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, विभिन्न कालखण्डमा सङ्गठनका महासचिव रहेका श्यामकुमार आले, प्रचण्डराज प्रधान, गणेशभक्त श्रेष्ठ, रामकाजी कोने र सुवासकुमार पोखरेललाई पक्राउ गर्न अनुमति पाएको छ। त्यस्तै, बाल सङ्गठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य कृष्णशंकर साहविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।  प्रहरीले बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरूषोत्तमराज जोशी, श्रद्धा संघई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई समेत पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ। २०४८ सालमा रीता सिंह वैद्य बाल संगठनको अध्यक्ष बनेपछि नै जग्गा लिजमा दिने चलखेल शुरु भएको थियो। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी पुत्री रीतालाई राजनीतिक नियुक्तिबाट बाल संगठनको अध्यक्ष बनाइएको थियो। उनी २०७७ सालसम्म बाल सङ्गठनमा निरन्तर अध्यक्ष रहिन्।

बाल संगठन र बृहस्पति स्कुलबीच २०४९ माघ २७ गते पहिलोपटक ९ रोपनी जग्गा लिजसम्बन्धी सम्झौता हुँदा सङ्गठनका तर्फबाट महासचिव श्यामकुमार आलेले हस्ताक्षर गरेका थिए। त्यस्तै, सङ्गठनका तर्फबाट अञ्जु, बस्नेत, राजेन्द्रमान जोशी, प्रमोद पौडेल साक्षी बसेका थिए। सम्झौतामा बृहस्पतिका तर्फबाट चिरञ्जीवी तिवारीले हस्ताक्षर गरेका छन् भने पुरूषोत्तमराज जोशी, मधुर शर्मा र मुरारी तिवारी साक्षी बसेका छन्। २०५३ सालको जग्गा लिज सम्झौतामा सङ्गठनका तर्फबाट महासचिव प्रचण्डराज प्रधानले हस्ताक्षर गरेका छन् भने साक्षीको नाम स्पष्ट छैन। बृहस्पतिका तर्फबाट चिरञ्जीवी तिवारीले नै हस्ताक्षर गरेका छन्। पुरूषोत्तमलाल जोशी साक्षी बसेको देखिन्छ। अहिले चिरञ्जीवी तिवारीको निधन भइसकेको छ। २०५८ जेठ २ गतेको जग्गा लिज सम्झौतामा बाल सङ्गठनका तर्फबाट महासचिव गणेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन्, योगेन्द्रबहादुर शाही साक्षी बसेका छन्। सम्झौतामा बृहस्पतिका तर्फबाट पुरूषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन् भने साक्षीहरूको नाम स्पष्ट छैन।  २०५९ भदौ ११ गते १३ रोपनी १२ आना १ पैसा जग्गाका लागि भएको लिज सम्झौतामा बाल सङ्गठनका तर्फबाट महासचिव रामकाजी कोनेले हस्ताक्षर गरेका छन्। बाल सङ्गठनका केन्द्रीय कार्यसमिति सदस्य मनोहरगोपाल श्रेष्ठ, शाखा प्रमुख टीकामणि न्यौपाने साक्षी बसेका छन्। बृहस्पतिका तर्फबाट भने पुरूषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन्, साक्षीहरूमा प्रिन्सिपल आनन्द गुरुङ, प्रमुख प्रशासक मुरारीनिधी तिवारी र शैक्षिक संयोजक रोहितरत्न प्रधान छन्।

२०७२ जेठ २१ गते बाल सङ्गठन र बृहस्पतिबीच पूरक सम्झौता र मिलापत्र गर्ने सम्बन्धमा भएको समझदारीपत्रमा सङ्गठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यले नै हस्ताक्षर गरेकी छन्। त्यो सम्झौतामा सङ्गठनका तर्फबाट कोही पनि साक्षी बसेका छैनन्। समझदारीपत्रमा बृहस्पतिका तर्फबाट पुरूषोत्तमराज जोशीले हस्ताक्षर गरेका छन्। त्यसबेला बृहस्पतिका तर्फबाट पनि कोही साक्षी बसेका छैनन्। सोही समझदारीपत्रको आधारमा २०७२ साउन ३ गते भएको संशोधनसहितका पूरक सम्झौतामा बाल सङ्गठनका तर्फबाट रीता सिंह वैद्यले नै हस्ताक्षर गरेकी छन्। सम्झौतामा सङ्गठनका तर्फबाट उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव सुवासकुमार पोखरेल, कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ, सदस्य एवं स्रोत व्यवस्थापन तथा परिचालन उपसमितिका संयोजक कृष्णशंकर साह साक्षी बसेका छन्। सम्झौतामा बृहस्पतिका तर्फबाट पुरूषोत्तमलाल जोशीले हस्ताक्षर गरेका छन् भने बृहस्पतिका सञ्चालक प्रवीणराज जोशी, प्रिन्सिपल सुमन थिङ लामा, परीक्षा संयोजक रोहितरत्न प्रधान, लेखा अधिकृत उत्तमराज विष्ट र प्रशासनतर्फका अधिकृत विनोदप्रसाद बडाल साक्षी बसेका छन्। सोही सम्झौताबाट बृहस्पतिले संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा २१३२ सालसम्मका लागि भोगचलन गर्ने अधिकार पाएको थियो।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार