काठमाडौं । भ्रष्टाचारविरोधी आन्दोलनका कारण अवरुद्ध जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अन्तरिम सरकारले शुक्रबार मध्यावधि निर्वाचनको मिति तोकेसँगै मुलुकमा शान्त वातावरण फर्किँदै गएको हो।
शनिबारदेखि काठमाडौं उपत्यकामा कर्फ्यु हटाइएपछि बजार, पसल र यातायात फेरि सञ्चालनमा आएका छन्। सडकमा सवारीसाधनको चाप बढ्न थालेपछि ट्राफिक प्रहरीले नियमित व्यवस्था मिलाउन थालेका छन्। भीडभाड बढेसँगै दैनिक क्रियाकलापमा समेत सहजता फर्किएको देखिन्छ।
आइतबारदेखि सरकारी कार्यालयहरूले सेवा सञ्चालन गर्ने तयारी गरेका छन्। क्षति नभएका कार्यालयले सेवा सुरु गर्ने र प्रभावित कार्यालयमा सरसफाइ तथा वैकल्पिक व्यवस्था मिलाइने भएको छ। यसैबीच, सर्वोच्च अदालतले पनि आइतबारदेखि बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सुनुवाइ पुनः सुरु गर्ने निर्णय गरेको छ।
शैक्षिक संस्थाहरू पनि आइतबारदेखि खुल्ने भएका छन्। विद्यालय, कलेज र विश्वविद्यालयले पठनपाठन अघि बढाउने तयारी गरेका छन्। यद्यपि, क्षति पुगेका केही शैक्षिक संस्थामा पठनपाठन नियमित हुन केही दिन लाग्ने अनुमान गरिएको छ।
काठमाडौं महानगरपालिकाले शैक्षिक संस्था आइतबारदेखि सफाइ गर्न र सोमबारदेखि कक्षासँगै विद्यार्थीलाई मनोसामाजिक परामर्श प्रदान गर्दै पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ।

