काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा अवरुद्ध गर्ने आन्दोलन फिर्ता लिएको छ। सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार साँझ संघ र सरकारबीचको वार्तापछि स्थगित गरिएको हो।
स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा संघका पदाधिकारीहरू र सरकारतर्फबाट स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी थिए। छलफलमा चिकित्सकहरूको मुख्य माग र चासोलाई लिएर विस्तृत रूपमा बहस भएको थियो।
चिकित्सक संघले पछिल्ला दिनहरूमा उपभोक्ता अदालतले सुनाएका फैसलालाई स्वास्थ्य क्षेत्रमाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै विरोध जनाएको थियो। संघका अनुसार, ती फैसलाले नेपाल मेडिकल काउन्सिलको स्वायत्त अधिकारमाथि प्रश्न उठाएको छ।
उपभोक्ता अदालतले ओम अस्पताल, हिमाल अस्पताल र ग्रान्डी सिटी अस्पतालसँगै संलग्न चिकित्सकहरूलाई उपचारमा लापरबाही गरेको भन्दै बिरामीका परिवारलाई लाखौं रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो।
संघले यस्ता फैसलालाई न्यायिक सीमाभन्दा बाहिरको कदम ठहर गर्दै उपभोक्ता ऐन र मुलुकी फौजदारी संहिता संशोधन गर्नुपर्ने माग राखेको छ। आन्दोलन स्थगित भएसँगै अब यस्ता कानुनी विषयमा छलफल गरेर अघि बढ्ने सहमति भएको बताइएको छ।
संघका एक पदाधिकारीले भने, “हामी चिकित्सा पेशाको गरिमा जोगाउन कानूनी प्रक्रियामार्फत अघि बढ्नेछौं। सरकारसँगको समझदारीले सेवा अब अवरुद्ध हुने छैन।”
यससँगै सोमबारदेखि अवरुद्ध रहेका देशभरका अस्पतालका नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आउने भएका छन्।