29.1 C
Kathmandu

वृद्धको चाहना

त्यो शारीरिक सुस्तता-शिथिलता मस्तिष्कमा व्यग्रता ,
लड्थ्यौ बेथितिका विरुद्ध पहिले खोज्छौ उहीँ तीव्रता ,
भित्री सोच छ वेगवान् तन भने निष्प्राण पाषाण झैं,
तिम्रो त्यो मनको विचार गतिलो सुन्दैन यो लोक नै ।१

आफ्ना सन्तति मार्फतै सब कुरा सुनाउने सोच्दछौ,
यात्रा जीवनको छ आखिरतिरै इच्छा ठूलो राख्दछौ,
तिम्रो त्यो परिपक्व चेतन सदा लागू गरोस् लोकले,
न्यायान्याय नितान्त शुद्ध मनले पर्गेलियोस् सोखले ।२

कस्तो शान्ति सुधार उन्नति यहाँ खोज्छौ तिमी वृद्ध छौ,
तिम्रो स्वस्थ विचार देख्छु बलियो आशा सधैं गर्दछौ,
चिन्ता देख्छु अझै विकास गतिलो निर्धक्क होस् भन्दछौ ,
सारा भाव म बुझ्छु भित्र मनमा सन्तोष होस् ठान्दछौ ।३

नि:स्वार्थी अब को छ राष्ट्रभरमा उहीँ बनोस् शासक,
गर्ला दु:ख सबै निवारण उहीँ बन्ला व्यथा नाशक,
तिम्रो स्वस्थ विचारमा मुलुकले फेर्नेछ है काँचुली,
यस्ता वृद्ध विचारबाट सहजै भाग्लान् कुकर्मी ढली । ४

(शार्दूलविक्रीडित छन्द)

-कर्जन्हा न पा २, बाबाताल रोड, बन्दिपुर (सिराहा)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार