29.1 C
Kathmandu

१५ वर्षदेखि सांसद खड्काको कब्जामा रहेको स्काउटको जमिन प्रशासनको नियन्त्रणमा

काठमाडौँ । नेपाली कांग्रेस सांसद दीपक खड्काले विगत १५ वर्ष देखि कब्जामा लिएको लैनचौरस्थित स्काउटको जमिन र भवन जिल्ला प्रशासन कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको छ । बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, लैनचौर प्रहरी वृत्तका डीएसपी सत्यनारायण थापा र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्याम तिवारीलगायतको टोलीले उक्त जमिन नियन्त्रणमा लिएको हो ।

२०६५ मा खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँगसम्झौता गरी ३ रोपनी जमिन १० वर्षका लागि भाडामा लिएको थियो । स्काउटसँग ३ रोपनी जमिन भाडामा लिए पनि उनको कम्पनीले स्काउटको थप ९ रोपनी जमिन कब्जा गरेर व्यवसायीक रुपमा भाडामा लगाएको थियो । स्काउटसँगको सम्झौता २०७५ मै सकिए पनि उनको कम्पनीले उक्त जमिन फिर्ता गरेको थिएन । जमिन फिर्ता नआएपछि स्काउटले २०७५ माघ १० मा खड्काको कम्पनीलाई जग्गा खाली गराउन निर्देशन दिएको थियो । त्यसपछि स्काउटको उक्त जग्गासम्बन्धी विवाद जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटनसम्म पुगेको थियो । काठमाडौं जिल्ला अदालतले कम्पनीकै पक्षमा आदेश दिए पनि २०७९ असार १३ मा उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गर्दै स्काउटको पक्षमा फैसला गरेको थियो। दुई वर्षअघि स्काउट खड्काको कम्पनी विरुद्ध अदालत पुगेको थियो । उच्च अदालत पाटनले जमिन फिर्ता गर्नुपर्ने फैसला सुनाएको थियो । तर पनि खड्काको कम्पनीले जमिन फिर्ता गरेका थिएनन । त्यतिमात्रै होइन सांसद खड्काको कम्पनीले स्काउटलाई भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ समेत भुक्तानी गरेको छैन।

जग्गा फिर्ता दिन स्काउटले पटकपटक आग्रह गरे पनि अटेरी गरेर कानुनविपरीत नियन्त्रणमा लिइरहेको देखिएपछि प्रशासनले सिल गरेर सरकारी जग्गा आफ्नो नियन्त्रणमा लिएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासन अनुसार हडपिएको जमिन नियन्त्रणमा लिएर प्रहरीको सुरक्षामा राखिएको छ । प्रक्रिया पूरा गरेर उक्त जग्गा स्काउटलाई नै हस्तान्तरण गरिने प्रशासन कार्यालयले जनाएको छ ।

 

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार