28.1 C
Kathmandu

मानिसको मुख्य आहार शाकाहार 

मान्छे आफ्नो व्यक्तिगत इच्छा वा खाद्य संस्कृतिअनुसार दैनिक विभिन्न परिकारको छनोट गरी खाने गर्छ । जहाँसम्म स्वादिष्ट परिकारको छनोटको कुरा छ, विश्वभरि माछामासुलाई अत्यन्त स्वादिष्ट एवं बलवर्द्धक खानेकुराको रुपमा खाने गरिन्छ । अरु बेला नखाए पनि सुत्केरी हुँदा वा भर्खरै बिरामी भएर तंग्रिँदै गर्दा मासुजन्य खानेकुरा खाने वा खुवाउने चलन हाम्रो समाजमा पहिलेदेखि चलिआएको छ । तर यसको सहज पहुँच हुनेखाने सम्पन्न वर्गका लागि बढी हुन्छ । जसकारण आम मानिसको दैनिक भोजनमा दाल, भात, तरकारी अर्थात् वनस्पतिजन्य भोजनको प्राधान्यता रहेको हुनसक्छ । अर्थात् मासुजन्य परिकार साताको एक दिन, कुनै चाडपर्व विशेष खाने आहार भएको छ । र, शाकाहार हाम्रो जीवनको मूल आहार बनेको छ ।

आजभन्दा करिब १२ देखि १३ हजार वर्षअघि हाम्रा पूर्वजलाई दैनिक सिकार गरेर आफ्नो पेट भर्न सम्भव हुँदैन थियो । त्यसैले आदिम युगमा हाम्रा पुर्खाको खान्कीमा सिकार भन्दा खोजेर ल्याएका कन्दमूल बढी हुने गर्दथ्यो । अर्को शब्दमा उनीहरु सिकारी (हन्टर) कम ज्यादा संग्रहक (ग्यादरर) भएको हुनुपर्छ । दूध, मासु, अण्डाको सेवन त्यसबेला सम्भव थिएन । पशुपालनको आधुनिक युगसँगै यी कुरा खान सुरु भयो । औद्योगिक क्रान्तिपछि मासुजन्य पदार्थको औद्योगिक उत्पादन र भण्डारण सम्भव भयो । मानिसको आम्दानी वृद्धिसँगै मासुजन्य खाद्यपदार्थको माग विश्वभरि बढ्यो । २१ औं शताब्दीसम्म आइपुग्दा मासुजन्य खानेकुराको खपत अत्यधिक हुन थालेको छ । मासु धेरै खाँदा मोटोपन र दीर्घरोगको समस्या बढ्न थाल्यो ।

पूर्वीय होस् वा पश्चिमी सभ्यता, शाकाहार वा मांसहारको पक्ष विपक्षमा प्राचीनकालदेखि मानिसका आआफ्ना धारणा छन् । मान्छे पूर्णत: शाकाहारी हो वा मांसहारी ? यसको दाबी गर्न नसके पनि मान्छेको शारीरिक बनावट, पाचन प्रणाली, अनि भावनात्मक वा आत्मिक चेतनाको अवस्थाले शाकाहार नै मानिसको मूल भोजन हुनुपर्ने देखिन्छ । मान्छेको पाचननली लामो (अधिकतममिटर) हुन्छ । तर पेटको अम्लीयता मांसाहारी प्राणीभन्दा कम (४–५ पीएच) हुन्छ । यसको अर्थ हो, मांसाहार भोजन गर्ने प्राणीको आन्द्राको लम्बाइ छोटो हुन्छ । जस्तो, बाघ, भालुको आन्द्रा छोटो हुन्छ । मानिसको आन्द्रा धेरै लामो हुन्छ । हामीले खाने कुनै पनि खानेकुरा पचाउन त्यो लामो प्रक्रियाबाट गुज्रिनुपर्ने हुन्छ । जसले छिटो मासु पचाउन सकिँदैन ।नङ अनि दाँतको बनावट जनावरको भन्दा सानो आकारको हुन्छ । जसले गर्दा आफैँले सिकार गर्ने र मासु पचाउने क्षमता कम हुने देखिन्छ । यही हिसाबले पनि मासु मानव शरीरको लागि अनुकूल र सही छैन भन्ने तर्कहरू धेरै छन् । यी त भए जैविक पक्ष । यसबाहेक आफैं मरेको जीव नखाने, प्राणीलाई सकेसम्म मार्न नचाहने, कसैले हत्या गरेको देख्दा दुःखी हुने वा भावनात्मक रुपमा पीडा महसुस गर्ने मानिसका शारीरिक एवं मानसिक स्वभावका कारण पनि शाकाहार नै सहज वा प्राकृतिक खानपान हुनुपर्छ ।

यसो भए पनि अहिलेको युगमा शाकाहारीहरू भारत बाहेकका देशमा अल्पसंख्यामा छन् । वर्ल्ड एनिमल फाउन्डेसन अर्गनाइजेसनका अनुसार विश्वव्यापी रुपमा हेर्ने हो भने २२ प्रतिशत मात्र शाकाहार छन् । अमेरिका, अस्ट्रेलिया जस्ता मुलुकमा मात्र करिब तीन प्रतिशत जनसंख्या शाकाहार रहेका छन् । मासुको स्वादले मानिसलाई यस्तो लोभ्यायो कि अमेरिकाका बासिन्दा प्रतिव्यक्ति औसतमा करिब २५२ पाउण्ड मासु सेवन गर्छन् । विश्वमा धनी कहलिएका मात्र होइन, कम विकसित मुलुकमा पनि उनीहरू आर्थिक विकाससँगै मासुको खपत बढेको देखिन्छ ।

अर्कोतर्फ,शाकाहारवाद (भेजेटेरियनिजम) प्रति मानिसको आकर्षण पनि कम भएको छैन, बरु बढ्दो छ । शाकाहारी एउटा दर्शन अनि चलन चाहिँ पुरानो हो । पूर्वीय दर्शनमा शाकाहारलाई अहिंस्रक (काटमार नगर्ने) जीवनशैलीको एउटा अभिन्न पक्षको रुपमा लिने गरिन्छ । साथै, मासु तामासिक भोजन हो । यसले हाम्रो आवेग, क्रोध, रिस, उत्तेजना बढाउँछ । जापान जस्तो मांसहारीको बाहुल्य भएको देशमा पनि त्यहाँको पारम्परिक भोजनमा शाकाहारलाई प्राथमिकता दिइन्थ्यो । पूर्वीय समाजमा मात्र होइन, छैटौं शताब्दीका ग्रीकका दार्शनिक एवं गणितज्ञ पाईथागोरस मांसाहारको विपक्षमा उभिएको पाइन्छ । अरु कुरा जस्तै शाकाहारलाई हेर्ने वा अपनाउने दृष्टिकोण समय अनुसार परिवर्तन हुँदै आएको छ । त्यसैले सबै शाकाहारहरु एकै धारणा वा मान्यता बोकेका हुँदैनन् । 

नेपाल, भारतमा शाकाहारी भनेको माछामासु नखाने तर दूध दही खानेहरुलाई बुझाउँछ । अङ्ग्रेजीमा यस्तो शाकाहारलाई ‘लक्टोभेजिटेरियन’ भनिन्छ । आजभोलि अण्डालाई पनि शाकाहारी मानेर खाने चलन पनि सुरु भएको छ । पश्चिमी मुलुकहरूमा वनस्पतिजन्य खानेकुरा मात्र खाने, कुनै पनि प्राणीजन्य पदार्थ (दूध, घिउ, चीज लगायत) नखाने पूर्ण शाकाहारी वा भेगन संस्कृतिको लोकप्रियता बढ्दो छ । जहाँसम्म शाकाहार बन्ने कुरा छ, प्रत्येक व्यक्ति, परिवार वा समाजको त्यसलाई अपनाउने आ–आफ्नो प्रेरणा हुन सक्छ । भारत, नेपाल जस्तो हिन्दु बाहुल्यता भएको देशमा शाकाहारको मूल प्रेरणा वा कारण पारिवारिक वा सामाजिक सांस्कृतिक निरन्तरता, धार्मिक वा आध्यात्मिक चिन्तन हुनसक्छ । र, केहीमा जनावरप्रतिको करुणा पनि कारण हुनसक्छ भने पश्चिमी समाजमा यो व्यक्ति विशेषको स्वास्थ्य चेतना, जनावरप्रतिको करुणा वा नैतिक जिम्मेवारी, वातावरण संरक्षणप्रतिको बढ्दो सचेतनाको प्रतिविम्ब हुनसक्छ ।

भोजन हाम्रो जीवनको आधारभूत आवश्यकता र अधिकार हो भन्नुमा दुई मत नहोला । किनकि त्यसमा भएका पोषक तत्त्वहरू शरीरले पाउँदा हाम्रो शरीरको वृद्धि, विकास, मर्मत र सञ्चालन सम्भव हुन्छ । अर्कोतर्फ, अस्वस्थकर अनि अपाच्य भोजन कैयौँ रोगका कारण पनि बन्न सक्छ । त्यसैले कस्तो भोजनबाट शरीर स्वस्थ भएर दीर्घजीवन जिउन सम्भव हुन्छ, यो एक चिन्तन, मनन अनि अनुसन्धानको विषय बनेको छ । विभिन्न अध्ययन अनि अनुसन्धानहरूको नतिजाले शाकाहार हुँदा मोटोपन कम गर्न, हृदयरोग अनि मधुमेहबाट बच्न निकै सहयोगी हुने देखाउँछ । अन्तर्राष्ट्रिय पोर्टल नेसनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एक रिपोर्ट अनुसार मांसाहारी (नन भेजेटेरियन) भन्दा शाकाहारीहरुमा हृदयरोग हुने जोखिम २९ प्रतिशत कम हुने देखाएको छ । शाकाहार भोजनबाट प्राप्त हुने भिटामिन सी, रेसादारबाट फाइबर, अनि फाइटोकेमिकल (वनस्पतिबाट प्राप्त फाइटोकेमिकलले कोषिकालाई वातावरणीय विषाक्त पदार्थहरू र शरीरको प्राकृतिक रासायनिक प्रक्रियाबाट हुने क्षतिबाट बचाउँछ) शरीर स्वास्थ्य राख्न, बूढोपन घटाउन अनि उमेरसँगै आउने रोगसँग लड्न नभई नहुने तत्व हुन् ।

संसारका सय वर्षभन्दा बढी बाँचेका ९० प्रतिशतको भोजन शाकाहारी हुने गरेको छ । वनस्पतिको उत्पादनबाट जरा, पात, फूल, फल, गानो (टुबर) विभिन्न रङ अनि फरक फरक ढंगमा परिकार बनाएर खाने गरिन्छ । तीतोमा करेलादेखि गुलियोमा सखरखण्ड एउटै थालीमा खान सकिन्छ । शाकाहारको अर्को अत्यन्त महत्वपूर्ण पक्ष वनस्पतिमा पाइने रेसादार तत्व (फाइबर) हो, जुन हाम्रो पेटको तल्लो भाग (कोलोन) मा बस्ने सूक्ष्म जीवाणुको सन्तुलित बनावट विकासका लागि आवश्यक हुन्छ । यसको प्रभाव हाम्रो शरीरिक र मानसिक स्वस्थ्यमा पर्छ । नपच्ने फाइबर पेटको कब्जियत हटाउन नभई नहुने भएकाले पनि प्रशस्त सागपात, फलफूल खानुपर्छ । किनकि यी तत्व मासुजन्य परिकारमा पाइँदैन । शाकाहारी हुँदैमा शरीर स्वस्थ र दीर्घजीवी हुने भन्ने चाहिँ होइन । शरीरलाई नभई नहुने कतिपय अत्यावश्यक एमिनो एसिड (इसेन्सियल एमिनो एसिड) अनि चिल्लो पदार्थ शाकाहारी परिकारमा उपलब्ध हुँदैन, भए पनि अत्यन्त कम हुन्छ ।
जस्तै,  भिटामिन बी १२, भिटामिन डी, ओमेगा ३ (मस्तिष्क विकासमा नभई नहुने ईपीए अनि डीएचए फ्याटी एसिड) शाकाहारी भोजनबाट शरीरले प्राप्त गर्न सक्दैन । अर्कोतर्फ दूध, दही, अण्डा, माछामासु प्रोटिन र भिटामिनका रामा स्रोत हुन् ।

विशेषगरी भेगनहरुमा यी तत्त्वको कमी भए पनि त्यसको विकल्प नभएको होइन । यी तत्व आजभोलि बजारमा सप्लिमेन्टको रुपमा किनेर खान सकिन्छ । गेडागुडी त्यसमा पनि भटमासबाट मासुमा पाइने प्रोटिन जस्तै सबै एमिनो एसिड शरीरले प्राप्त गर्न सक्छ । च्याउमा प्रशस्त प्रोटिन, भिटामिन खनिज, फाइबर अनि फाइटोकेमिकल पाइन्छ । धेरैलाई थाहा नहुन सक्छ च्याउलाई घाममा केहीबेर सुकाउने हो भने त्यसमा भिटामिन डीको निर्माण हुन्छ । यसरी शाकाहारी भएर पनि शरीरलाई चाहिने सबै अत्यावश्यक पोषक तत्व उपलब्ध हुनसक्छ । च्याउ, तोफु जस्ता खानेकुरामा मासुमा पाइने स्वाद पाइने भएकाले यी मासुको विकल्प पनि बन्न सक्छन् ।

शाकाहार वा मांसहार दुवैको आ–आफ्नो सकारात्मक एवं नकारात्मक पक्ष छन् । तर आजको बसिरहने जीवनशैली र प्रोसेस फुडको जगजगी भएको समयमा सकेसम्म शाकाहार जीवनशैली बढी स्वस्थकर मानिन्छ । तर शाकाहार भन्दैमा अधिक प्रोसेस गरेका परिकारहरु (जस्तै, मैदा, बिस्कट, चाउचाउ) अनि गुलियो पेय पदार्थले फाइदाभन्दा बढी बेफाइदा गर्छ । त्यस्तै मासुजन्य खानेकुरा शक्तिदायक (उच्च क्यालोरीयुक्त) हुन्छ । तर त्यसमा हानिकारक बोसो (स्याचुरेटेड फ्याट) र कोलेस्टेरोल पनि शरीरले ग्रहण गर्छ । आज औद्योगिक देशहरूमा जनावरबाट पाइने प्रोटिनको सेवन आवश्यकता भन्दा बढी गरिन्छ । अतिरिक्त प्रोटिन शरीरमा भण्डार भएर रहन सक्दैन, त्यो बोसोमा परिणत भएर बस्छ र मोटोपन बढाउँछ । यो बुझ्न जरुरी छ कि जिब्रोलाई मीठो लागे पनि हाम्रो शरीर मांसाहारको अत्यधिक सेवनका लागि तयार हुन अझै सकेको छैन । यसको प्रमाण पश्चिमी मुलुकहरू जहाँ मासुजन्य परिकार अत्यधिक सेवन गरिन्छ । क्यान्सर, हृदयरोग जस्ता नसर्ने रोग महामारीको रुपमा फैलिनुमा यो एउटा कारण हो । उच्च तापमा पकाएको मासुजन्य परिकार स्वादमा मीठो भए पनि त्यसमा कार्सिनोजेनको निर्माण हुने गर्छ । जसको अधिक सेवन क्यान्सरको कारण बन्न सक्ने केही अध्ययनको निष्कर्ष छ । अध्ययनअनुसार विशेषगरी अत्यधिक प्रशोधन गरिएका रातो मासु खाँदा बुढेसकालमा कोलोन क्यान्सरको जोखिम बढाउँछ । त्यसैले विज्ञहरु वनस्पतिजन्य प्रोटिनलाई आफ्नो नियमित खानपिनमा बढी सामेल गराउन सल्लाह दिन्छन् ।
विश्वमा मासुको खपत घटाउनु भनेको वातावरणीय स्वास्थ्य सुदृढ पार्नु पनि हो । मासु र दूधजन्य खानेकुराका लागि गरिने पशुपालनमा मात्र विश्वको ठूलो खेतीयोग्य जमिन खर्च भइरहेको छ । त्यसका लागी पिउने पानी, अनि खानाको उत्पादन गर्नु अर्को वातावरणीय चुनौती हो । अर्थात् मासुजन्य परिकारको सेवन यसरी विश्वव्यापी बढ्दै जाने हो भने त्यसले जनस्वास्थ्यका साथै वातावरणीय समस्या निम्त्याउने निश्चित छ । यस दृष्टिकोणमा पनि शाकाहार वा न्यूनतम मासुको सेवन आजको एक आवश्यकता हो । तसर्थ भन्न सकिन्छ, मासु नखाँदा वा कम खाँदा कुनै ठूलो हानी हुँदैन । तर शाकाहारवाद कमजोर हुने हो भने जीवन र जगतको स्वास्थ्य कमजोर हुँदै जानेछ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार