26.1 C
Kathmandu

राजनीतिबाट नैतिकता झिकिदियो भने “तानाशाह” हुन्छ 

राजनीतिको भाषा नाटकीय रूपमा परिवर्तन भएको छ । कुर्सी नसामा मतदातासँग जोडिने सम्पूर्ण कार्यक्रम त्यागेको कथित नेतृत्वले राजनीतिको हुर्मत लिन मरिहत्ते गरिरहेको छ । वर्तमानलाई कुरूप बनाएर भविष्यको सम्भावना बिसाएका तथाकथित नाङ्गो नाच नाच्दै छन् । कुर्सी केन्द्रित राजनीतिले सांस्कृतिक र नैतिक अपिल गर्ने ल्याकत गुमाएको छ । पीडित र पीडकको बारेमा सामान्य दृष्टिकोणसमेत बनाउन नसक्ने नालायकहरूलाई मुलुकको जिम्मा लगाएर समाज सोसल मिडियामा क्रान्ति खोजिरहेको छ । मुलुकमा विचित्रको अराजकता मौलाएको छ । विश्व राजनीतिको तीन फ्याक्टर जसले मुलुकको लोकतन्त्रमाथि गम्भीर चासो व्यक्त गरिरहेका छन् । अमेरिकी राष्ट्रपति बाइडेन अमेरिकाको पक्षमा लोकतन्त्रका आधारभूत मूल्य र मान्यता बिर्सन तयार छन् । बेलायतले भारत छाडेपछि पहिलो पटक शुद्ध भारतीय नेता बनेर प्रधानमन्त्री मोदी उदाएका छन् । उनी भारत र भारतीय जनताको निम्ति मरिहत्ते गरिरहेका छन् । त्यसैगरी चिनियाँ राष्ट्रपति सीले चीनलाई शक्तिशाली मुलुक बनाउन दिनरात एक गरिरहेका छन् । दुर्भाग्यवश राजा महेन्द्रपछि मुलुकले मुलुकको बारेमा सोच्न सक्ने नेता नै पाउन सकेन । विश्वमा राष्ट्रवाद र देशभक्ति मौलाउँदै छ । षड्यन्त्र सिद्धान्तमा प्राप्त पटके परिवर्तनले हाम्रो राष्ट्रवाद र देशभक्तिमाथि निरन्तर आक्रमण गरिरहेको छ ।

अन्यथा दाबी नगरौँ, हाइब्रिड परिवर्तन ‘नयाँ’ व्यवस्था थिएन र होइन । वर्तमान व्यवस्था प्रभावकारी हुने छैन भन्ने यसका जन्मदाताले बुझेको विषय थियो । संविधानको ड्राफ्ट गर्दै गर्दा मुलुकमा राजनीतिक स्थिरता नआओस् भन्नेतर्फ ठुलो मिहिनेत गरिएको संविधानसभाले बुझ्नै पाएन । ‘गठबन्धन’ राजनीति निर्वाचनपूर्व कि निर्वाचनपश्चात् भन्ने रणनीतिक प्रश्नको जवाफ लुकाएर जारी गरिएको संविधान मुलुकले पाल्न कठिन मात्र हैन बोझ बन्ने निश्चित थियो । राजनीतिक सङ्कटको गहिराइको प्रतीक बनेको र बनाइएको पश्चिमा लगानीमा निर्मित संविधानको रक्षार्थ प्रचण्डको रणनीतिक प्रयोग अनिवार्य थियो । मुलुकलाई नियन्त्रित अस्थिरता मार्फत शासन गर्ने ‘दक्षिण पश्चिम’ को रणनीतिअनुरूप जनताको झुपडीमा जन्मिएका भूतपूर्व क्रान्तिकारीहरूलाई रातारात ‘भ्रष्ट शासक’ मा रूपान्तरण गरियो । जनताको अभिमतको खिल्ली उडाउँदै दक्षिण पश्चिमको आशीर्वादमा शासक बन्न सफल अवसरवादीहरू ‘मौन’ बस्न राजी हुँदा सोसल मिडिया अराजकता सर्वसाधारण नागरिकको ऊर्जा बनाइयो । तत्पश्चात् डिजिटल युगमा नागरिकलाई राजनीतिले गाइड गर्न नसक्ने बनाउँदै कसैलाई निन्दा गर्नु र निन्दनीय कार्य गर्नु फरक कुरा हुन भन्ने नबुझ्ने अवस्थामा पुर्याइयो । फलस्वरुप लोकतन्त्र कुलिन वर्गको घेरा तोडेर जनतासम्म पुग्नै सकेन र पाएन । यी तमाम कार्यको निम्ति प्रचण्ड अवसरवादको डरलाग्दो प्रयोगमा मुलुकलाई होमियो । जसले गर्दा मुलुकमा सोसल मिडिया र प्रचण्ड अवसरवादको प्रतिस्पर्धा समेत लोकप्रिय बनिरहेको छ ।

प्रचण्ड प्रयोगपश्चात् मुलुकमा बलिदान, आदर्श, नैतिकता र विचार नजन्मिने वातावरण बनाइयो । विचारको भिन्नताले विवादहरू निम्त्याउँछ । विचारहरूको विविधतालाई बुझ्न, सहन गर्न र अस्वीकार गर्न पनि विचार नै चाहिन्छ भन्ने प्रचण्ड अवसरवादले निलिदियो । दुर्भाग्यवश विश्व पुँजीवादले विचारको स्थानमा सोसल मिडियालाई प्लान्ट गर्न सफल भयो । जसले महत्त्वाकाङ्क्षी, अवसरवादी र गृहिणीलाई विचारविहीन प्राणीमा रूपान्तरण गरिदियो । दण्डहीनताको फाइदा उठाउने युट्युबरहरूले आफ्नो धारणाको समर्थनमा तर्कहरू सिर्जना गरिरहे । व्यक्तिहरूको समस्याको मार्केटिङ गर्दै नयाँनयाँ अराजकता सिर्जना गरिरहे । सामाजिक र राजनीतिक एकता केवल कुर्सीमा सीमित गरियो । जसले गर्दा मुलुकको आन्तरिक शक्ति घट्दै गयो । आन्तरिक एकता, नागरिक स्वतन्त्रता, स्वतन्त्र सञ्चारमाध्यम र लोकतन्त्र नेतृत्वको प्राथमिकतामा पर्नै पाएन । जसले गर्दा अवसरवाद र अनैतिकताबीच गज्जबको कार्यगत एकता चलिरह्यो । जसको पेटेन्ट राइट प्रचण्डले कब्जा गरिरहे ।

वैश्य युगमा न्याय, समानता र निष्पक्षताका सिद्धान्तहरूलाई सुकेनास लागेको छ, जसले गर्दा मानिसबीचको द्वन्द्वलाई अनिवार्य र स्वाभाविक बनाएको छ । द्वन्द्वको पहिचान गर्न र व्यवस्थापन गर्न नदिने विषय राजनीति बनेर मुलुकमा ताण्डव मच्चाउँदै छ । समाधान लुकाइएको द्वन्द्वको आक्रोश समाजमा फैलिँदै छ । शान्तिपूर्ण वातावरण र मानिसहरूका बीच सद्भाव सिर्जना गर्ने तन्तुहरू भत्काइएका छन् । मतभेदहरू समाधान गर्ने आदर्श पद्धति गायब पारिएको छ । गल्ती महसूस नगरीकन सम्झौता गर्ने पटके गल्तीले नयाँनयाँ गल्तीलाई जन्म दिँदैछ । शान्तिलाई निष्पक्ष रूपमा स्थापित गर्नुपर्छ भन्नेहरूले निर्दोष मानिसलाई वैधानिक अधिकार त्याग्न दबाब दिँदै छन् । समाजमा बढ्दो असहिष्णुताले परिवार टुक्रिँदै छ । आफन्तहरू एक अर्काको सहयोग गर्न चाहँदैनन् । यस्तो स्थितिमा मुलुक कसरी अगाडि बढ्छ भन्ने जवाफ कसैसँग पाइँदैन । ‘गठबन्धन’ राजनीति निर्वाचनपूर्व कि निर्वाचनपश्चात् भन्ने रणनीतिक प्रश्नको जवाफ लुकाएर जारी गरिएको संविधान मुलुकले पाल्न कठिन मात्र हैन बोझ बन्ने निश्चित थियो । राजनीतिक सङ्कटको गहिराइको प्रतीक बनेको र बनाइएको पश्चिमा लगानीमा निर्मित संविधानको रक्षार्थ प्रचण्डको रणनीतिक प्रयोग अनिवार्य थियो ।

असभ्य भाषा र आक्रामक प्रस्तुति दिन सक्नेहरू मिडिया र सोसल मिडियामा छाएका छन् । मुलुकको सुधार, योजना र कार्यान्वयनको बारेमा ‘क ख’ सम्म नबुझेका टपरटुइँयाहरू मुलुक हाँक्न निस्किएका छन् । व्यक्तिगत सम्पत्ति र शक्ति बढाउन मनलाग्दी बोल्नेहरूलाई सांसद बन्ने अवसर दिने नागरिक साँच्चिकै जनार्दन बनेका छन् । आफूमात्र मयुर, अरू सबै ब्वाँसो देखाउने तथाकथित लफ्फाजी समेत राजनीतिक सिद्धान्त र कार्यक्रम बन्दै गरेको मुलुकमा जनता जनार्दनहरूले थप दुःख पाउनुको विकल्प देखिएन । तथाकथित राजनीतिक प्रतिस्पर्धा, साम्प्रदायिकता, युवा पलायन, नागरिक असन्तुष्टिले आसन्न सर्वनाशलाई रोक्नसक्ने देखिँदैन । विश्वविद्यालयको डिग्री भएका तर सीप नभएका निराश युवाहरूको आवश्यकता र मागलाई कसरी सम्बोधन गर्ने भन्ने कुनै अन्तर्दृष्टि नभएका पार्टीले मुलुक जोगाउन सक्ने देखिएन । न्यायपालिका, कर्मचारीतन्त्र र प्रहरीलगायतका निकायमाथिको विश्वास घट्दै गएको नदेख्ने या देखे पनि अनदेखा गर्ने सत्ताले मुलुकको सार्वभौम सत्ताको सुरक्षा गर्न सम्भव देखिँदैन । डरलाग्दो इसाईकरण, धार्मिक कट्टरता र कुरूपतासँग गाँसिएको विदेशी हस्तक्षेप रोक्ने तागत पनि मुलुकसँग देखिएन । दुर्भाग्यवश उल्लेखित समस्यालाई बुझ्नसमेत नसक्ने व्यक्तिलाई नायक बनाउन मरिहत्ते गर्ने जनताजनार्दन समेत ‘मुलुक डुबाउने कच्चापदार्थ’ बन्ने खतरा चुलिँदै छ ।

मुलुकमा परिवर्तन अपरिहार्य थियो । दुर्भाग्य १ परिवर्तन मुलुकमैत्री भएन र हुन दिइएन । परिवर्तनको नाममा सामाजिक आन्दोलन गराइयो । पुर्खाको ज्ञानको स्वामित्व र सामाजिक एकताको धारणामाथि रणनीतिक प्रहार गरियो, जसले समाजको शक्ति क्षीण गराउन अहम् भूमिका निभायो । कानुनको शासन, शिष्टता र सार्वजनिक सेवामा प्रतिबद्ध व्यक्तिहरू राजनीतिबाट हैरान छन् । निर्वाचनले आफ्नो उद्देश्य पूरा नगरेको मुलुकमा रोजगारी र स्रोतहरूको बाँडफाँड जस्ता मुद्दाहरू अलपत्र बनाइयो । नगरेका अपराधको सजाय भोग्न नागरिकलाई बाध्य पारियो । केवल बाँच्नकै निम्ति अवसरवादीहरूलाई मुक्तिदाता मान्न र ठान्न मजबुर बनाइयो । जसको नेतृत्व ‘प्रचण्ड’ ले गरिरहे भने काङ्ग्रेस एमालेले सहयोगीको भूमिका सफलतापूर्वक निभाइरह्यो । राजनीतिक परिवर्तनको आडमा पश्चिमा शक्तिले काङ्ग्रेसलाई प्रयोग गर्दै आर्थिक उदारीकरण सुरु गरायो । एमालेलाई प्रयोग गर्दै आइएनजिओ करण गरियो । तत्कालीन माओवादी हालको माओवादी केन्द्रलाई प्रयोग गर्दै जातीय विखण्डन र विभाजनको खेती चलायो । मिडिया र सोसल मिडिया प्रयोग गर्दै अराजकता मच्चाइयो । तथापि मुलुक ढलेन । झन्डै ५००० वर्ष पुरानो सभ्यता, संस्कृति, भाषा, धर्म, परम्पराले मुलुकवासीलाई अझै बाँधिराखेको पश्चिमा शक्तिले बुझ्नासाथ प्रचण्डको अन्तिम प्रयोग गरिहाल्यो । जसलाई दक्षिणले नरुचाएको स्वयं प्रचण्डले स्वीकार गरिसकेका छन् ।

पटक पटक बन्ने र भत्किने औचित्यहीन गठबन्धनलाई ‘कोर्स करेक्सन’ को नाम दिइएको छ । वास्तवमा परिवर्तित सत्ता गठबन्धन कोर्स परिवर्तन नभएर केवल ‘प्रश्न पत्र’ परिवर्तन गरिएको मात्र हो । पछिल्लो समयमा भएको या गरिएको या गराइएको गठबन्धनको किताब परिवर्तन भएको छैन । पुरानै किताब, उही विद्यार्थी, एउटै परीक्षा केन्द्र रहेको समयमा केवल प्रश्न पत्र परिवर्तन गर्नुलाई कोर्स करेक्सन भन्न मिल्ने देखिँदैन । विगतमा वाम आन्दोलनको खिल्ली उडाउँदै, मुलुकको आशा र भरोसा भत्काउँदै बहुमूल्य अवसर खेर किन फालेको भन्ने जवाफ नदिएरै बनाइएको गठबन्धन कोर्स करेक्सन हुँदै होइन । फगत आयातित ‘गुन र नुन’ को कमाल मात्र हो । पुर्खाको ‘ज्ञान’ थिलथिलो बनाइएको पछिल्लो अवस्थामा सर्वसाधारण नागरिकसँग धेरै टाढा पुगेका छन् । जिउँदो भुक्तभोगीले र पीडितले आफू बलात्कार भएँ भन्दा आम मानिस मान्न तयार देखिदैनन् । मृतकसँग सम्बन्धित अनेकौँ तथ्य र प्रमाणले आत्महत्या हो या दुर्घटना हो भन्दा नागरिक विश्वास गर्न तयार छैनन् । अपवादमा बाहेक तथाकथित युट्युबरहरू आफूलाई ‘सञ्जय’ ठान्दैछन् । प्रहरी र प्रमाणले नदेखेको कुरा सोसल मिडिया र युट्युबरले देखिसकेको हुन्छ । आम नागरिक प्रहरी र तथ्यलाई मान्न तयार छैनन् ।

उनीहरू आफै आरोप लगाउँछन् । आफै फैसला सुनाउँछन् । अझ डरलाग्दो कुरा सोसल मिडिया र मिडियाले निर्दोषलाई या जो कसैलाई अपराधी बनाउन चाह्यो भने अपराधी बनाउन सक्ने र नागरिकले सजिलै पत्याउने वातावरण सिर्जना भएको मुलुकमा राजनीतिक परिवर्तन, सत्ता परिवर्तन या गठबन्धन परिवर्तनले नागरिकको ध्यान खिच्ने अवस्था रहेन । सर्वसाधारण नागरिकले सरकारप्रति चरम अविश्वास गर्ने मुलुकमा सोसल इन्जिनियरिङ चकनाचुर भएको या पारिएको सजाय मुलुकले लामो समय भोग्ने निश्चित जस्तै छ ।

मुलुकमा तथाकथित चतुरहरूको बिगबिगी छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय ठगहरूको चरम सत्ता लिप्साले राजनीति डुङडुङती गन्हाएको छ । ‘संसदीय फोहरी खेल, वर्तमान व्यवस्था, प्रणाली र संविधान’ मुलुकको ‘काल’ बन्दै छ । ‘संविधान र लोकतन्त्र’ को रक्षाको निम्ति भन्दै विगतमा बनाइएको गठबन्धन भत्काउँदा ‘ठुलो उथलपुथल’ भन्ने र मान्ने प्रचण्ड अभिव्यक्तिले ‘संसदीय अवसरवाद’ समेत लज्जित छ । आफू नमर्दासम्म मुलुकमा उथलपुथल भइरहन्छ भन्ने प्रचण्डलाई बोक्ने ओली स्वार्थ र बाध्यताले राजनीतिलाई थप बदनाम बनाउँदै छ । जीवनभर नैतिकता, आदर्श राजनीति र प्रजातन्त्रको वकालत गर्ने सर्वमान्य नेता गणेशमान सिंह बारम्बार भन्ने गर्थे, ‘राजनीतिमा नैतिकता थपियो भने त्यो मानिस प्रजातान्त्रिक हुन्छ । राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो मानिस तानाशाह हुन्छ ।’ सोसल मिडिया र प्रचण्डको घिनलाग्दो प्रयोग पश्चात् गणेशमान सिंह जीवित रहेका भए शायद आफ्नै भनाइलाई परिमार्जन गर्दै भन्ने थिए राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो मानिस ‘प्रचण्ड’ बन्नेछ, राजनीतिलाई सोसल मिडियाले ड्राइभ गरे मुलुक समाप्त हुनेछ !

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार