काठमाडौं । टेरामक्स प्रविधि खरिदमा देखिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा निलम्बित सांसद मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी विशेष अदालतमा उपस्थित भएका हुन्।
बस्नेतको बयान हाल जारी छ भने आजै थुनछेक बहससमेत हुने तयारी रहेको विशेष अदालत स्रोतले जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आरोपपत्रमा पूर्व कानुन सचिव धनराज ज्ञवालीसमेत प्रतिवादीका रूपमा उल्लेख छन्।
अख्तियारको दावीअनुसार खरिद प्रक्रियामा भएको मिलेमतो, अनियमितता र सरकारी स्रोतको दुरुपयोगका कारण राज्यलाई ठूलो आर्थिक क्षति पुगेको छ।
मुद्दा दायर भएपछि बस्नेत स्वतः संघीय सांसद पदबाट निलम्बनमा परेका हुन्। नेपाली कांग्रेसका नेता समेत रहेका बस्नेत पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत हुन्।
अख्तियारले दायर गरेको मुद्दामा दोषी ठहर भएमा जेल सजायसहित जरिवाना हुने प्रावधान छ। अदालतको आजको सुनुवाइमा बस्नेतसहित अन्य प्रतिवादीहरूका हकमा थुनामुक्त वा थुनामा राख्ने भन्नेबारे निर्णय गरिनेछ।