काठमाडौं । काठमाडौं युरो स्कुलले जेनजी आन्दोलनका सहिद परिवारका सन्तानलाई निःशुल्क शिक्षाको अवसर उपलब्ध गराउने निर्णय गरेको छ।
टोखा–गोंगबु बनियाटारस्थित युरो स्कुलले जेनजी आन्दोलनका सहिदहरूलाई सम्झना गर्दै उनीहरूको सन्तानका लागि विशेष छात्रवृत्ति कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो। विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार सहिदहरूको बलिदानले वर्तमान पुस्तालाई स्वतन्त्र र सचेत नागरिकका रूपमा विकास गर्न प्रेरित गरेको छ।
“सहिदहरूको सपना साकार पार्ने बाटो शिक्षा हो, त्यसैले हामीले उनीहरूका सन्तानलाई निःशुल्क पढाउने निर्णय गरेका छौं,” पाण्डेले भने, “यो विद्यालयको सामाजिक उत्तरदायित्वको अभिव्यक्ति हो।”
विद्यालयले सहिद परिवारका सदस्यलाई आफ्नो विवरणसहित विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। विद्यालयले आवश्यक कागजात र प्रमाणका आधारमा छात्रवृत्ति प्रदान गर्ने बताएको छ।
युरो स्कुलले यसअघि पनि वञ्चित र विपन्न बालबालिकाका लागि सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो कार्यक्रमलाई “सामाजिक सहअस्तित्व र सहानुभूतिको उदाहरण”का रूपमा लिएको जनाएको छ।