8.1 C
Kathmandu

श्री सत्य साई केन्द्र लोकन्थलीको २७औं वार्षिकोत्सव तथा नव निर्मित मन्दिर भवनको उद्घाटन

भक्तपुर । गुरु पूर्णिमाको पावन अवसरमा श्री सत्य साई केन्द्र लोकन्थलीले आफ्नो २७औं वार्षिकोत्सव तथा नव निर्मित श्री सत्य साई मन्दिर भवनको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ।

उक्त अवसरमा वेदमन्त्र पाठ, भजन-कीर्तन, बाजा–गाजा, नाच–गान सहित श्री सत्य साई बाबाको तस्बिर राखिएको रथ यात्रा निकालिएको थियो। कार्यक्रममा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू तथा साई भक्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख श्री सुरेन्द्र श्रेष्ठ र श्री सत्य साई केन्द्र लोकन्थलीका पूर्व संस्थापक अध्यक्ष श्री मोहन खड्का ‘साईराम’ ले संयुक्त रूपमा नव निर्मित मन्दिर भवनको समुद्घाटन गर्नुभयो।

कार्यक्रमको संयोजन श्री सत्य साई केन्द्र तथा भवन निर्माण समितिका अध्यक्ष श्री बिमल बिस्ट ‘साईराम’ को संयोजकत्वमा गरिएको थियो।

दिउँसोको विशेष कार्यक्रम अन्तर्गत लक्ष्य अर्चना, स्वागत गान, वक्तृत्वकला, पुरस्कार वितरण, सहयोगी दाताहरुलाई मायाको चिनो प्रदान, शुभकामना सन्देश आदान–प्रदान, भजन–कीर्तन, आरती तथा प्रसाद वितरण जस्ता गतिविधिहरू सम्पन्न गरियो।

भवन निर्माणसम्बन्धी जानकारी अनुसार, २०८१ मंसिर ३ गते भूमि पूजन गरिएकाे यस मन्दिर २०८२ असार २६ गते निर्माण सम्पन्न भएको हो। करिब १ करोड ६५ लाख को लागतमा निर्माण सम्पन्न भएको मन्दिर साढे ३ आना निजी जग्गा खरिद गरी भक्तजनहरूको सहयोगमा निर्माण गरिएको हो।

श्री सत्य साई केन्द्रले विगतदेखि नै धार्मिक, आध्यात्मिक, सेवा मूलक, नैतिक शिक्षा र बाल विकास कक्षा सञ्चालन गर्दै आएको छ। समारोहमा सहभागी सबै अतिथि, साई भक्तहरू तथा शुभेच्छुकहरूलाई केन्द्रले विशेष धन्यवाद ज्ञापन गरेको छ।

थप समाचार

ताजा समाचार