8.1 C
Kathmandu

सेजनले सूचना प्रविधि मन्त्रालयको एक करोड रुपैयाँ अनुदान अस्वीकार

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गरिएको एक करोड रुपैयाँको अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ।

सेजनको मंगलबार बसेको कार्यसमिति बैठकले मन्त्रालयको वार्षिक विकास कार्यक्रमअन्तर्गत उपशीर्षक नम्बर २१ मा समेटिएको उक्त अनुदानलाई नस्वीकार्ने निर्णय गरेको हो।

सेजनले अनुदान अस्वीकार गर्ने निर्णयको कारण स्पष्ट गर्दै एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सेजनले मन्त्रालयसँग बजेटको माग गरेको छैन, मन्त्रालयको अनुदान स्वीकार गरेको पनि छैन र सो अनुदान संस्थाको नीतिगत तथा संस्थागत मूल्यमान्यताको विपरीत ठहरिन्छ।”

संस्थाले स्रोतको अभावले नागरिकका आधारभूत आवश्यकताहरू अपूरा भइरहेका बेला पत्रकार संगठनहरूमा अनुदान बाँडफाँट गर्नु उचित नहुने निष्कर्ष निकालेको छ।

सेजनले सार्वजनिक निकायप्रति पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका मूल्यलाई आत्मसात गर्दै स्वतन्त्र पत्रकारिताका पक्षमा उभिएको दाबी गर्दै अनुदान अस्वीकार गर्नु आफ्नो संस्थागत मौलिकताको रक्षा गर्न गरिएको निर्णय भएको उल्लेख गरेको छ।

अघिल्ला वर्षहरूमा पनि सेजनले राज्यबाट अनुदान स्वीकार नगरेको बताइएको छ। यस निर्णयलाई प्रेस स्वतन्त्रता र संस्थागत स्वावलम्बनको दृष्टिकोणबाट अर्थपूर्ण कदमको रूपमा हेरिएको छ।

थप समाचार

ताजा समाचार