8.1 C
Kathmandu

श्रमिक सम्मानको उदाहरणीय पहल: सभापोखरी गाउँपालिकाको नमूना अभ्यास

संखुवासभा । कामदारलाई मेहनतको कदर गर्दै सार्वजनिक रूपमा सम्मान गर्ने उदाहरण विरलै पाइन्छ। तर, संखुवासभाको सभापोखरी गाउँपालिकाले यो चलन तोड्दै श्रमिक सम्मानको एक प्रेरणादायी उदाहरण पेश गरेको छ।

गाउँपालिकाले समयभन्दा डेढ महिना अगाडि सम्पन्न भएको सडक कालोपत्रे कार्यमा संलग्न २५ जना श्रमिकलाई प्रमाणपत्र र नगद ५ सय रुपैयाँसहित सम्मान गरेको हो। यो सम्मान कुनै ठूला पदस्थ व्यक्तिहरूलाई होइन, निर्माण स्थलमै पसिना बगाउने श्रमिकहरूलाई दिइएको हो।

गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बुले भने, “हामी सधैं नेताहरू, इन्जिनियर वा कार्यालयका प्रमुखहरूलाई मात्रै सम्मान गर्छौं। तर वास्तवमा सडक बनाउन रातदिन खटिने श्रमिक हुन्। उनीहरूलाई प्रोत्साहन गर्न हामीले सम्मान गर्ने निर्णय गरेका हौं।”

यो सम्मानबाट ठेकु सरदारसमेत रहेका श्रमिकहरू निकै उत्साहित छन्। “हामीजस्ता काम गर्ने मान्छेलाई कोले सम्झिन्छ र? गाउँपालिकाले यसरी सम्मान गर्दा गर्व लाग्यो,” ठेकु सरदारले भने।

गाउँपालिकाको केन्द्र बाह्विसेबाट खाँदबारीसम्मको २९ किलोमिटर सडकखण्डमध्ये २० किलोमिटर सडक सभापोखरी गाउँपालिकाभित्र पर्छ। यस सडकलाई बहुवर्षीय योजना अन्तर्गत कालोपत्रे गरिँदै आएको हो। चालु आर्थिक वर्षमा मात्रै सभाखोला देखि धुपुखोला सम्मको २४ सय मिटर सडकमा कालोपत्रे सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

यस्तो सकारात्मक अभ्यासले स्थानीय सरकारका सामाजिक उत्तरदायित्वप्रतिको दृष्टिकोण मात्र देखाउँदैन, श्रमको सम्मानले समुदायमा सकारात्मक सन्देश पनि फैलाउँछ। यो पहल अन्य पालिकाहरूका लागि समेत अनुकरणीय बन्ने विश्वास गरिएको छ।

 

थप समाचार

ताजा समाचार