8.1 C
Kathmandu

काठमाडौंमा “ईन्जिनियरहरुको राष्ट्रिय सम्मेलन” आयोजना हुँदै

काठमाडौं । देशभरका इन्जिनियर, नीतिनिर्माता, राजनीतिकर्मी, लगानीकर्ता, तथा विद्यार्थीहरूको सहभागितामा एक दिने “ईन्जिनियरहरुको राष्ट्रिय सम्मेलन” काठमाडौंमा आयोजना हुँदैछ। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को आयोजनामा ललितपुरस्थित होटल हिमालयमा वैशाख ११ गते उक्त सम्मेलन हुने भएको हो।

सिडेनका अध्यक्ष इन्जिनियर लक्ष्मण केसीका अनुसार कार्यक्रममा ५०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहनेछ। सम्मेलनको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुहुनेछ भने, समापन सत्रको प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा रहनेछन्।

सम्मेलनमा तीनवटा प्राविधिक सत्रहरू सञ्चालन गरिनेछ। सिडेनका उपाध्यक्ष तथा सम्मेलन आयोजक समिति संयोजक इन्जिनियर उमेश धितालका अनुसार, सत्रहरूमा हाल कायम संस्थाहरूको सुदृढीकरण तथा पुनर्संरचना, ऊर्जा संकट तथा क्षेत्रीय व्यापार, र इन्जिनियरिङ क्षेत्रका समस्याका समाधान र आवश्यक नीतिगत व्यवस्थाबारे छलफल गरिनेछ।

उहाँका अनुसार यी सत्रहरूमा इन्जिनियर, योजनाविद्, नीतिनिर्माता तथा राजनीतिज्ञहरूको संयुक्त सहभागिता रहनेछ, जसबाट प्रभावकारी सुझाव र समाधानहरू निकालिने अपेक्षा गरिएको छ।

पहिलो सत्रमा, योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल मुख्य वक्ताका रूपमा प्रस्तुत हुनुहुनेछ। साथमा लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, पूर्व सचिव अर्जुनजंग थापा, तथा डा. दिपेश घिमिरे वक्ताका रूपमा सहभागिता जनाउनेछन्। उक्त सत्र पूर्वाधार निर्माणसँग सम्बन्धित संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि, सुदृढीकरण र पुनर्संरचनामा केन्द्रित हुनेछ।

दोस्रो सत्र ऊर्जा संकट र क्षेत्रीय व्यापार विषयमा केन्द्रित रहनेछ। यसमा नेपाल विद्युत प्राधिकरणका पूर्व उपप्रबन्ध निर्देशक प्रवल अधिकारी मुख्य वक्ता रहनेछन् भने, पूर्व प्रबन्ध निर्देशक डा. मुकेश काफ्ले, ऊर्जा विश्लेषक अरुण कुमार सुवेदी, र स्वतन्त्र ऊर्जा उत्पादक सुमन जोशी वक्ताका रूपमा रहनुहुनेछ।

तेस्रो सत्रमा, सूचना प्रविधि, परामर्श सेवा, निर्माण व्यवसाय लगायतका क्षेत्रका समस्या तथा समाधानको उपायबारे छलफल गरिनेछ। यस सत्रमा ती क्षेत्रका छाता संस्थाहरूको तर्फबाट संस्थागत प्रस्तुति रहनेछ भने, नेपाली कांग्रेसको राजनीतिमा सक्रिय इन्जिनियरहरूको विशेष प्यानलबाट सम्बन्धित विषयमा विचार विमर्श गरिनेछ।

सम्मेलनका तीनै सत्रबाट निष्कर्षस्वरूप संकलित सुझावहरू समापन सत्रमा प्रमुख अतिथि महामन्त्री गगन कुमार थापालाई हस्तान्तरण गरिनेछ। संयोजक धितालका अनुसार, यी सुझावहरूलाई सरकार र राजनीतिक तहको ध्यानाकर्षण गराउँदै नीतिगत सुधारतर्फ मार्गदर्शन गर्ने उद्देश्य राखिएको छ।

थप समाचार

ताजा समाचार