काठमाडौं । काठमाडौंको टोखास्थित एसिया प्यासफिक स्कूलले शनिबार एक विशेष अभिभावक अभिमुखीकरण (प्यारेन्ट्स ओरियन्टेशन) कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्य विद्यालयका प्राचार्य चिन्तामणि योगी रहनु भएको थियो।
कार्यक्रममा बोल्दै प्राचार्य योगीले बालबालिकालाई समय सापेक्ष र उत्तरदायी बनाउने प्रक्रियामा विद्यालय र अभिभावक दुवैको भूमिका महत्वपूर्ण हुने बताउनु भयो। विद्यालयले शिक्षा र सीप प्रदान गर्छ, तर संस्कार भने परिवारबाटै आऊनुपर्छ उहाँले भन्नु भयो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको शिक्षा संकायका सहायक डिन प्राडा. हेमराज काफ्लेले एसिया प्यासफिक स्कूलको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विश्वविद्यालयले शिक्षकहरूलाई तालिम तथा अन्य शैक्षिक कार्यक्रमहरूमा सहकार्य गरिरहेको जानकारी दिनुभयो।
विद्यालयका प्राचार्य रमेश घिमिरेले एसिया प्यासफिक स्कूलले बालबालिकाको शैक्षिक योग्यता मात्र नभई उनीहरूको सर्वाङ्गीण विकासमा समेत ध्यान दिँदै आएको बताउनु भयो। उहाँले विद्यालयले योग, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै जोड दिएको जानकारी दिनुभयो।
एलसिसिआई क्वालिफिकेसनका सह(संस्थापक रोशन राठीले एसिया प्यासफिक स्कूलसँग क्याम्ब्रिज इङ्लिश एजुकेसन पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा आफू निकै उत्साहित भएको बताउनु भयो। यस प्रकारको साझेदारीले विद्यार्थीहरूलाई अंग्रेजी भाषामा दक्ष बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उहाँको विश्वास छ।
कार्यक्रममा विद्यालयका प्रमुख कार्यकारी अधिकृत प्रदीप राज अधिकारी, शैक्षिक निर्देशक राजन अधिकारी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा मलेसियामा सम्पन्न १६औं विश्व योगासना खेलकुद च्याम्पियनसिपमा ९ देखि ११ वर्ष उमेर समूहका बालक तर्फ प्रथम स्थान हासिल गरेका विद्यालयका विद्यार्थी प्रयासजंग चौहानलाई विद्यालयले २० हजार रुपैयाँ नगद सहित सम्मान गरेको थियो।