काठमाडौं । काठमाडौंको टोखामा रहेको एशिया प्यासिफिक स्कूलका दुई प्रतिभाशाली विद्यार्थीहरूले मलेसियामा सम्पन्न १६औँ विश्व योगासना खेलकुद च्याम्पियनसिपमा उत्कृष्ट सफलता हासिल गरेका छन्।
मलेसिया साइबरजायास्थित लिमकोकविङ विश्वविद्यालयमा यही अप्रिल ५ र ६ मा सम्पन्न विश्व योगासना खेलकुद च्याम्पियनसिपमा प्रयासजंग चौहानले ९ देखि ११ वर्ष बालक समूहमा पहिलो स्थान हासिल गरेका छन् भने बबिन श्रेष्ठले १२ देखि १४ वर्ष बालक समूहमा पाँचौं स्थान प्राप्त गरेको विद्यालयका शिक्षा निर्देशक राजन अधिकारीले बताउनु भयो।
स्थापनाको छोटो अवधिमै एशिया प्यासिफिक स्कूलविद्यार्थीहरूको हासिल गरेको यो अन्तर्राष्ट्रिय सफलतामा योग प्रशिक्षक राजेश न्यौपानेको समर्पण र निरन्तर प्रशिक्षणको समेत उच्च मूल्याङ्कन गरिएको अधिकारीले बताउनु भयो ।
विद्यालयका शिक्षा निर्देशक राजन अधिकारीले भन्नुभयो “विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक विकासमा सन्तुलित बनाउने हाम्रो प्रयासले आज अन्तर्राष्ट्रिय स्तरमा फस्टाएको छ। हाम्रो स्कूलका विद्यार्थीहरूले विश्वस्तरमा नेपालको नाम उज्यालो पार्दा हामी गर्व महसुस गरेका छौं।”
यस ऐतिहासिक सफलताले विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई योग, अनुशासन र प्रतिस्पर्धात्मकतामा अझ प्रेरणा मिल्ने विश्वास गरिएको छ।