काठमाण्डौं । प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले काठमाडौँमा एक कार्यक्रमकाबीच सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक चुपबहादुर थापाले संस्थाले जल, जङ्गल र जमिनसँग सरोकार राख्ने विभिन्न विवादका कारण फाटेका मनहरू सिलाएर दिगो शान्तिका लागि काम गरेको बताए । उनले भने, हाम्रा माकुराहरूले विवादका दुवै पक्षलाई जित जितको अवस्थामा ल्याएर देशैभर हजारौँ यस्ता विवाद मिलाएका छन् । जसले गर्दा मुलुक भित्र यस्ता विवादहरूको दिगो व्यवस्थापनमा ठुलो सहयोग पुगेको छ ।
कार्यक्रममा चार्टड एकाउन्टेन्ट रामशरण गिरीले संस्थाको आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
सामाजिक लेखाजोखा कार्यक्रममा अनुसन्धानकर्ता डा. सञ्जीव हुमागाईँले संस्थाले द्वन्द्व व्यवस्थापनमा दुवै पक्षलाई राखेर माकुरा मार्फत समस्याको समाधान खोज्ने तरिका, खाट विधि जस्ता अवधारणाले कार्यक्रम समुदायस्तरमा निकै प्रभावकारी देखिएको बताए ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले समाजमा द्वन्द्व रूपान्तरणमा संस्थाले अपनाएको विधि मुलुकका विद्यमान अन्य विवादको समाधानका लागि समेत उदाहरणीय भएको पाएको बताए । यस्ता असल अभ्यासलाई हामीले पनि अनुसरण गर्नुपर्छ । उनले भने ।
कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य भारती पाठक, नवदुर्गा गाउँपालिका डडेलधुराकी उपप्रमुख निर्मला कुमारी बोगटी, भक्तपुर जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा लगायतले संस्थाले गरेको विभिन्न गतिविधिका बरेमा आफ्नो धारणा राखेका थिए ।
उक्त अवसरमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।