29.1 C
Kathmandu

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको हो । 

 

बोटेबोरा प्रालिका अध्यक्ष विष्णु ढकालका अनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । कम्पनीले थप लगानी गरी जलाशय किनारमा बिच रेस्टुरेन्ट, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको हो । आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरि बहादुर चुमानले विभिन्न अप्ठ्यारो छिचोल्दै मोटरबोट सञ्चालन गर्नमा सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरू अग्रसर हुनुपर्नेमा चुमनले जोड दिए । 

तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केस्वरी र पहाडकी रानी बन्दिपुर जोड्ने बाटोको स्तरोन्नति गरि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको चुमानले बताए । ऐना पहरा, छिम्केस्वरी, होमस्टे लगायतका विभिन्न गन्तव्यको प्रवर्द्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागिपरेको आबुँखैरेनीले दुई वर्षको पहलपछि मोटरबोट सञ्चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । 

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको छ । मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । 

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ । स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ । 

नेपालको जल पर्यटनमा टेवा पुर्‍याउँदै रोजगारी र नयाँ गन्तव्य सिर्जना गर्न अग्रसर बोटेबोरा नेपालको सबैभन्दा ठूलो मोटरबोट सञ्चालन कम्पनी हो । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरूलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुल तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार