23.1 C
Kathmandu

एमसीसी अनुमोदनलाई निजी क्षेत्रको स्वागत, ऊर्जा क्षेत्रको विकासको कोशेढुंगा हुने

काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएकोमा निजी क्षेत्रले स्वागत गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई)र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले एमसीसी अनुमोदनलाई स्वागत गर्दै छिटो कार्यान्वयनमा जानुपर्ने सुझावसहितको विज्ञप्ति सार्वजनिक गरेका छन् ।

एफएनसीसीआईले प्रतिनिधिसभाबाट केही बुँदाहरूमा रहेको अस्पष्टता समेतलाई प्रष्ट पार्दै आएको व्याख्यात्मक घोषणाकासहितको अनुमोदनले नेपालको ऊर्जा क्षेत्रमा सकारात्मक काम हुने महासंघको अपेक्षा लिएको छ ।

सम्झौताअनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम संघीय संसदबाट सम्झौता अनुमोदन पश्चात शुरू हुने विश्वास महासंघको छ ।

नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने महाशंघको भनाइ छ ।

‘कोभिड–१९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढन सकेको छैन,’ महासंघले भनेको छ, ‘सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको समेत ढोका खुल्नेछ ।’

यस्तै उद्योग परिसंघले २९ भदौ २०७४ भएको सम्झौता ९एमसीसी कम्प्याक्ट० प्रतिनिधि सभाबाट अनुमोदन हुनुले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने बताएको छ । एमसीसी सम्झौता संसदीय अनुमोदनसँगै नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिन र विश्वास अभिवृद्धिमा टेवा पुग्ने विश्वास परिसंघको छ ।

‘एमसीसी कम्प्याक्टमा उल्लेख भएबमोजिम आयोजना कार्यान्वयन प्रारम्भ भएको पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने प्रावधान नेपालको विकास व्यवस्थापनका लागि नमूना सावित हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना शुरू हुने तर कहिल्यै सम्पन्न नहुने अवस्थाको अन्त्यका लागि एमसीसीअन्तर्गतका आयोजनाले भूमिका खेल्ने हाम्रो विश्वास छ ।’

मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाललाई सम्पूर्ण सरोकारवाला निकायसँगको समन्वयमा समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न आग्रह गरेको पनि परिसंघले जानकारी दिएको छ ।

एमसीसी सहयोगअन्तर्गत निर्माण हुने ४ केभी क्षमताका लप्सिफेदी–रातामाटे, राटामाटे–हेटौँडा, रातामाटे–दमौली–बुटवाल प्रसारण लाइन र सबस्टेसन नेपालको आन्तरिक विद्युत् प्रसारण प्रणालीको सुधार र अन्तरदेशीय विद्युत व्यापारका लागि महत्त्वपूर्ण भएको सीएनआईको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु–दाङ खण्डको स्तरोन्नति त्यस क्षेत्रको आर्थिक विकास, व्यापार सहजीकरण र जीवनस्तर सुधारका लागि महत्त्वपूर्ण हुने उल्लेख छ ।

एमसीसीले विभिन्न आरोह–अवरोह पार गर्दै १२ बुँदे ब्याख्यात्मक घोषणासहित सार्वभौम संसदबाट अनुमोदन भएकोमा इप्पानले पनि खुशीसहितको विज्ञप्ति निकालेको छ । संसदबाट अनुमोदन भएको यो परियोजना तत्काल कार्यान्वयनमा लैजान इप्पानले सरकारसँग आग्रह पनि गरेको छ ।

मुलुकको समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारमा मूल समस्याको रूपमा रहेको प्रसारण लाइनको अभाव एमसीसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने इप्पानको भनाइ छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार