28.1 C
Kathmandu

हिमालवासीहरूको नयाँ वर्ष “ग्याल्वो ल्होसार”

ग्याल्वो ल्होसार  बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएपनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक बिदा दिइन्छ । हरेक वर्ष फेब्रुअरी महिनामा ग्याल्वो ल्होसार (२१३९ छु फो डुक्लो) मनाउने तयारीमा शेर्पा, तिब्बती तथा योल्मो समुदाय जुट्छ ।
शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २/३ दिन अगाडि घर, आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतीक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याँक्ने परम्परागत प्रचलन छ ।

प्रचलनअनुसार सबैले खाइसकेको वाकी अंश दोबाटोमा फाल्नुपर्छ । घर सफा गरी फोहोर मैला फालिसके पछि जसमा गुथुक (नौ प्रकारका गेडागुडी मिसाइ जस्तै मकै, भटमास, केराउ, चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार ) सबै परिवार मिली खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ । परिवारको संख्या अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका ( कागज, घ्यू, नुन, खोर्सानी, कोइला आदि इत्यादि) सामग्री राख्ने गरिन्छ । ती  सामग्रीमध्ये कागजको अध्ययनशील, घ्यूको चाप्लुसी, खुर्सानीको रिसाउने, कोइलाको डाह गर्ने जस्ता फरकफरक रूपमा अर्थ्याइएको  हुन्छ । गुथुक खाने बेला आफ्नो भागमा जुन सामग्री पर्यो त्यही प्रकारको बानी हुने विश्वास गर्ने गरिन्छ ।

गुथुक खाई सकेपछि पुरानो साललाई बिदाइ गर्दे नयाँ सालको पहिलो दिन बिहान सबेरै चराचुरुङ्गी अथवा कोही पनि नउठिसकेको वेला ( रातको २/३ बजे) उठेर पानी पँधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ (घ्यू), खादा धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने, पूजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यस पछि घरका ठुलाबडाबाट आशीर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र विशेष गरी छ्याङगुल ( जाँडमा छुर्पी, बदाम, नरिवल किसमिस आदि मिसाएर एक परिकार ) खाँदै घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । ल्होसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने गरिन्छ ।

लोसारका लागि तयार पारेर राखिएका परिकारहरू (जस्तै छिमार, खप्से, लगायतका प्रसाद) भगवानलाई चढाउने र घरका सवै परिवार सम्भव भए नयाँ लुगा लगाउने नभए पनि सफा लुगा लगाउने, र मान्यजनको हातबाट आशीर्वाद लिने गरिन्छ । त्यसपश्चात् आफ्नो जन्मदिन अनुसारको शुभ तिथि (सिज्य) हेरि घरको दूरी, आँगन अथवा डाँडाहरूमा गएर दीर्घायु सुस्वास्थ्यको कामना सहित घरका सबै परिवारको सुख शान्तिको कामना गर्दै ध्वाजा (लुङ्दार) टाँग्ने गरिन्छ र आफ्नो घरछिमेकमा लप्सो मनाउने गरिन्छ । लामाबाट (रम्ने) अभिषेक गरेरमात्र लुङ्दार टाँग्नुपर्ने प्रचलन पनि छ । परिवारबीच ल्होसार मनाई सकेपछि छिमेकीलाई घरमा बोलाएर अहिले शहरिया क्षेत्रमा पिकनिक (बनभोज) आयोजना तथा विभिन्न तरिकाबाट पनि ल्होसार मनाउने गरिन्छ ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार