29.1 C
Kathmandu

डलर संचिति १७ अर्ब ९५ करोडले घट्दासमेत आयात धान्ने क्षमता भने ८ महिनालाई पुग्यो

काठमाडौं । विदेशी मुद्रा संचिति १७ अर्ब ९५ करोड रुपैयाँले घट्दा समेत आयात धान्ने क्षमता भने ८ महिनालाई पुग्ने भएको छ । विदेशी मुद्राको संचिति घटेको भएपनि आयात धान्ने क्षमता भने बढेर ८ महिनासम्मलाई पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको साउनको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार डलर संचिति १.५ प्रतिशतले घटेको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति केन्द्रीय बैंकसँग रहेकोमा साउन १७ अर्ब ९५ करोड रुपैयाँले घटेको छ । साउन मसान्तमा विदेशी मुद्राको संचिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको तथ्यांकले देखाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा साउनमा १.२ प्रतिशतले घटेर ९ अर्ब ४२ करोड कायम भएको छ । तथ्यांक अनुसार विदेशी मुद्राको संचिति घटेको देखिएपनि गत वर्षको साउनको तुलनामा यो वर्षको साउनको तथ्यांकले भने आयात धान्ने क्षमता बढेको छ ।

गत असारसम्ममा साढे ७ महिनालाई मात्रै पुग्ने डलर संचिति रहेकोमा साउनमा भने ८ महिनालाई धान्न सक्ने क्षमता भएको केन्द्रीय बैंकले दाबी गरेको छ । गत वर्षको तुलनामा यो वर्षको साउनमा आयात कम भएकोले पनि यही अनुपातमा आयात हुँदा ८ महिनासम्मलाई अहिले भएको डलर संचितिले धान्ने अनुमान केन्द्रीय बैंकको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने विभिन्न बैंकहरुमा १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ । यस्तो तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

गत साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.७ प्रतिशत, ६६.८ प्रतिशत र २२.२ प्रतिशत रहेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार