23.1 C
Kathmandu

बैंकहरूमा ६ खर्ब लगानीयोग्य रकम थुप्रियो, ब्याजदर घट्दासमेत कर्जा विस्तार ठप्प

काठमाडौं । बैंक तथा वित्तीय संस्थाा करीब ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ । पछिल्लो समय बैंकहरूमा तरलता बढेपछि र बैंकहरूको ब्याजदरमा मिलेमतो हटेपनि ब्याजदर घटेको छ । ब्याजदर घटेको, बैंकहरुमा तरलता पर्याप्त भएको र माग कम भएर बैंकहरु लगानीको क्षेत्र खोजिरहदा समेत व्यवासायीले भने ऋण लिएका छैनन् ।

बैंकहरूका अनुसार पछिल्लो समय निक्षेपको तुलनामा कर्जा प्रवाह नहुँदा लगानीयोग्य रकम बढेको हो । निजी क्षेत्रले उद्योग र व्यापारका लागि अपेक्षाकृत ढंगले ऋण नमाग्दा बैंकिङ तरलता बढिरहेको छ ।

गत वर्षको साउनमा बैंकहरू निक्षेप खोज्ने तनावमा भौंतारिएका थिए, तर यो वर्ष तरलता बढी भएर लगानीको क्षेत्र खोज्नुपर्ने दबाब छ ।

बैंकमा तरलता थुप्रिँदै जाने र कर्जा लगानी कम भइरहने हो भने आर्थिक वृद्धिमै असर पुग्ने चिन्ता व्यक्त हुन थालेको नेपाल बैंकर्स संघकै भनाइ छ ।

बर्सेनि बैंकहरूले असारदेखि नै लगानी कम गर्दै जाने भएकाले साउनमा तुलनात्मक रूपमा कर्जा विस्तार घट्ने गरेको छ । त्यसो हुँदाहुँदै पनि माग अपेक्षाकृत ढंगले नआउँदा बैंकहरूलाई टाउको दुखाइ बनेको छ ।

‘तरलता थुप्रिँदै जाने र कर्जाको माग लामो समयसम्म कम भइरहने हो भने यो वर्ष नाफामै असर पर्न सक्छ’, एक बैंकरले भने, ‘बैंकहरूले बेलैमा लगानीको क्षेत्र खोज्न सकेनन् भने निजी क्षेत्रतर्फ कर्जा विस्तार कम हुँदा अर्थतन्त्र थप संकुचनमा जान सक्ने र त्यसको असर आर्थिक वृद्धिमा पर्ने चिन्ता छ ।’

उनले थपे, ‘गत वर्षको साउनमा तरलता अभाव भएर तड्पिएका बेला कर्जाको माग थियो, तर लगानी गर्न पैसा थिएन । अहिले तरलता थुप्रिएको छ, तर ऋणको माग नै छैन ।’

बैंकहरूमा कर्जाको माग र कर्जा प्रवाहको चक्र चलिरहनुपर्छ । यो चक्र नचले लगानी रोकिन्छ । आर्थिक क्षेत्र संकुचनमा गएर ऋणको माग नआएको हुनसक्ने बुझाई बैंकर्सको छ ।

बैंकहरूको प्रमुख आम्दानीको स्रोत नै कर्जा विस्तार हो । कर्जा विस्तार हुन नसके चालू आवमा बैंकहरूको नाफामा समेत संकुचन आउन सक्छ ।

बैंकहरूबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा रोकिँदा अर्थतन्त्रको चक्रमै असर पर्ने जोखिम रहेकाले तत्काल समस्या समाधानमा लाग्नुपर्ने बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको १९ साउनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मात्रै सो अवधिसम्ममा ४९ खर्ब ५५ अर्ब निक्षेप संकलन गरेर ४२ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार