26.1 C
Kathmandu

हिमालयन इन्भेष्टेमन्ट मर्जर भाँडिदा ४ लाख लगानीकर्तालाई धोका, कसले दिन्छ सवा खर्बको क्षति

काठमाडौं । हिमालयन र इन्भेष्टेमन्ट बैंकबीचको मर्जर भाँडिदा ४ लाख लगानीकर्तालाई धोका भएको छ । १० महिनादेखि कारोबार बन्द भएको करिब चार लाख लगानीकर्ताको सवा खर्ब भन्दा बढीको शेयर कारोबारको बजार प्रभावित भएको छ।

सर्वसाधारणले कारोबार गर्न नपाएको र अझै तत्काल मर्जरमा नगए ३ वर्षसम्म शेयर कारोबार रोकिने हुँदा यसको क्षतिपूर्ति कस्ले दिने ? भन्ने प्रश्न पेचिलो भएको छ । नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसन नियमावली २०७३ र नेपाल राष्ट बैंक ऐन २०५८ अनुसार सहमति भइसकेको यो मर्जर भाँडिदा सर्वसाधारणको १ खर्ब २६ अर्ब रुपैयाँ कारोबार अझै अनिश्चित समयको लागि फ्रिज हुन पुगेको छ ।

वैशाख ३० गतेसम्म हिमालयन बैंकको प्रतिकित्ता ४ सय ८० रुपैयाँ र इन्भेष्मेण्ट बैंकको ४ सय ६० रुपैयाँ सेयर किनबेच भएको थियो । सो मूल्यमा हिमालयन बैंकका करिब २ लाख र इन्भेष्टमेन्ट बैंकको २ लाख १५ हजार ५८३ जना गरी कुल ४ लाख लगानीकर्ताको अर्बौं रुपैयाँ पुँजी फ्रिज हुन पुगेको छ ।

वैशाख ३१ गते बन्द भएको यी बैंकको बजार पुँजीकरण कुल १ खर्ब २६ अर्ब ४९ करोड रुपैयाँ बढी थियो । जसमध्ये हिमालयन बैंकको १० करोड ६८ लाख ४४ हजार कित्ता बराबरको ५१ अर्ब ७१ करोड २५ लाख रुपैयाँ र इन्भेष्टमेण्ट बैंकको १६ करोड २५ लाख ७३ हजार कित्ता बराबरको ७४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ सेयर बजारमा ६ महिना यता फ्रिज भएर बसेको छ । अब दुबै बैंकले पुनः अर्को बैंकसँग मर्जर नगरेसम्म कारोबार गर्न पाउँदैनन् ।

दुबै बैैंकलाई राष्ट बैंकले कारवाही गर्ने

नेपाल बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार दुवै बैंकले नयाँ साथी खोजेर मर्जरमा नगएसम्म शेयर कारोबार रोक्का, लाभांश वितरण गर्न नपाउने, शाखा कार्यालय विस्तार गर्न नपाइनेसहितको कारवाही हुने बताएका छन ।

उनका अनुसार दुई बैंकले संयुक्त रूपमा सहमति गरेकोले एउटाको कारण मर्जर भाँडिए पनि फेरि अर्को बैंक खोजेर मर्जरमा नगएसम्म राष्ट्र बैंकले दुवैलाई कारवाही गर्छ । हिमालयन बैंक मर्जरमा नगएकोले शुक्रवार पारित भए पनि नगद लाभांश बाँड्न रोक लाग्नेछ ।

इन्भेष्टमेन्टसँग मर्जरमा जाने शर्तमा नै गत आर्थिक वर्षको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको थियो । यस बाहेक हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकलाई शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति दिने छैन ।

राष्ट्र बैंकबाट पाउने नियामकीय सुविधा हिमालयनले नपाउने पनि उल्लेख छ । मर्जर प्रक्रिया भाँडेका कारण यी बैंकले पुनरकर्जा, स्थायी तरलता सुविधा लगायतका मौद्रिक उपकरणहरू प्रयोग गर्न नपाउने हुँदा जसरी पनि अर्को बैंकसँग मर्जरमा जानुपर्ने ढकाल बताउँछन् ।​

राष्ट्र बैंकले हिमालयनका सञ्चालकलाई भने सचेत पनि गराउने छ । यसकै कारण मर्जर भाँडिएकोले यसलाई अझै कडा निगरानीमा राखिने भएको छ ।

गत वैशाखदेखि दुवै बैंकको दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । यो शेयर कारोबार अर्को बैंकसँग मर्जरमा नगएसम्म फुकुवा नहुने पनि उल्लेख छ ।

हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंकले कारवाहीबाट बच्नका लागि अर्को बैंकसँग मर्जर जानैपर्ने हुन्छ । यसका लागि दुवै बैंकले जति समय माग्छन् उति नै पाउँछन् तर त्यो समयसम्म भने राष्ट्र बैंकको मर्जर तथा एक्विविसन नियमावली अनुसार कारवाही भोगिरहेकै हुन्छन् ।

यी दुवै बैंक जति छिटो अर्को बैंकसँग मर्जरमा जान्छन्, उति नै छिटो कारवाहीबाट जोगिने पनि राष्ट्र बैंकको बैंक तथा नियमन विभागका कार्यकारी निर्देशक ढकालले बताए ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार