काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार कुमार लुइटेलले पार्टीभित्रैबाट नेतृत्वमाथि भइरहेको आक्रामक र अमर्यादित आलोचनाप्रति कडा आपत्ति जनाउनुभएको छ। नेता केदार कार्की, भूपेन्द्र राई, कुन्दन काफ्ले, जित शेरचन, जितजंग बस्नेत, मोहन बस्नेत, कान्छाराम तामाङ र भुपेन्द्र शाही लगायतका नेता तथा युवाहरूलाई लक्षित गर्दै उहाँले सामाजिक सञ्जालमार्फत राजनीतिक विरोधको नाममा मर्यादाको सीमा ननाघ्न कडा चेतावनी दिनुभएको हो।
इनम सापकोटा र १८ करोड प्रकरणको प्रसङ्ग उप्काउँदै उहाँले प्रतिपक्षीभन्दा पनि आफैलाई आधिकारिक ठानेर नेपाली कांग्रेसको नाममा नियमित महाधिवेशन गर्ने पक्षहरूले पार्टीका आदरणीय नेताहरूमाथि अत्यधिक आक्रामकता देखाएकोप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रश्न उठाउनु, छानबिन माग गर्नु र जवाफदेहिता खोज्नु लोकतान्त्रिक अभ्यासभित्रको स्वाभाविक विषय भए पनि अनुसन्धान र न्यायिक प्रक्रिया अन्तिम निष्कर्षमा नपुग्दै कसैको राजनीतिक चरित्रमाथि नै फैसला सुनाउने अधिकार कसैलाई नभएको उहाँको प्रष्टोक्ति छ।
आज राजनीतिमा जुन उचाइ हासिल गरिएको छ, त्यहाँ पुग्न विद्यार्थी राजनीति, संगठनको कठिन संघर्ष र अग्रजहरूको संरक्षणको ठूलो भूमिका रहेको स्मरण गराउँदै लुइटेलले हिजैको पार्टीको संगठन र नेतृत्वको भरोसा बिर्सिएर अहिले मर्यादाविहीन प्रहार गर्नु दुर्भाग्यपूर्ण भएको औंल्याउनु भएको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा वा अन्य नेताहरूसँग वैचारिक असहमति हुन सक्ने र प्रतिस्पर्धा पनि गर्न पाइने भए पनि असहमति राख्ने नाममा भोलि एउटै पार्टीको बैठकमा, एउटै टेबलमा बस्न र मञ्चमा उभिनसमेत असहज हुने वातावरण बनाउनु उचित नहुने उहाँको तर्क छ।
राजनीति क्षणिक आवेग र सामाजिक सञ्जालमा लोकप्रियता कमाउनका लागि गरिने अभिनय मात्र नभएको उल्लेख गर्दै नेता लुइटेलले आज लेखिएका शब्द र बोलिएका अभिव्यक्तिहरू इतिहासका पानामा सधैं सुरक्षित रहने बताउनुभएको छ। महाधिवेशन गर्ने, विचार राख्ने र स्वस्थ प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई भए पनि पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यक्तिगत वैरभावमा नबदल्न उहाँले आग्रह गर्नुभएको छ।
आज जसलाई राजनीतिक रूपमा समाप्त पार्न बल प्रयोग गरिरहिएको छ, भोलि उही नेतृत्वको संरक्षण र एउटै झण्डामुनि उभिएर संगठन बनाउनुपर्ने दिन आउन सक्ने चेतावनी दिँदै उहाँले त्यसबेला आजका आफ्नै अभिव्यक्तिहरू आफ्नै लागि गलपासो बन्न सक्ने यथार्थ औंल्याउनु भएको छ। उमेरले युवा हुनु मात्र नभई विचारमा उदार, व्यवहारमा मर्यादित र जिम्मेवारीमा परिपक्व हुनु नै साँचो युवा नेतृत्वको पहिचान भएको बताउँदै नेता लुइटेलले पार्टीमा नेतृत्व र पद फेरिए पनि राजनीतिक संस्कार र इतिहासप्रतिको इमानदारी बदलिहाल्नु नहुनेमा जोड दिनुभएको छ।

