काठमाडौँ । लघुवित्त संस्थाबाट धितो राखेर पाउने कर्जाको सीमा उल्लेख्य रूपमा बढेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै धितोमा प्रवाह हुने अधिकतम कर्जा ७ लाखबाट बढाएर १५ लाख रूपैयाँ पुर्याइदिएको हो।
नयाँ निर्णयसँगै अब व्यवसाय विस्तार, घरेलु उद्यम तथा कृषि–पशुपालनमा लगानी गर्न चाहने ऋणीले लघुवित्तमार्फत पहिलेको तुलनामा दोब्बरभन्दा बढी कर्जा लिन सक्ने भएका छन्।
गत वर्षहरूमा एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिने, तोकिएको सीमा नाघेर ऋण प्रवाह हुनेजस्ता अनियमितता देखिएपछि राष्ट्र बैंकले कडाइ गरेको थियो। तर पछिल्लो समीक्षामा ऋणीहरूको भुक्तानी क्षमता र हाल देखिएको समस्यालाई ध्यानमा राख्दै सहजता ल्याइएको बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार, कर्जा तिर्न गाह्रो परेका ऋणीका लागि भुक्तानी तालिका परिमार्जन गर्ने सुविधा पनि लघुवित्त संस्थाले आवश्यकताअनुसार लागू गर्न सक्नेछन्।
यसले लघुवित्त ग्राहकलाई कर्जा व्यवस्थापनमा अतिरिक्त राहत मिल्ने अपेक्षा गरिएको छ।

