काठमाडौँ । सरकारका तर्फबाट पूँजी बजारमा देखिएका चुनौती तथा समस्या समाधान गर्ने उद्देश्यले पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यदल गठनबारे जानकारी दिएको हो।
विज्ञप्तिअनुसार कार्यदलले आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने, चलायमान प्रणालीका माध्यमबाट प्रकृतिसँग मेल खाने सुधारका ठोस सुझावसहितको कार्ययोजना तयार गर्नेछ।
कार्यदलको संयोजकमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक रुपेश के.सी. रहेका छन्। सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक निरञ्जन फूँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला छन्।
कार्यदललाई तत्काल सुधारका लागि आवश्यक सिफारिस पेश गर्न भनिएको अर्थ मन्त्रालयले जनाएको छ।