18.1 C
Kathmandu

राष्ट्रिय शक्ति नेपाल र वि.पि. काँग्रेस कार्यगत एकताबारे एक चर्चा

राष्ट्रिय शक्ति नेपाल र वि.पि.  काँग्रेसबिच साउन १७ गते जनआन्दोलनका लागि कार्यगत एकता गर्ने सहमति भएको छ । सो सहमति पत्रमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट र वि.पि.  काँग्रेसको तर्फबाट सभापति सुशिलमान शेरचनले हस्ताक्षर गर्नु भएको थियो । यो कार्यगत एकताबाट आफूहरूलाई राजावादी भन्न रुचाउने दलहरूलाई ठुलो झड्का लाग्ने देखिन्छ । “गंगा गए गंगादास, जमुना गए जमुनादास” प्रवृत्तिका राप्रपा र राप्रपा नेपाललाई भने यो कार्यगत एकताले निकै धक्का लाग्ने देखिन्छ ।

प्रातःस्मरणीय अग्रज एवं ऐतिहासिक वीर सहिदहरूको रगतबाट बनेको नेपाल राष्ट्र फेरी तिनै सन्ततीको बलिदान र अस्मिता रक्षाको निम्ती गुहार माग्ने स्थितिमा छ । देशमा भएका ठूला साना परिवर्तनहरूले नेपालीको चर्किएको मनमा मल्हम लगाउन सकिरहेको छैन । लामो समयदेखि देशमा राष्ट्रवादको झण्डा फहराउँदै बहुलवादमा आधारित संवैधानिक राजसंस्थात्मक पद्धतिद्वारा धार्मिक स्वतन्त्रता सहित सनातन हिन्दु राष्ट्रको मूल्यमान्यता कायम राख्दै अधिकार सम्पन्न स्थानीय विकासको अवधारणा नै राजनीतिक प्रणालीको कार्यदिशा हो भन्ने मान्यताका साथ मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निरन्तर सङ्घर्षरत जननायक वि.पि. कोइरालाका सिद्धान्त तथा राष्ट्रनिर्माता बडामहाराज पृथ्वीनारायण शाहका दिव्यउपदेशका अनुयायी वि.पि.  काँग्रेस तथा राष्ट्रिय शक्ति नेपालबिच नेपालमा व्याप्त भ्रष्ट प्रणाली परिवर्तनका लागि कार्यगत एकता हुनु राष्ट्रवादको झण्डा झैँ उँचो पार्नका लागि हो । देशलाई बर्बादी तर्फ उन्मुख पारेको प्रादेशिक संरचना राष्ट्रको पहिचान नामेट पार्ने धर्मनिरपेक्षता तथा परिवारवादी समानुपातिक निर्वाचन प्रणाली खारेज गरी राष्ट्रिय स्वाधीनता, सुशासन र दिगो सरकारका लागि २०४७ सालको संविधानलाई केन्द्रबिन्दु मान्दै भ्रष्टाचारलाई निर्मूल पार्दै भ्रष्टाचारीलाई कारवाही गरी भ्रष्टाचारबाट प्राप्त सम्पत्तिलाई राष्ट्रियकरण गर्नु यो कार्यगत एकताको विशेषता हो ।

नेपाल देवभूमि, तपोभूमि एवं पुण्यभूमि भएको कारण प्रकृतिले दिनुपर्ने हरेक कुरालाई कन्जुस्याईँ विना खुला हृदयले उपलब्ध गराएको कुरा हामी सबैले अनुभूति गर्न पाएका छौँ । नेपाल सर्वोच्च शिखर सगरमाथाको देश, गौतम बुद्धको जन्मभूमिवीर गोरखालीको देश भएको कुरा सर्वविदित तै छ । नेपाल विश्वको एकमात्र सार्वभौमसत्ता स्वतन्त्र, वैदिक सनातन सहितको शान्तिप्रिय राष्ट्र हो । नेपालको राजनीतिमा आएको विचलनको कारण अवसरवादी स्वार्थी प्रवृत्तिले देशको मूल्यमान्यता, अन्तराष्ट्रिय पहिचान लगायत गौरव गर्न लायक हरेक कुरा धूमिल हुँदै गएको छ । यस्तो परिस्थितिमा नेपालमा जन्म लिने सुअवसर पाएका हरेक राष्ट्रभक्त नेपाली चनाखो बन्दै आफ्नो धर्म, संस्कार, संस्कृतिको प्रवर्द्धन गर्ने पावन कार्यमा इमानदारीपूर्वक जुटी जन्मभूमि प्रतिको थोरै भएपनि ऋण तिर्ने सु–अवशरको सदुपयोग गर्नै पर्दछ ।

राजाको कुशल नेतृत्वमा नेपाली जनताको साथ सहयोग र नेपाली सेनाको राष्ट्रभक्तिपूर्ण भावनाले ओतप्रोत भई एकिकरण गरिएको नेपालको आजको अवस्था हेर्दा कहालिलाग्दो, अनिश्चीत र दुर्घटना हुने दिशा तर्फ बढीरहेकोले यो उल्टो गतिलाई समयमै रोक्न अति जरुरी छ । देशमा विद्यमान समस्त निति भन्दा माथि रहेको सार्वभौमसत्ताको रक्षा भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई सुनिश्चित गर्दै कर्तव्य र जिम्मेवारीबाट विचलित भई चरम अवरशरवादी र स्वार्थी प्रव्रितिमा लिप्त भएका नेताहरु र अवलम्वन गरिएको भ्रष्टाचारलाई फाल्नुको विकल्प छैन ।
राजसंस्थाको पालामा खोलिएका सयौँ साना÷ठूला उद्योगधन्दा, कलकारखानाहरु अकुत कमिशनको लागि कौडिको मोलमा बेचिएका छन् । पार्टिका कार्यकर्ताहरुलाई पाल्नको लागि धान्नै नसक्ने करको चर्को भार थोपारिएको छ । वैदिक सनातन पहिचान सहितको एकमात्र हिन्दु राष्ट्रको पहिचानलाई समाप्त पारी विश्वभरिका करिव १.५ अरव हिन्दुहरुको पवित्र हिन्दुराष्ट्रको पहिचान मेट्ने दुष्कर्म भएको छ । देशमा भएका राजनीतिक दलहरु कुनै उत्तर, कुनै दक्षिण वा कुनै पश्चिमा शक्तितर्फ उन्मुख हुदै गएका छन् । अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुका कारण देशको धर्म, संस्कार, संस्कृति आदि विथोलिनुका साथै जातिय सद्भाव तथा सहिष्णुता डगमगाउन थालिसकेको छ । नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्रनिति र पञ्चशिलको सिद्धान्त पुस्तकालय वा ईन्टरनेटमा खोज्नुपर्ने विषय बनेको छ । शान्ति क्षेत्रको प्रस्ताव नयाँ पुस्ताको लागि नौलो विषय बनेको छ ।

माथि उल्लेखित विभिन्न आन्तरीक तथा वाह्य समस्याको समाधानका लागि नेपालको संविधान २०७२ को खारेजी आजको आवश्यकता हो । संवैधानीक राजसंस्थाको पुर्नस्थापना, वैदिक सनातन पहिचान सहितको हिन्दु अधिराज्यको स्थापना र संघियता खारेजिका लागि देशव्यापी रुपमा स्वेच्छाले जनता सडकमा उत्रने वातावरणका लागि राष्ट्रिय शक्ति नेपाल अभियानमा र वि.पि. काँग्रेसमा आवद्ध हरेक अभियन्ताहरुको निस्वार्थ, ईमान्दार, निरन्तर मेहनत र अथक परिश्रमको आवश्यकता महशुस गरिएको छ ।

(लेखक राष्ट्रिय शक्ति नेपालको केन्द्रिय अभियन्ता हुनुका साथै प्रकाशन विभाग संयोजक पनि हुनुहुन्छ)

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार