काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट उड्ने बित्तिकै दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ । पाइलट मनिषरत्न शाक्यको भने उद्धार गरिएको छ । उनलाई उपचारका लागि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।
मृतक मध्ये अधिकांश सौर्य एयरलाइन्सका कर्मचारी रहेका छन् । २ जना एयरलाइन्सकै कर्मचारीका परिवारका सदस्य रहेको बताइएको छ । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
बुधबार करिब ११:११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै तल भुईँमा बजारिएको थियो ।