रवि लामिछाने नेपालको वैकल्पिक राजनीतिका एक चर्चित अनुहार हुन् । उनकै अनुहारलाई मूलधारका दलसँग झोक्किएका मतदाताले मत दिएर उनको कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चौथो ठूलो दल बनाइदिए । दुई पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल तथा झलनाथ खनाल भएको तथा सत्ताधारी गठबन्धनको साथ पाएको नेकपा एसले राष्ट्रिय दलको हैसियत नपाउँदा रास्वपालाई चौथो ठूलो दलको रूपमा ल्याउनमा लामिछानेकै नेतृत्व कारक छ । जसरी स्थानीय चुनावबाट धरानमा हर्क र काठमाडौँमा बालेन तथा धनगढीमा गोपी हमाल आदिलाई जनताले स्वतन्त्र उम्मेदवारको रूपमा दलतन्त्रविरुद्ध मत दिए, स्वतन्त्र नै फुर्को जोडिएको लामिछानेको दललाई पनि राम्रै मत दिए । ०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको उनको दलले अहिले पनि नेपाली राजनीतिमा अर्थ बोकेको छ । चुनाव ०८४ मा यो दललाई धेरैले हेरिरहेका छन् ।
लामिछानेले नेतृत्व लिएको रास्वपाको उडान जस्तो रोचक छ, उनले नेतृत्व लिएका सबै संस्थाको उडान भने त्यस्तै रोचक छैनन् । त्यसको एक उदाहरण हो उनकै नाम र अनुहार सारेर स्थापना गरिएको टेलिभिजन ग्यालेक्सी फोरके । न्युज २४ मा चलाउँदै आएको ‘सिधा कुरा जनतासँग’ बाट धेरै मात्रामा चिनिएका उनले ग्यालेक्सीमा आएर ‘सिधा कुरा’ चलाए । अहिले उनको नाम र अनुहारमा खोलिएको टिभीको राष्ट्रिय बिजोग भएको छ । संस्थाका प्रतिभाशाली अनुहारहरूले टिभी धमाधम छाडिरहेका छन् । आधाभन्दा धेरैले छोडेर यत्रतत्र भए । भएकाहरूले पनि तलब पाएका छैनन् । आधा वर्षदेखि पूरा तलब नपाएका कैयौँ अनुहार त्यो टेलिभिजनमा छन् । ०७७ फागुन ११ मा भव्य रूपमा कार्यक्रम गरेर नेपाली टेलिभिजनका हस्ती तथा सेलिब्रेटीहरू ल्याई खोलिएको टेलिभिजनले शुरुबाटै एक खाले मानक बनायो । अनुसन्धानात्मक समाचार, फिचर, रिपोर्ट, बहसदेखि पृथक् शैलीका कार्यक्रमबाट टेलिभिजनले एक खालको नाम बनायो । ब्रान्ड बनायो । तर, जब जब टेलिभिजन बजारमा चम्कियो तब नै उसले बजेट पाउन छोड्यो । व्यवस्थापन र बजेटबीच समस्या आउन थाल्यो । त्यसको उच्चतम् तह पुस १ बाट देखिएको छ । टेलिभिजनका समाचार प्रकाशन तथा प्रसारण बन्द भएका छन् । गीत बजाएर तथा पुराना रेकर्डेड सामग्रीको भरमा टेलिभिजन चलिरहेको छ ।
अहिले ग्यालेक्सीमा जुन समस्या छ त्यसको जसअपजसको एक मुख्य हिस्सा लामिछानेले लिनुपर्छ । उनले म त सेयरहोल्डर होइन भन्न पाउँदैनन् । उनले मैले त टेलिभिजन छाडेकाले चासो राख्न मिलेन भन्न मिल्दैन । रवि राजनीतिमा हुँदा पनि ग्यालेक्सी उनकै टिभी हो भन्ने आधार धेरै छन् । जस्तो सामान्यतयाः कुनै नेताको सचिवालयमा बसेको मान्छेलाई टेलिभिजनले पुनः काममा ल्याउँदैन । ग्यालेक्सीले भने लामिछाने गृहमन्त्री हुँदा सचिवालयमा बसेका अनुहारलाई पुनः जागिरमा ल्यायो । राम्रो जिम्मेवारी दियो । त्यसैले औपचारिक कागज वा लिखतमा जे भए पनि लामिछाने र ग्यालेक्सी एकअर्काका पर्याय नै मान्ने आधार छन् । अहिलेको ग्यालेक्सी संकटमा उनले नेतृत्व दिन आवश्यक छ । अरु दलका र अरु नेताका व्यवसायदेखि कमजोरीमा हिजो तिखो प्रहार गर्ने लामिछानेले आज आफू जोडिएको संस्थाले गरेको खराबी र देखाएको बिजोगमा आउने चोरी औँलाको सामना गर्न तयार हुनुपर्छ । यो मुद्दामा प्रश्न उठाउनेहरूलाई उनले दलीय आँखा वा अरु पक्षधरको कोणमा व्याख्या गरेर भाग्न मिल्दैन । ग्यालेक्सी संकट टार्न उनले देखिने नेतृत्व देखाउनुपर्छ । त्यो ग्यालेक्सीका पीडित अनुहारहरू सबैको साझा सवाल हो । हिजो लामिछानेको अनुहार हेरेर ग्यालेक्सीमै आएका पत्रकार उनको दलमा पनि प्रवेश गरे । उनको सचिवालयमा छिरे । आज टेलिभिजनमै हुने व्यावसायिक पत्रकार तथा अन्य जनशक्ति बिलखबन्दमा परेका छन् ।
लामिछानेले ग्यालेक्सीसँग जोडिएर आफ्नो दल औपचारिक रूपमा दर्ता गरेको भन्दा अगाडिको समयमा भनेको ०७७ फागुन ११ देखि ०७९ असार १७ सम्म हो । यो अवधिमा भएका ग्यालेक्सीका जसअपजसमा उनको सतप्रतिशत भाग जान्छ । त्यसपछिकामा पनि उनी जोडिन्छन् । ग्यालेक्सी संकटमा लामिछानेले राम्रो निचोड दिन नसके उनको रास्वपा दलकै भविष्यमा पनि प्रश्न आउनेछ । बजारमा माहोल हुँदा ग्यालेक्सी खोले । बजार कमजोर भएपछि छाडे । ठीक त्यसैगरी जनमत राम्रो हुँदा दल खोले तर कमजोर भएपछि ग्यालेक्सीजस्तै छोड्ने त होइनन् ? यो गम्भीर सवाल लामिछानेतिर सोझिएको छ । उनले यसलाई कसरी निकास दिन्छन् भन्नेमा उनीप्रतिको विश्वासदेखि भरोसाका आधार बन्ने वा भत्किने कुरा तय हुनेछन् । नेपालमा चलेका परम्परागत टेलिभिजनभन्दा भिन्न भएर आएको ग्यालेक्सीमा आममान्छेको जुन भरोसा थियो, त्यसमा छोटो समयमै संस्थागत हुन पुगेको थियो । देशका शीर्ष च्यानलमा एक मुख्य च्यानल भनेर ग्यालेक्सी आएको थियो । टेलिभिजनमा मात्रै होइन, राजनीतिमा पनि त्यस्तै भयो । परम्परागत दलबाट हैरान नागरिकले रास्वपालाई मत दिए । मूलधारको प्रमुख दल बनाए । तर, अबको प्रश्न कतै लामिछानेले रास्वपालाई पनि ग्यालेक्सी त बनाउँदैनन् ?