29.1 C
Kathmandu

राष्ट्र गुरु योगी नरहरिनाथ: एक मूर्धन्य प्रतिभा

योगी नरहरिनाथ (१९७१-२०५९) नेपालका एक आध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्। वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकाण्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ। देश एवं विदेशका धेरै ऐतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उनले अध्ययन अनुसन्धान गरेका छन्। त्यस बाहेक उनी एक कुशल साहित्य सर्जक पनि हुन्। सिद्धहस्त आँसु कविका रूपमा पनि परिचित उनी नेपालका आध्यात्मिक व्यक्तिहरूमध्ये एक हुन्। संस्कृत हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका केही कृतिहरू (योगी नरहरिनाथ स्मृतिग्रन्थ, २०६८:१३५) प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन्। घण्टौँसम्म कवितामय संस्कृतमा धाराप्रवाह प्रवचन गर्ने योगीका निमित्त बसेर कविता लेख्नु सामान्य कुरा थियो।

योगी नरहरिनाथको जन्म नेपालको मध्य -पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको कर्णाली अञ्चलको कालीकोट जिल्ला अन्तर्गत लालु भन्ने गाउँमा विक्रम सम्वत् १९७१ फागुन १७ गते प्रातः सूर्योदय बेलामा भएको थियो। उनी भारद्वाज गोत्रमा आवद्ध ऋक्सेन थापा क्षत्रियका ख्याति प्राप्त कुलदीपक हुन्। योगी नरहरि नाथको बाल्यकालको नाम बलवीर कृष्ण थापा थियो । आठ वर्षकै उमेरमा व्रतबन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो । व्रतबन्धको लगत्तै घर छोडेका योगीजी पश्चिम नेपालको इतिहास अध्ययनका लागि प्रथम पुरुष हुन् । योगीजीले वि. सं. २०१२ तिर कष्टपूर्वक सङ्कलन गरेका प्रस्तर अभिलेख र ऐतिहासिक तथ्याङ्कहरूको थप वैज्ञानिक अध्ययन अनुसन्धान हुन सकेको छैन । उनले वारीको शिला खोजेजस्तो गरेर खोजेका छन् अभिलेखहरू, कृतिहरू र पश्चिम नेपालको इतिहाससँग सम्बद्ध दस्तावेजहरू ।

शिखरिणी काव्य भन्नु समीचीन ठहर्छ। अन्वेषणात्मकतालाई पुष्टि हुने केही काव्यांशहरू हेरौं। गरौं सेवा भन्ने मुटु गरी दरो कम्मर कसी, पसी गैरापानी कतिकति घना जङ्गल पसी। बसी ऒडारैमा सुहगन गुहा गह्वर धसी। पुरातत्त्वान्वेसी भयर इतिहासै बटुलियो गुफा गुम्बा माडू मड मठ मठी मन्दिर दरी, कुटी पाटी पौवा सतल जलधारा सकलका। कुवा नाउला नाउली गड गडि किला स्तूप घरका, लियौं हेरी मागी निखिल अभिलेख-प्रतिलिपि । प्रकृतिचित्रणका आधारमा हेर्दा शिखरिणी यात्रा काव्य महाकवि देवकोटाका काव्यको नजिक देखिन्छ। प्रकृतिप्रयोगका सापेक्षतामा देवकोटा र माधव घिमिरेलाई स्वच्छन्दतावादी-यथार्थवादी कविका रूपमा देख्न सकिन्छ भने योगीलाई स्वच्छ यथार्थवादी कविका रूपमा पाउन सकिन्छ। अधिकांश स्वच्छन्दतावादी कविहरूले ध्वनि र प्रतीकको प्रयोगद्वारा प्रकृतिचित्रण गर्न रुचाएको पाइन्छस तर योगीका कवितामा प्रकृतिको साक्षात् स्वरूपको दर्शन गर्न सकिन्छ। योगीका कवितामा प्रकृतिचित्रणका साथै राष्ट्रवादी स्वर पनि मुखरित भएको पाइन्छ। स्वच्छन्दतावादी कविहरू प्रकृतिको सुन्दर, शान्त एवम् कोमल रूपप्रति आकर्षित भएर त्यसैको गुणगानमा आफ्नी प्रेयसीको न्यास्रो मेटाउने गर्छन्, तर योगीका कवितामा यस प्रकारको प्रकृतिप्रेम पाइदैन। योगीहरूका लागि सुरा, सुन्दरी र सान्सारिक सुखभोग बाधक ठहर्छन्। उनीहरू सुन्दरता र कोमलतासँग होइन कठोरतासँग लड्दै लक्षप्राप्तिमा अघि बढिरहेका हुन्छन्।

योगीका कवितामा राष्ट्रियताको ज्वलन्त उद्घोष पाइन्छ। नेपालको इतिहास, भुगोल, पुराण, पुरातत्त्व, धर्म, दर्शन, जनजीवन, पशुपन्छी, वनस्पति, पर्यटकीय स्थानविशेष जस्ता राष्ट्रियताका प्रमुख पक्षलाई कवितामा यत्रतत्र उठाइएको छ। अन्य विशेषताका तुलनामा शिहरिणी यात्रा राष्ट्रियताले ऒतप्रोत भएको कविता मानिन्छ। यसमा राष्ट्रियता छता छुल्ल भएर पोखिएको छ। निस्वार्थ भावले राष्ट्रप्रति समर्पित योगीको प्रस्तुत काव्य सबैका लागि पठनीय बनेको छ। हामी नेपालीले सर्वप्रथम आफैंलाई चिन्न सक्नुपर्छ भन्ने भावका साथ कला, संस्कृति, आदर्श जस्ता विषयवस्तुप्रति कविता यसरी बोलेको छ। अनेकौँ प्राकृतिक रत्नलाई गर्भमा बोकेर हिमालय पर्वत लाखौं वर्षदेखि खडा छ हाम्रो सिरानीका रूपमा। प्रस्तुत ग्रन्थको सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा यसको ऎतिहासिकतालाई लिन सकिज्छ। प्रस्तुत ग्रन्थको नाम ऐतिहासिक शिखिरणी यात्रा रहेबाट यस काव्यलाई ऐतिहासिक मान्न सकिन्छ । यति मात्र होइन काव्य सिर्जनाको प्रमुख उद्देश्य पनि ऐतिहासिक एवं पुरातात्त्विक विषयवस्तुमाथिको अन्वेषण र अनुसन्धान नै रहेको देखिन्छ । “हाजारौं लाखौं वर्षका इतिहास पुरातत्वको अङ्गुल्या निर्देश यो ऐतिहासिक ‘शिखरिणी यात्रा’ सूचना मात्र हो । उपलब्धि ‘इतिहास प्रकाश’ आदि मुद्रित अमुद्रित ऐतिहासिक पुरातात्विक ज्ञानको सामग्री हो । ऐतिहासिक साहित्य समेत रहस्यमय अद्भुत इतिहासबोधनिधि हो । यो पुरातात्विक इतिह आस भन्ने इतिहास हो ।”।

समग्रमा योगी स्वयं ऐतिहासिक एवं पुरातात्विक प्रतिमूर्ति भएकाले उहाँसँग सम्बन्धित कृतिहरू, अन्वेषणहरू ऐतिहासिक र पुरातात्विक नहुने प्रश्न नै आउन सक्दैन । प्रस्तुत काव्यको अर्को महइभ्वपूर्ण विशेषता भनेको यसको चित्रात्मक प्रस्तुति हो । यसमा रहेका जम्मा २३७ वटा श्लोक मध्ये ११५ वटा श्लोक प्रत्येकमा चित्रात्मक प्रस्तुति रहेको छ । प्रत्येक श्लोकका सिरानमा सुन्दर हस्तलिखित चित्र राखिएको छ । योगी प्रभातनाथद्वारा लेखिएका प्रस्तुत चित्रहरू यथातथ्य रूपमा कविताको भावाभिव्यञ्जन गर्न समर्थ भएका छन् । यहाँ कविता र चित्रको तादात्म्य नङ र मासु जस्तै भएर रहेको पाइन्छ । ११५ श्लोक कविता प्रत्येकको चित्रानुवाद अथवा चित्रमय वर्णन हुनु भनेको सारै ठूलो कुरा हो । त्यसमा पनि छायानुवाद नभएर भावानुवाद भएको छ । नेपाली कविताको इतिहासमा यस्तो कार्यलाई ‘न भूतो न भविष्यति’ भनेर ठोकुवा पनि गर्न सकिन्छ । नेपाली साहित्यका वरिष्ट समालोचकहरूमध्ये कसैका आँखामा यो काव्य परिदिएको भए योगी नरहरिनाथलाई पनि प्रयोगवादी कविका रूपमा प्रतिष्ठापित भएको देख्न पाइन्थ्यो । तर ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदा च न’ मा विश्वास गरी राष्ट्रका लागि, राष्ट्रको इतिहास र संस्कृतिका लागि मरिमेट्ने एउटा निष्णात कविलाई कसले पो वास्ता गथ्र्यो र ! त्यसैले योगीलाई कविका रूपमा पत्याइदिने समालोचकहरू त्यति देखिएनन् । ‘स्वदेशो भुवन त्रयम्’ भन्ने एउटा महान् देशभक्तलाई कसैले चिन्न सकेनन् । यस ग्रन्थको पृष्ठ संख्या १५१ देखि १७१ सम्मका कविताहरू चित्ररहति छन् । यसको कारण योगी स्वयंको उद्गार यस्तो रहेको छ-आर्थिक कृशताले यहाँदेखि तलका चित्र दिन नपाई शब्दचित्र मात्र प्रस्तुत गरिन्छ ।

नेपाली साहित्यको इतिहासमा यात्रा साहित्यको महत्त्वपूर्ण स्थान रहेको छ। नेपाली साहित्यको इतिहासमा यात्रा साहित्यको महइभ्वपूर्ण स्थान रहेको छ । आजसम्म नेपाली भाषामा लिखित यात्रा साहित्यमा अधिकांश ‘यात्रा–निबन्ध’ रहेको पाइन्छ । ‘यात्रा निबन्ध’लाई ‘नियात्रा’ पनि भन्ने गरिन्छ । यहाँ ‘नियात्रा’ साहित्य निकै फस्टाएको पाइन्छ भने काव्यमय यात्रा साहित्यमा खडेरी नै परेको छ । यसै अवस्थामा योगी नरहरिनाथको ‘शिखरिणी यात्रा’को प्रादुर्भाव भएको छ । यसबाट नेपाली यात्रा साहित्यको उद्यान सजाउने कार्यमा महत्त्वपूर्ण सहयोग पुगेको छ । यात्रा निबन्धमा भन्दा ‘शिखरिणी यात्रा’मा अलिक फरक विशेषताहरू पाउन सकिन्छ । नियात्रामा थोरै कुरा भन्न धरै लेख्नु पर्छ भने यात्रा काव्य सूत्रात्मक हुन्छ र यसमा थोरैबाट धेरै भन्न खोजिएको हुन्छ । यात्रा काव्यले समयको बचत गर्छ । यसले अधिक मनोरञ्जन प्रदान गर्दछ । यसलाई सूर, तालमा गाउन पनि सकिन्छ । यसको भाषा तार्किक नभएर ध्वन्यात्मक हुन्छ । शब्दसौन्दर्यात्मक भाषाको प्रयोग यसको अर्को विशेषता हो । उपर्युक्त विशेषताहरू ‘शिखरिणी यात्रा’मा पाउन सकिन्छ । ‘शिखरिणी यात्रा’ यात्रा–काव्य मात्र होइन । यो त यात्रा–चित्र र यात्रा निबन्ध समेतको त्रिवेणी हो । अर्को शब्दमा यो महइभ्वपूर्ण आयुर्वेदिक औषधि–हर्रो, बर्रो र अमला तीनै थोक मिसाई तयार पारिएको ‘त्रिफला’ हो । यसलाई नेपाली साहित्य, संस्कृति, कला, पुरातत्व, इतिहास लगायत अन्य विषयहरू समेतको जिज्ञासा मेट्ने अचूक औषधिका रूपमा लिन सकिन्छ ।

तीन प्रकारका व्यक्तिका निमित्त यो काव्य अत्यन्त उपयोगी छ-चित्र मनपराउनेका लागि, कविता मनपराउनेका लागि अनि निबन्ध मनपराउनेका लागि । त्यति मात्र होइन विश्वका सबै किसिमका भाषाभाषीका निमित्त पनि यो यात्रा–काव्य लाभदायक सिद्ध हुन्छ । यो बहुभाषिक छ र वास्तवमा यात्रा साहित्य यस्तै हुनुपर्छ पनि । चित्रको भाषा विश्वभाषा हो । यसलाई विश्व भरका जनताले सजिलै बुझ्न सक्छन् । त्यसैले ‘यात्रा–चित्र’लाई बहुभाषिक भनिएको हो । यसभित्रका केही कविताबाहेक सबै कविता नेपालीमा छन् । यी कविता नेपाली भाषीहरूका लागि हुन् भने संस्कृतमा लेखिएका केही कविता संस्कृतज्ञाताका लागि हुन् । अब रह्यो यात्रा निबन्धको कुरा । प्रत्येक श्लोकभन्दा तल लेखिएको व्याख्या हिन्दीभाषीहरूका लागि उपयुक्त छ । यसरी ‘शिखरिणी यात्रा’ ११५ श्लोक सम्म बहुभाषिक छन् । उपर्युक्त आधारबाट हेर्दा प्रस्तुत काव्यलाई अन्तर्राष्ट्रिय स्तरको काव्यका श्रेणीमा राख्न सकिन्छ । प्रस्तुत अन्वेषणात्मक यात्रा साहित्यको वर्चस्व नेपालमा जति रहेको छ विदेशी मुलुकहरूमा पनि त्यत्तिकै रहेको छ भन्न हिचकिचाउनु पर्दैन । छन्दले कविताको भाव र लयलाई नियमबद्ध बनाउँछ । यसमा निश्चित सङ्ख्याका अक्षर, मात्रा, गति, यति, लय, स्वर आदिको समन्वय गरिएको हुन्छ । प्रस्तुत काव्यमा छन्दशास्त्रीय नियमअनुसार ‘शिखरिणी’ छन्दको प्रयोग भएको छ । यो समवृत छन्द हो ।

यस अन्तर्गत वीरधारा, भक्तिधारा, शृङ्गारिक धारा, शास्त्रीयतावादी धारा, आधुनिक धारा, समसामयिक धारा जस्ता उपसमुच्चयहरू पर्दछन् । उपर्युक्तमध्ये शास्त्रीयतावादी धारा र आधुनिक धाराभित्र राखेर प्रस्तुत काव्यको अध्ययन गर्न सकिन्छ । शास्त्रीयतावादका मूलभूत विशेषता के हुन् भने यसले काव्य–भाषाको परिष्कृत, परिमार्जित र आधुनिक रूपको विकास गर्छ । यसभित्र नीतिशिक्षा र सुधारवादी स्वर मुखरित भएको हुन्छ । संस्कृतका शास्त्रीय छन्द र अलङ्कारहरूको अधिकाधिक प्रयोग, आध्यात्मिक, दार्शनिक चिन्तन, ऐतिहासिकता, अन्वेषणात्मकता, यात्रा सन्दर्भ, आत्मकथा जस्ता कुरा पनि शास्त्रीयतावादभित्र प्रतिविम्बित भएको पाइन्छ । जुन कलाकृति वा साहित्य रचना शाश्वत मूल्य एवं महत्त्वका हुन्छन् र कुनै पनि देश तथा कालको सीमामा साँघुरिएर रहदैनन् र कालजयी हुन्छन्, तीनै यथार्थमा उच्चकोटिका वा क्लासिकल ठहर्छन् । अर्को शब्दमा क्लासिकल साहित्यले युगजीवनका त्यस्ता तत्व वा युग चेतनालाई आत्मसात् गरेको हुन्छ, जसको उपयोगिता र सार्थकता सार्वकालिक एवं सार्वदेशिक हुन्छ ।

योगीको ‘शिखरिणी यात्रा’ काव्यभित्र यस वादका अधिकांश अभिलक्षण प्राप्त गर्न सकिन्छ । किनभने प्रस्तुत काव्य परिष्कृत, परिमार्जित र आधुनिक छ । त्यसैगरी नीति–शिक्षा र सुधारवादी स्वरहरू पनि प्रत्यक्षतः यसमा मुखरित भएको पाउन सकिन्छ । शास्त्रीय छन्दमा लेखिएको यस काव्यमा आध्यात्मिक दर्शन, दार्शनिक चिन्तन, ऐतिहासिकता, अन्वेषणात्मकता यात्रा–सन्दर्भ जस्ता विषयवस्तुहरू रहेको पाइन्छ । ऐतिहासिक एवं पुरातात्विक मूल्य र महत्त्वका विषयमा रचना गरिएको प्रस्तुत काव्य सार्वदेशिक एवं सार्वकालिक भएकाले लेखनाथ, सोमनाथप्रभृति कविहरूका कृतिझैं यो कृति पनि शास्त्रीयतावादको एउटा बन्न पुगेको पाइन्छ । शास्त्रीयतावादी धाराका साथसाथ यस काव्यलाई आधुनिक धारा अन्तर्गत पनि अध्ययन गर्न सकिन्छ । 

कविशिरोमणि लेखनाथका काव्यमा शास्त्रीयतावाद र आधुनिकता दुवै पाइएझैं कवि नरहरिनाथका काव्यमा पनि उक्त दुवै प्रवृति पाउन सकिन्छ । निम्न लिखित विशेषताहरू आधुनिताका परिचायक हुन् र योगीका काव्यमा पनि प्रत्यक्ष वा परोक्ष रूपमा यस्ता विशेषताहरू रहेका पाइन्छन् : तथ्यको खोजी र परीक्षण गरी निष्कर्ष निकाल्नेतर्फ अभिमुख हुनु, परम्परित स्थापनाका स्थानमा प्रयोगात्मक र खोजमूलक ढङ्गले नवीन परिपाटीको निर्माण गर्नु, वस्तुपरक विश्लेषणलाई बढी प्राथमिकता दिनु । ‘ऐतिहासिक शिखरिणी यात्रा’ काव्य एउटा नितान्त नौलो प्रयोग हो । तथ्यको वस्तुपरक अन्वेषण गरी निष्कर्षमा पुग्ने कुरालाई आफ्नो प्रमुख लक्ष्य बनाउने कार्यमा काव्य अघि बढेको पाइन्छ जस्तै कठिन परिस्थितिको समाधान गर्न पनि पछि नपरेका यथार्थहरू कविताले बोलेका छन् । अन्वेषणात्मक आन्दोलनका विषयमा लेखिएका योगीका कविताहरू अत्यन्त क्रान्तिकारी छन् । आधुनिकताको प्रमुख गुण यो पनि हो । विभिन्न किसिमका प्रयोगहरू पनि आधुनिकताभित्रै पर्छन् । अर्को महत्त्वपूर्ण कुरा के छ भने यो काव्य पर्यटन र पर्यावरणमा आधारित प्रयोगको एउटा नमुना हो । छन्दवादी कविहरूमा रुढ भइसकेको अन्त्यानुप्रासिक योजनालाई शिथिल पार्नु आधुनिकताको अर्को उदाहरण हो । 

यस श्लोकमा एक ठाउँमा पनि अन्त्यानुप्रास छैन । पूर्ववर्ती कविहरूका छन्दोबद्ध कविताभन्दा यो काव्य यस अर्थमा फरक छ कि यसले अन्त्यानुप्रासको नियमलाई चुनौती दिएको छ । परम्परालाई तोडेर अघि  बढ्नु नै  वास्तवमा आधुनिकताहो। शिखरिणी यात्रालाई सिद्धान्तगत समुच्चय अन्तर्गत  परिष्कारवाद,  यथार्थवाद, अस्तित्ववाद,  पर्यटन तथा पर्यावरणवाद  जस्ता उपसमुच्चयहरूका सापेक्षतामा  अध्ययन  गर्न  सकिन्छ ।  यी उपसमुच्चयमध्ये परिष्कारवादको चर्चा धारागत अध्ययनका क्रममा भइसकेको छ । यहाँ चर्चा गरिने अर्को उपसमुच्चय हो यथार्थवाद । यथार्थ भनेको जस्ताको तस्तै अर्थात् वास्तविकता जे हो त्यही नै हो भन्ने कुरामा सबैजसो समालोचक सहमत देखिन्छन् । यस काव्यमा कविले अन्वेषणका क्रममा देखेका, भोगेका, अध्ययन गरेका कुराहरूको यथातथ्य वर्णन गरेको पाइन्छ । खास गरेर कला साहित्यका सन्दर्भमा यथार्थ जीवन र खसोखास तथ्यलाई निष्पक्ष र निडर भई पूरा इमान्दारीका साथ ठीकठीक तरिकाले अथवा भनूँ वस्तुगत ढङ्गले तिनका कटु, नराम्रा र वेदनादायी कुराहरूलाई समेत कत्ति पनि तलमाथि नपारी र तिनको आदर्शीकरण नगरीकन चित्रण–अङ्कन गर्नुपर्छ भन्ने मान्यता वा सिद्धान्त नै रियालिज्म वा यथार्थवाद हो । यस भनाइसँग सामञ्जस्य राख्ने योगीको प्रस्तुत काव्य सिद्धान्ततः यथार्थवादी भएको मान्न सकिन्छ । ‘शिखरिणी यात्रा’ काव्यलाई अस्तित्ववादको आलोकमा पनि अध्ययन गर्न सकिन्छ । अस्तित्ववाद मूलतः दर्शनपरक सिद्धान्त हो । सर्वप्रथम पश्चिमी विद्वान्द्वारा यो सिद्धान्त प्रतिपादित भएको पाइन्छ । पश्चिमी विद्वान्का साथसाथ पूर्वेली विद्वान्हरूले पनि यसबारेमा आ-आफ्ना धारणा अघि सारेका छन् । एकजना नेपाली विद्वान्को भनाइ यसप्रकार रहेको देखिन्छ -‘यहाँनिर पूर्वीय अद्वैत वेदान्तदर्शनसित यो अस्तित्ववादको किञ्चित् तुलना गर्न मन लाग्छ किनभने पूर्वीय वेदान्त दर्शन र यो पाश्चात्य अस्तित्ववाद दुवै नितान्त व्यक्तिवादी चिन्तन-प्रवृत्ति (अहं ब्रह्मास्मि) हो । दुवै थरी दर्शनले मान्छेको वैयक्तिक जीवनलाई नै आफ्नो चिन्तनको मूल केन्द्र बिन्दु बनाउँदै त्यसलाई सार्थक र मूल्यवान् तुल्याउन चाहेको देखिन्छ । यस प्रकार नितान्त व्यक्तिवादी दृष्टिले मात्र होइन, अपितु तात्त्विक दार्शनिक दृष्टिले पनि यी दुवै दशर्न उस्तै उस्तै लाग्छन् ।

एकोअहं बहुस्याम मा विश्वास राख्ने योगी नरहरिनाथ अद्वैतवादी दार्शनिकका रूपमा प्रतिष्ठापित नाम हो । योगीले अहं ब्रह्मास्मि लाई ओं को पर्याय मानेको, बेदो अखिलो धर्ममूलम्, ईशावास्यमिदं सर्वम्, सर्वं खल्विदं ब्रह्म, खम् ब्रह्म समेत लाई आफ्नो मूल मन्त्र ठानेको हुनाले प्रस्तुत काव्यमा पनि प्रत्यक्षतः अस्तित्ववाद मगमगाएको पाउन सकिन्छ, किनभने कविभित्र रहेको विचारधाराको प्रभाव काव्यभित्र पनि प्रतिविम्बित नभइरहन सक्दैन । ‘शिखरिणी यात्रा’ काव्यलाई पर्यटन र पर्यावरणका सापेक्षतामा अध्ययन गरेको खण्डमा यसमा स्पष्टतः उत्तरआधुनिकता मुखरित भएको पाइन्छस किनभने उत्तरआधुनिकतावादले तात्त्विक अनिश्चितता, गहनताको अभाव, बहुलवादको स्वीकार, खण्डखण्डलाई जोडजाड गरी मिलाउने प्रवृत्ति, सुसङ्गति र सामञ्जस्यको अभाव, विधाभञ्जन र विधामिश्रण जस्ता कुरा मात्र नबुझाएर वर्तमान समयको सबैभन्दा बढी चासोको विषय रहेको पर्यटन-पर्यावरणलाई पनि बुझाउँछ । जे। युरीले पर्यटनलाई उत्तरआधुनिक समाजको साँस्कृतिक अभिव्यक्ति मानेका छन् । यात्राजन्य मनोरञ्जन पर्यटन हो । यस रूपमा नेपाली साहित्यमा नियात्रा निकै फस्टाएको छ । यात्राका साथ हुने दुःखसुखानुभव नै पर्यटन हो ।’ स्तवमा वर्तमान युगको एउटा प्रमुख माग पर्यटन र पर्यावरण हो । पर्यटन विभिन्न उद्देश्यपूर्तिका निम्ति गरिन्छ । कसैका लागि पर्यटन मनोरञ्जन हो भने कसैका लागि अध्ययन र अनुसन्धान हो । त्यसै गरी कसैका लागि यो शुद्ध संस्कृतिको विषय हो भने कसैका लागि साहित्य लेखनको विषय पनि हो । योगीको ‘शिखरिणी यात्रा’ विशुद्ध अध्ययन र अनुसन्धानका निमित्त हो र त्यही अध्ययन र अनुसन्धानलाई नै योगीले हल्का मनोरञ्जनका रूपमा लिएको पाइन्छ । यस अनुसार अध्ययन गर्दा शिखरिणी यात्रा आधुनिकोत्तर काव्य बन्न सकेको पाइन्छ । नेपाली साहित्यमा प्रसस्त नियात्रा लेखिएका पाइन्छन्, तर ‘शिखरिणी यात्रा’ सद्दश काव्य अद्यावधि लेखिएको पाइँदै न । यो कृति अन्य उत्तरआधुनिक कृतिभन्दा नितान्त पृथक् रूपमा रहेको देखिन्छ । यसमा कयात्रा, नियात्रा र चियात्रा गरी एकै ठाउँमा तीन यात्रा समेटिएका छन् । ‘कयात्रा’ शिखरिणी छन्दमा नेपालीमा छस ‘नियात्रा’ (कयात्राको भावानुवादका रूपमा) हिन्दी भाषामा छस अनि ‘चियात्रा’ (चित्रमय यात्रावर्णन) पनि ‘कयात्रा’कै भावानुवादका रूपमा आएको छ । ‘चियात्रा’ बहुभाषिक छ भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ । यसभित्रको चित्रद्वारा संसारका जुनसुकै भाषाभाषीले पनि कविताको मर्म सजिलै अध्ययन गर्न सक्छन् ।

पर्यटनभन्दा पर्यावरण अझ आधुनिकोत्तर विषय हो । प्रस्तुत काव्यको अर्को सन्देश पर्यावरणीय प्रेम पनि हो । वनजङ्गलको विनाश, कीटनाशक औषधिको बढ्दो प्रयोग, त्वरित गतिमा रहेको शहरीकरण, कलकारखानाबाट उत्पन्न प्रदूषित धुवाँ आदिको प्रभावबाट प्रदूषणको शिखरतिर चढ्दैगरेको पर्यावरणीय प्रदूषणलाई जोगाउन पूर्वीय वैदिक विज्ञान मात्र एउटा अचूक उपाय हो भन्ने कुरालाई मध्यनजर गरी यसको शुद्धीकरणका लागि योगीबाट एउटा उदाहरणीय कार्य भएको छ । अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः । यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भव भन्ने शाश्वत् उक्तिलाई चरितार्थ गर्न मन, वचन र कर्मले सदा लागिरहने योगीका यज्ञसम्बन्धी महान् कार्यबाट पर्यावरण सन्तुलनमा सहयोग पुगी त्यसको फल प्राणि मात्रले पाउने हुनाले योगीलाई एउटा सशक्त पर्यावरणवादी व्यक्तिका रूपमा लिन सकिन्छ । प्रस्तुत काव्य पनि योगीको उपर्युक्त प्रमुख मान्यताबाट अछुत रहन सकेको छैन । किनभने यस काव्यमा पर्यावरणीय प्रेम स्पष्टतः अभिव्यञ्जित भएको छ । अहिंसा परमो धर्मः मा विश्वास राख्ने योगी पर्यावरण संरक्षण र संबर्धनका प्रमुख हिमायती भएर एउटा नितान्त नयाँ ९आधुनिकोत्तर० प्रयोग कर्ताका रूपमा प्रतिष्ठापित भएका छन् स त्यसैले उनलाई आधुनिकोत्तर कविका रूपमा समेत उचित स्थान उपलब्ध गराउन अग्रज समालोचकहरूको ध्यान यतातिर आकृष्ट हुनु बाञ्छनीय देखिन्छ । प्रस्तुत लेख ‘शिखरिणी यात्रा’ काव्यको वस्तुगत विश्लेषणमा केन्द्रित छ । यसको प्रमुख उद्देश्य विभिन्न कोणबाट यस काव्यको विश्लेषण गर्नु र योगी नरहरिनाथलाई एउटा आधुनिकरआधुनिकोत्तर काव्यकारका रूपमा प्रतिष्ठापित भएको देखाउनु रहेको छ । ‘शिखरिणी यात्रा’ काव्य मूलतः अन्वेषणपरक छ । यसको दोस्रो विशेषता भनेको प्रकृतिचित्रण हो । यसो भएता पनि यस काव्यका रचनाकारलाई स्वच्छन्दतावादी कवि नभनेर स्वच्छ–यथार्थवादी कवि भन्नुपर्ने हुन्छ, किनभने यस काव्यभित्र प्रकृतिचित्रण भएका कवितामा राष्ट्रवादी रङ्ग भरिएका छन् र ती अत्यन्त चहकिला छन् । प्रस्तुत काव्य क्रान्तिकारी कविको शान्तिपूर्ण काव्यका रूपमा प्रतिष्ठापित भएको छ । यस काव्यको अर्को विशेषता भनेको ऐतिहासिकता हो । यहाँ यत्रतत्र ऐतिहासिकता प्रतिविम्बित भएको छ । यस काव्यको नयाँ नौलो विशेषता भनेको यसको चित्रात्मक प्रस्तुति हो । सुरुका ११५ वटा कविताहरूलाई चित्रमा समेत अध्ययन गर्न सकिन्छ । चित्रको भाषा विश्वभाषा भएकाले विश्वका कुनाकुनामा रहेका हरेक भाषाभाषीले कविताको स्वाद लिन सक्छन् ।

प्रत्येक कविताभन्दा माथि चित्र छ भने तल हिन्दीमा निबन्धमय भावानुवाद छ । त्यसैले हिन्दीभाषीका निमित्त पनि यो काव्य त्यत्तिकै लोकप्रिय भएको छ । छन्दमा लेखिएको यो काव्य छन्दको शास्त्रीय नियममा बाँधिएको छ । ‘शिखरिणी’ छन्दमा लेखिएको प्रस्तुत काव्यलाई सामान्य पाठकले पनि मजासँग लय हाली गाउन सक्छन् । शास्त्रीय नियममा आबद्ध भएतापनि यो काव्य अन्त्यानुप्रासमा बाँधिएको छैन । छन्दोबद्ध कविताका क्षेत्रमा यो एउटा क्रान्ति हो र आधुनिकताको परिचायक पनि । ‘शिखरिणी यात्रा’ काव्यलाई विभिन्न आधारमा अध्ययन विशलेषण गर्न सकिन्छ । धारागत अध्ययनका आधारमा यसलाई शास्त्रीयतावादी धारा र आधुनिक धारा अन्तर्गत विश्लेषण गरिएको छ भने सिद्धान्तगत अध्ययनका दृटिले यसलाई परिष्कारवाद, यथार्थवाद, अस्तित्ववाद तथा पर्यटन र पर्यावरणवादभित्र समेटी अध्ययन गरिएको छ । त्यसैगरी रूपगत अध्ययनका आधारमा यो छन्दोबद्ध कविता हो । त्यस्तै गठनगत दृष्टिबाट पर्यालोचन गर्ने हो भने यसलाई सरल बनोट अन्तर्गत अध्ययन विश्लेषण गर्न सकिन्छ भने प्रयुक्तिगत दृष्टिमा यसलाई सामान्य शैली भएको काव्यका श्रेणीमा राखेर विवेचन गर्न सकिन्छ । प्रस्तुत काव्यमा राम्रोसँग अग्रभूमिको निर्माण गरेको छ । यसमा यत्रतत्र शब्दालङ्कारको प्रयोग भएको भेटिन्छ भने अर्थालङ्कारको प्रयोग कमै मात्रामा भएको पाइन्छ । सामान्य पाठकले समेत पचाउन सक्ने गरी अलङ्कारको प्रयोग हुनु यसको राम्रो पक्ष हो । शैली विज्ञानले कविताको संरचनागत अध्ययनलाई पनि महत्त्वपूर्ण मानेको छ । संरचनागत आधारमा अध्ययन गर्दा ‘शिखरिणी यात्रा’ को संरचना प्रगीतात्मक भएको र यसमा सो संरचनाका सबैजसो विशेषताहरू विद्यमान रहेको पाइएको छ । काव्यगत गुणले परिपूर्ण भएको ‘शिखरिणी यात्रा’ काव्यको अध्ययनबाट रचनाकारको आशु कवित्व प्रमाणित भएको छ । यस काव्यमा कतैकतै देखिएका पुनरुक्तिहरू र मात्रागत विचलनलाई पनि शैली विज्ञानले सकारात्मक विशेषताका रूपमा लिएको हूनाले प्रस्तुत काव्यमा कुनै विशष किसिमको त्रुटि वा आलोच्य विषय रहको पाइदैन । प्रस्तुत काव्यको विषय पर्यटन र पर्यावरण पनि भएकाले योगी नरहरिनाथ आधुनिक कविका रूपमा मात्र होइन आधुनिकोत्तर कविका रूपमा प्रतिष्ठापित भएका छन् ।

थप समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार